आधुनिक जीवनपद्धतीले मानवजीवनमा दिनहुँ रोग प्रतिरोधी क्षमता घटाउँदैछ । खानपान,उठवस जस्ता नित्य जीवनपद्धतीमा कृत्रिमताले डेरा जमाएको छ । ‘स्वादे जिव्रो, अल्छे तिघ्रा’े भन्ने नेपाली उखान सार्थक भएको छ । मानिसमा शारीरिक परिश्रम गर्ने आदत हटेको छ, मिठा र स्वादीष्ट बनिवनाउ भोजनको प्रयोग बढेको छ । हरेक भान्छाघर विषादीले भरिएका छन् । यही खानपान र आधुनिक जीवनशैलीले हरेक मानिस सानो उमेरदेखि नै रोगी वन्दै गएको छ ।

यहि बदलिदो जीवनशैलीलाई थोरै शारीरिक परिश्रम र व्यायाम गरेर अनि भान्सालाई सुधार गरेर प्राकृतिक वनाउन सकिन्छ भन्ने अभियानमा लागेका अभियन्ता हुन् रुद्र ओली । झापाको अर्जुनधारा ५ लक्ष्मीपुरका स्थायी वासिन्दा उनि सामाजिक क्षेत्रका अगुवा र पेशाले रेमिटान्स व्यवसायी हुन् । विगत १२ वर्षदेखि हरेक व्यक्ति स्वस्थ हुनुपर्छ भन्ने मान्यतालाई निस्वार्थ र निशुल्क सेवा प्रदान गरिरहेका उनि अष्टाङ्ग योगका प्रशिक्षकका रुपमा समेत काम गरिरहेका छन् । उनले महर्षि पतञ्जलिले निर्माण गरेको अष्टाङ्ग योग सुत्रका माध्यमवाट योगाभ्यास गराउँछन् । खानपान, जीवनशैली, दैनिकी, आहारविहारको निशुल्क ज्ञान बाँड्छन्, हरेक दिन विहान एक घण्टा । आसनमा व्यायामको साथमा हरेक गृहस्थीले गर्ने योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारण, र समाधी गरि आठवटा सुत्रहरु रहेका छन् ।
२०६४ साल जेठदेखि व्यवसायका साथै थोरै समय निकालेर नित्य योग साधना प्रशिक्षणमा लागेका ओलीले शुरुमा मोरङको उर्लावारीमा १५ दिनको प्रशिक्षण लिए । त्यसपछि २०६६ सालमा योगाभ्यासको ज्ञान लिन भारतको हरिद्धार गए । फर्केर नेपाल आएपछि उनले पतञ्जली योगपिठ नेपालको सदस्यता लिएर योग प्रशिक्षकको उपाधि प्राप्त गरे । केही समय मोरङमै योगगुरुको रुपमा योग प्रशिक्षण दिएर २०६७ सालदेखि झापा आएर योगाभ्यास प्रशिक्षणलाई निरन्तरता दिए । खासगरि लक्ष्मीपुर क्षेत्रलाई कार्यथलो वनाएर यहाँका सामुदायिक भवन, विद्यालय, मन्दिर लगायत सार्वजनिक स्थलमै हजारौंलाई यो सेवा प्रदान गरिरहेका छन् ।
उनि भन्छन्, ‘अष्टाङ्ग योगमा यसका सुत्रहरु यम र नियमबाट आसनलाई बढी जोड दिइन्छ र त्यसपछि खानपान र जीवनशैलीलाई ।’ ‘मानिसले आफ्नो जीवनमा कुनै न कुनै पेशा व्यवसाय संचालन गरिरहेका हुन्छन् । त्यसलाई निर्वाधरुपमा संचालन गर्न आफु स्वस्थ रहनुपर्छ भन्ने भावनाले मलाई प्रेरित गर्यो र म हरेक दिन विहान ४ वजेदेखि ६ वजेसम्मको समय निशुल्क योग प्रशिक्षण गर्दै आएको छु, योगप्रशिक्षक ओली भन्छन् ।’ अहिलेसम्म एकलाख जतिले यो सेवा लिएर लाभान्वित भएका छन् । योगाभ्यासको क्रममा एलोपेथीक उपचारवाट थकित भएका मानिसहरु बढि सहभागि हुने गरेका छन् ।
योगसंगै जडीवुटीको वारेमा समेत जानकारी दिइने, जीवनयापनका कुरा सिकाइने, सकारात्मक सोचको विकास गराइने, खानपान, आहारविहार र भान्सा नै औषधालय हो भन्ने कुरा यस योग साधनामा सिकाउने गरिएको छ ।
मानवजीवनलाई प्रकृतिसंग जोड्नुपर्छ भन्ने मान्यता राख्ने योगप्रशिक्षक ओलीले गुर्जो, तुलसी, मन्जरी, वेसार र मरिचको समिश्रण देनिक रुपमा मनतातो पानीमा मिलाएर सेवन गर्ने हो भने अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसबाट समेत वच्न सकिने उनी वताउँछन् ।
स्वादको लागि बढी गुलियो र नुनिलो, भुटेको, अस्वस्थ र मिसावट खाद्यसामग्रीको प्रयोग गरिनु, शारीरिक व्यायाम नगरिनु, शौखिन जीवनशैली अपनाइएकै कारण मधुमेह, उच्चरक्तचाप, नसासम्वन्धि रोग, पाठघरसम्वन्धि रोग, टाउको दुख्ने, नपुंसकताजस्ता रोगका विरामी योग गर्न आउने गरेका छन् । खानपानको तौरतरिका र नियमित रुपमा योगाभ्यास गर्दै जाँदा १५÷२० दिनपछि नै स्वास्थ्यमा सुधार हुने योगाभ्यासमा सहभागीहरुको अनुभव रहेको छ ।
प्रस्तुती : पूर्णवहादुर कटुवाल































