वडाध्यक्षको पहलमा एउटै वडामा दुई ठाउँमा क्वारेन्टाइन

0
1095

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

यतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासमा छ । विश्व स्वास्थ्य संगठनले समेत अहिले संकटको अवस्था भनि सकेको छ । सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहान शहरबाट शुरु भएको योे भाइरसले यतिखेर विश्वका संयौ देशमा असर पारिरहेको छ ।

हजारौै मानिसकोे ज्यान गइसकेको छ । लाखौं मानिसहरु संक्रमित छन् । अहिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न विश्वले आफ््ना हरेक संयन्त्र परिचालन गरेको छ । नेपालमा समेत नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित देखिन थालेपछि यसको नियन्त्रणमा तीनै तहका सरकार जुटेका छन् ।

संघीय र प्रदेश सरकार जस्तै स्थानीय सरकार पनि आफ्ना स्रोत साधन र जनशक्ति परिचालन गरेर अघि बढेको छ । यी मध्येको भारतसँग सीमाना जोडिएको मेचीनगर नगरपालिका त शुरु देखिनै विभिन्न अभियानका साथ अघि बढेको थियो । हरेक जनप्रतिनिधिहरु आफ्ना वडावासीलाई यसकोे संक्रमणबाट रोक्न कम्मर कसेर लागेका छन् । कतिले त आफ्नै स्थानमा क्वारेन्टाइन नै सञ्चालनमा समेत ल्याउन पछि परेनन् ।

मेचीनगर नगरपालिकाले वडानम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकीमा क्वारेन्टाइन खडा गर्यो । तर वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले स्थानीय शैक्षिक संस्था, नागरिक समाज स्थानीय दलसँग छलफल गरेर वडानम्बर ४ को पशुपति र सरस्वती माध्यमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाए । अहिले सरस्वतीमा ५ र पशुपति माविमा ११ गरी कुल १६ जना विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बसेको वडाध्यक्ष वरालले बताए । उक्त क्वारेन्टाइन उनकै पहलमा सञ्चालनमा आएको हो ।

‘ सवैभन्दा पहिला मेरा वडावासीलाई यो आतंकबाट बचाउनु मेरो पहिलो कर्तव्य हो ’ वडाध्यक्ष वरालले भने —‘अहिले नेपालमा जतिलाई यसको संक्रमण देखिएको छ सवै विदेशबाट आएका छन् । यसको लक्षण १४ दिन पछिमात्र देखिने भएकाले मैले आफ्ना वडामा विदेशबाट आएकाहरुलाई सोझै परीवारको सम्पर्कमा नपठाई यसको संक्रमण नफैलियोस भनरे स्थानीय स्तरमै क्वारेन्टाइनको व्यवस्था मिलाएको हुँ ।

’ क्वारेन्टाइनमा बस्नेहरुलाई पनि आफ्नै घर सरह भएको छ । कुनै अप्ठयारो छैन । खानाको राम्रो प्रवन्ध वरालले मिलाएका छन् । वडाध्यक्ष वरालले आफ्नो वडावासीका लागि मात्र होइन सिङ्गो मेचीनगरवासीको सुविधाका लागि आधा दर्जनबढी एम्बुलेन्सका चालकहरुको नम्बरसहित नाम आफ्नो फेसबुक मार्फत उपलब्ध गराएका छन् ।

हरेक दिन विहान दिउसो बेलुका इन्फ्रारेड थर्मामिटर बोकेर उनी गाउँ गाउँ पुग्छन् प्रत्येकको तापक्रम मापन गर्छन, उच्च ज्वरो आए नआएको, रुघामर्की, श्वास प्रश्वासमा समस्या थकानलगायतका बारेमा गाउँलेलाई सोध्छन् । त्यतिमात्र होइन कहि कतै कोहि विदेशबाट फर्किएका छन कि भन्दैं, गाउँलेलाई सोध्छन र भन्छन यदि आएका भए हामीलाई खवर गर्नुहोला है भन्दैं आग्रह समेत गर्छन वडाध्यक्ष वराल ।

शुरुदेखि नै आफ्ना वडावासीलाई अनावश्यक भीडभाडमा नजान, अत्यावश्यक काम बाहेक अरु बेला घरबाट बाहिर ननिस्कन समेत हरेकलाई आग्रह गरेको उनको भनाई छ । वडाध्यक्ष वरालले माइकिङ, पर्चा पम्प्लेट वितरणको पनि कार्य पनि गरेका छन् । वडाका सवै ठाउँमा कोरोना भाइरस को संक्रमण तथा नियन्त्रणका लागि विल्चिङ्ग पाउडर स्प्रे कार्य गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here