भद्रपुर,

भद्रपुरस्थित किचनकवधको टहरामा बस्दै आएका १८ जना भारतीय मजदुरलाई दुई दिन पछि प्रदेश सांसद वसन्त बानियाँकै पहलमा उचित व्यवस्थापन गरिएको छ ।
कोरोना त्रासपछि सरकारले लगाएको लकडाउनको बेला भारत घर फर्किन लागेका १८ भारतीय मजदुरलाई नियन्त्रणमा लिएर किचकबधमा राखिएको छ । उनीहरूको बस्न र खानाको अवस्थाको विषयमा प्रदेश सांसद बानियाँले स्थलगत अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा ती मजदुरहरू टहरामा अव्यवस्थित रूपमा बस्दै आएको, खाद्यान्नको अभाव, सुत्ने व्यवस्थापन समेत नभएको समस्या देखिएको प्रदेश सांसद बानियाले बताए । सोही बमोजिम स्थानीय व्यवसायी र जनप्रतिनिधिसँग पहल गरेर उनीहरूलाई चाहिने आवश्यक सामग्री उपलब्ध गराएको उनले बताए ।
किचनकबधको टहरामा बस्दै आएका उनीहरूका लागि बाँसेको टेन्ट बनाउनुका साथै सुत्ने ९ थान झुल, ९ थान तन्ना र म्याट उपलब्ध गराएको छ। साथै खानाका लागि चाहिने दुई सय केजी चामल, २० केजी आलु , ५ केजी दाल, १० लिटर खाने तेल, ५ केजी प्याज, साबुन , चना, मुराइ, नुन, स्वबिना, खुर्सानी लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।
प्रदेश सांसदकै पहलमा सहयोगीदाताहरू कचनकवलका निर्माण व्यवसायी रोहित खतिवडा , कचनकवलका व्यवसायी कमल घिमिरे , भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ , कौशल्या अधिकारी, कचनकवलका डिल्लीराम घिमिरे, दिलबहादुर थेबे लगायतले सहयोग गरेका थिए ।
उनीहरूको व्यवस्थापनका लागि ३ नम्बर वडा अध्यक्ष भीम केरुङ, पृथ्वीनगर सीमा प्रहरी कार्यालयका असई विकास भट्टराई लगायतले सहजीकरण गरेका थिए । १८ जना भारतीय मजदुर बुधवार लुकिछिपी पृथ्वीनगरको बाटो भएर भारत प्रवेश गर्न खोज्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । बिर्तामोडको पलाई उद्योगमा काम गर्ने उनीहरूको घर भारतको पश्चिम बङ्गालस्थित रायगञ्ज हो ।































