२२ विदेशी प्रहरीको सम्पर्कमा

0
925

इनरुवा,

भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हँुदै भुटाहा पुगेका भारत मुम्बईका १४ जनालाई सुनसरी प्रहरीले फेला पारेको हो ।

प्रहरीले हाल उनीहरूमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकाले मदरसाभित्रै सुरक्षितरूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्दैै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका–१८ स्थित जतपुर मस्जिदमा आश्रय लिएर बसेका आठ पाकिस्तानी नागरिकलाई स्थानीवासीको गोप्य सूचनाका आधारमा प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय पकलीले उनीहरूको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको छ ।

स्थानीयवासीले विदेशबाट आउने स्वदेशी तथा विदेशीका बारेमा निगरानी बढाउँदै सूचना सङ्कलन गर्ने क्रममा फेला पारेका मानिसका बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकिछिपी सुनसरीमा बस्न सक्ने अवस्था नरहेको सुनसरी प्रहरीले जनाएको छ ।

पछिल्लो समय सुनसरीको नेपाल–भारत सीमानाकाबाट नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलिगी जमातको धार्मिकसभाबाट फर्किएकाहरू लुकिछिपी समूहमा प्रवेश गरेर रातिको समयमा एक स्थानबाट अर्को स्थान हँुदै सप्तरीतर्फ र केही सुनसरीमा बस्दै आए पनि उनीहरू रहेको स्थान यकिन हुन नसक्दा कोरोना सङ्क्रमणको खतरा बढेको स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here