राहतका लागि ‘खाद्य बैंक’ स्थापना

0
640

फिदिम,

लकडाउनका कारण जीविकोपार्जनमा समस्या भएका परिवारलाई राहत दिन पाँचथरमा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । पाँचथर उद्योग वाणिज्य सङ्घले खाद्य बैंक स्थापना गरेको हो ।

उद्योगी, व्यवसायी तथा अन्य सहयोगीहरूले स्वेच्छिकरूपमा खाद्य सामग्री तथा रकम जम्मा गर्नसक्ने उक्त खाद्य बैंक सञ्चालनमा आइसकेको छ ।

खाद्य बैंकमा दाताहरूबाट खाद्यवस्तु चामल, दाल, नुन, तेल तथा नगद सङ्कलन गरिने सङ्घका अध्यक्ष दीपक नेपालले बताउनुभयो । यसरी सङ्कलित खाद्य सामग्री र नगद सङ्घले जिल्लाका आठ वटै स्थानीय तहलाई समानुपातिकरूपमा उपलब्ध गराउने छ । वितरण भने स्थानीय तह आफैँले गर्नेछन् ।

न्यून आय भएका परिवार तथा असङ्गठित मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापना गरिएको सङ्घले जनाएको छ । शनिबार साँझसम्म खाद्य बैंकमा पाँच हजार ५०० किलो चामल, १५० किलो नुन, १६० लिटर तेल, १७५ किलो दाल र रु ९१ हजार नगद जम्मा भएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उद्योगी, व्यवसायीबाट असङ्गठितरूपमा उपलब्ध गराइने राहत प्रभावकारी नहुने तथा वास्तविक पीडितले प्राप्त गर्न नसक्ने भएका कारण सङ्घको मातहतमा खाद्य बैंक स्थापना भएको हो । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा निजी क्षेत्रसमेत सामेल हुन उक्त पहलले सहयोग पुग्ने यहाँको निजी क्षेत्रको विश्वास छ ।

लकडाउनका कारण प्रभावित भएका विपन्न परिवार तथा दैनिक ज्यालादारी गर्ने मजदुरको यहाँका स्थानीय तहले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । सङ्कलित तथ्याङ्कका आधारमा प्राथमिकता छुट्याई राहत वितरण गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here