बजारमुल्यभन्दा प्रतिकेजी २० रुपैयाँ बढीमा प्याज विक्री गरेको टोलीको भनाई

0
1252

काँकरभिट्टा,

बजार मुल्यभन्दा बढीमा तरकारी विक्री गरेको भन्दैं मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघको संयुक्त बजार अनुगमन टोलीले मंगलबार एउटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ ।

मेचीनगरको गेटमै सवारी साधनको सञ्चालन अनुमती पत्र समेत नलिई गाउँ गाउँमा गएर तरकारी विक्री गरेको भन्दैं तरकारीसहित मे १ च ५९६९ नम्बरको सानो हात्ती भेनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मेचीनगर नगरपालिकालाई बुझाईएको मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउनुभयो ।

नगरप्रमुख विमल आचार्यले नगरमा तरकारी तथा खाद्य सामाग्री ओसारपास गर्ने हरेक सवारी साधनसहित ठेला भेन, सिटी सफारी रिक्शाले सम्बन्धित निकायबाट सञ्चालन अनुमती पत्र लिनुपर्ने र यसो नगरी काम गरे तत्काल कानुनी कारवाही गर्ने बताउनुभयो ।

संघकातर्फबाट अनुगमनमा उद्योग उपाध्यक्ष कपिल क्षेत्रीसहितको सहभागिता रहेको थियो । सवारी साधनको अग्रभागमा मेची उद्योग बाणिज्य संघ कोरोना विरुद्घ अभियान तरकारी डेलिभरी गाडी लेखिएको व्यानर राखिएको भएपनि संघले उक्त नम्बरको गाडीलाई यस्तो व्यवसाय गर्न अनुमती नदिएको उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले बताउनुभयो ।

संघले गाउँ घरमा यस्ता बस्तुको अभाव नहोस भनेर सीमित सवारी साधनलाई संघमा सुचीकृत गरी संघले तोकेको मुल्यमा सेवा सञ्चालन गर्न अनुमती दिएको भएपनि उक्त गाडीलाई संघले अनुमती नदिएको र व्यवसायीले अनुमती नलिएको क्षेत्रीले बताउनुभयो ।

गोलभेडा, प्याज, सजिउन, आलुलगायतका तरकारी विक्री गदैं आएको सो गाडीले प्याज प्रतिकेजी ७० रुपैयाँमा विक्री गरेको तथा उक्त मुल्य बजारको चलनचल्तीको मुल्यमा प्रतिकेजी २० रुपैयाँ बढी भएकाले कारवाही स्वरुप सवारी साधन नियन्त्रणमा लिइएको संघले जनाएको छ । पहिलो पटक भएकाले अब आइन्दा यस्तो काम नगर्न भन्दैं व्यवसायीलाई सजग गराउदैं तरकारी समबन्धितपक्षलाई फिर्ता गरी सवारी साधन थप अनुसन्धानका लागि मेचीनगर नगरपालिकामा राखिएको छ ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । नगरपालिकका खाद्य अधिकृत दीपेन्द्र कार्कीका अनुसार मेचीनगरको बाहुनडाँगी, बौद्धमोड भृकुटी बजारको अनुगमन गरेको थियो ।

नगरप्रमुख विमल आचार्यसहितको टोलीले नगरपालिकाको वडा नम्वर १ मा वितरण भईरहेको राहतका वारेमा समेत जानकारी लिएको थियो । अनुगमन टोलीमा संघकातर्फबाट सचिव रविचन्द्र नेपाल सदस्य भूमि पौडेललगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

लकडाउनको मौका छोपेर अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने कालो बजारी गर्ने जो कोहिलाई पनि स्थानीय सरकारले कानुन बमोजिम कारवाही गर्ने अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख उप्रेतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here