सिमामा निगरानी समिति,बाटामा ‘रोड लकडाउन सेल’ छ

0
766

कोभिड १९ को संक्रमण फैलन नदिन १८ दिनदेखि मुलुक लकडाउनमा छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएसंगै नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुकलाई लकडाउन गरेको छ । छिमेकी मुलुक भारतले पनि कोरोनाकै त्रासका कारण २१ दिनसम्मका लागि लकडाउन गरेको छ । नेपाल र भारत दुवै मुलुक लकडाउन हुँदा समेत भारतमा रहेका नेपालीहरु सिमा नाकाबाट छुकीछिपी नेपाल प्रवेश गर्ने गरेको गुनासो आएसंगै जिल्ला प्रहरी कार्यालय झापाले थप ‘एक्सन’ लिएको छ । खुल्ला सिमानाको फाइदा उठाउँदै लुकीछिपी नेपाल प्रवेश गर्नेहरुका लागि सिमावर्ती क्षेत्रमा सिमा निगरानी समिति गठन गर्दै सिमा क्षेत्रको निगरानी उच्च बनाएको प्रहरीले सडकमा अनाबश्यक रुपमा हिनडुल गर्दै भीडभाड गर्नेहरुलाई ‘रोड लकडाउन सेल’मा दुई घण्टा ठिङ्ग्याएर कोरोना सम्वन्धि सचेतना शिक्षा प्रदान गर्दै आएको छ । सडकमा अनाबश्यक रुपमा हिड्नेलाई तातो घाममा दुई घण्टा उभ्याएपछि आइन्दा अनावश्यक रुपमा सडकमा नहिड्ने सत्रनामा गरेर मात्रै छाड्ने गरेको छ । समग्र झापाको अबस्थाका विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालासंग पूर्बाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीले गरेको कुराकानीको संम्पादित अंश ।

      कृष्णप्रसाद कोइराला – प्रहरी उपरीक्षक,जिल्ला प्रहरी कार्यालय झापा

लकडाउनको समयमा दिनचर्या कसरी बिताउँदै हुनुहुन्छ ? प्रहरी त झन अग्रपक्तिमा हुन्छ ।

हाम्रो काम भनेकै समाजमा शान्तिसुरक्षा सुब्यवस्था गर्ने हो । त्यसमाथि पनि अहिले मुलुक लकडाउनले ठप्प छ । यो अबस्थामा सबैलाई घरमै सुरक्षित रुपमा बस्न अनुरोध गर्दै हामीले गाउँघरका टोल–टोलदेखि सहर बजारका गल्ली – गल्लीसम्म पुग्नु पर्ने हुन्छ । कतिपयले यो समयलाई मजाकमा उडाएका छन् । उनीहरुलाई सम्झाईबुझाई गर्दै घरमै बसिदिनुहोस् यो तपाईहरुको सुरक्षाका लागि हो भन्दै प्रहरी हिँडेको छ । आफूले जोखिम मोलेर भएपनि आम नागरिकलाई सुरक्षित राख्न प्रहरी अहिले अहोरात्र खटिरहेको छ । हाम्रा सबै सुरक्षकर्मीले हरेक युनिटबाट विभिन्न तरिका अपनाएर सबैलाई सुरक्षित रुपमा घरमै बसिदिन अनुरोध गर्दै आएका छन् । कहाँ कस्लाई के समस्या परेको छ त्यो हेर्नु पनि पर्ने हुन्छ । अहिले प्रहरीले स्थानीय तहसंग सहकार्य गर्दै क्वारेन्टाइनदेखि सिमानाको निगरानीसम्म गर्दै छ । झापामा लकडाउनलाई पूर्ण रुपमा पालना गरउँदै शान्ति सुब्यावस्था कायम गराउने कार्यमा लागि परेको छु ।

झापामा लकडाउन उल्लङ्घन गर्नेको संख्या कस्तो छ ?

विश्वभरि नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९का विषयमा अहिले धेरैले बुझिकेका छन् । शुरुका दिनमा जुन मात्रामा लकडाउन उल्लङ्घन गर्ने थिए । अहिले त्यो संख्या दि दिनै घटेर गएको छ । तर,पनि अटेरी गर्नेको जमात पनि छ । उनीहरुलाई जति सम्झाएबुझाई गरेपनि पार लागेको छैन । उनीहरुलाई नै लक्षित गरेर अहिले झापाका विभिन्न ठाउँमा रेड लकडाउन सेल बनाएर दुई घण्टासम्म उम्भयाएर उनीहरुले प्रयोग गरेका सवारी साधन लकडाउन खुलेपछि मात्रै दिने गरीको व्यवस्था सहित कारवाही प्रक्रिया अघि बढाएका छौं । बिर्तामोडस्थित मुक्तिचौक नजिकै हनुमान सेन्ट्रल अगाडि शुरुमा हामीले लक डाउन सेल बनायौं ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित मुक्ति चौकमा बनाएको रोड लकडाउन सेल ।

अहिले दमक, काँकरभिट्टा, चन्द्रगढी लगायतका ठाउँमा पनि लकडाउन सेल बनाएर कारवाही प्रक्रिया अघि बढाएका छौं । लकडाउन उल्लङ्घन बेलुकापख हुन्छ । उनीहरुलाई पनि सम्झाई वुझाई गर्ने गरेपनि अटेर गर्नेका लागि रोडमै लकडाउन सेल स्थापना गरेका हौं । अहिले हाम्ीले विभिन्न ठाउँमा भाइकिङ गर्दै सबैलाई चेतनामुलक सन्देश प्रवाह गरिरहेका छौं ।

खुल्ला सिमाना छ, भारतबाट नेपाल आउनेहरुलाई चाँही कसरी रोक्नु हुन्छ नि । दक्षिणी सिमावर्ती क्षेत्रबाट नेपाली लुकीछिपी आइरहेको जनगुनासो छ त ?

गुनासो आउँछ नै । तिरिङ खोलादेखि गौरीगञ्जसम्मको १४४ किलोमिटर खुल्ला वोर्डर । त्यो वोर्डरबाट हिजोका दिनमा केही मकैवारीवारी लुक्दै आए होलान । तर, अहिले त्यस्तो अबस्था छैन । किनकि हामीले स्थानीयसंग सहकार्य गरेर सिमा निगरानी समिति बनाएका छौं । अहिलेसम्म १६ वटा समिति निर्माण भइसकेका छन् । त्यो समितिले सिमानाको पूर्ण रुपमा निगरानी गरिरहेको छ । त्यत्तिमात्र होइन हामीले तीन जना प्रहरी निरीक्षकको कमाण्डमा तीन ठाउँमा अस्थायी वेश क्याम्प निर्माण गरेका छौं । सिमाना हेर्ने गरी थप १५० प्रहरी परिचालन गरिएको छ ।

सिमा क्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोवारीमा प्रहरीले अस्थाई वेस क्याम्प निर्माण गरेको छ । झापाको पूर्बीउत्तर सिमाना तिरिङ खोलादेखि पश्चिम दक्षिण सिमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको वोर्डरमा प्रहरीले अहिले सिमा निगरानी समितिसंग सहकार्य गर्दै सिमाको निगरानी गर्दैछ । यसो गर्दा भारतबाट कोही पनि अब नेपाल प्रवेश गर्न पाउँदैनन् यदि कोही नेपाल प्रवेश गरिहाले भने सो समिति र प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिँदै स्थानीय पालिकाले तयार गरेका क्वारेन्टाइनमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

अहिले सिमावर्ती क्षेत्र काँकरभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीवारी,भद्रपुर लगायतका क्षेत्रमा सिमा निगरानी समिति निर्माण भएका छन् । यता सशस्त्र प्रहरी वल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सिमा क्षेत्रको निगरानीका लागि एक सय थप प्रहरी परिचालन गरेको छ । भारतपनि पूर्ण रुपमा लकडाउन भएकाले झापाबाट नेपाल प्रवेश गर्ने चान्स छैन अब । सशस्त्र प्रहरी वलसंगको सहकार्य र स्थानीयको सहकार्यमा निगरानी बढाएपछि भारतबाट नेपाल कोही पनि प्रवेश गर्दैनन् अहिले ।

झापाका सबै पालिकाले क्वारेन्टाइन निर्माण गरेका छन् । त्यहाँ भारत लगायत विभिन्न देबाट आएका नागरिकलाई राखिएको छ । उनीहरुलाई पनि निगरानी गर्नु पर्ने हुन्छ झापामा क्वारेन्टाइन नै हेर्न भनेर कति प्रहरी परिचालन गरिएको छ ?

प्रहरी हरेक ठाउँमा छ । अझ क्वारेन्टाइनलाई त प्रहरीले विशेष प्राथमिकतामा नै राखेको हुन्छ । झापामा बनाइएका सबै क्वारेन्टाइनको निगरानी अहिले स्थानीयपालिकाका जनप्रतिनिधिसंगै प्रहरीले गरिरहेको छ । झापाका २७ ठाउँका ६९६ वेड क्ष्मताका सबै क्वारेन्टाइनको हामीले उच्च निगरानी गरिरहेका छौं ।

विशेदबाट फर्किएर घरमै लुकेर बसेका मानिसको पनि खोजी कार्य शुरु गर्नुभएको थियो नि अहिले पनि त्यो कार्य जारी छ ?

हामीले गत चैत १ गतेदेखि कति मानिस झापा आए, कुन कुन देशबाट आएक छन् । उनीहरुको अवस्था के छ, सबै एक एक विवरण राखेका छौं । जनप्रतिनिधिसंग सहकार्य छ हाम्रो, सबै स्थानीयलाई पनि भनेका छौं, यदि कोही मानिस तपाइको टोल छिमेकमा आएर लुकेर बसेको छ भने हामीलाई खुसुक्क सूचना दिनुहोस् उनलाई क्वारेन्टाइनमा राख्नु पर्छ । वा, उ आफैं कोरोना संक्रमित छ र तपाईलाई पनि यो रोग सर्न सक्छ भनेपछि अहिले स्थानीयले कोही त्यस्ता मानिस आएभने तत्काल हामीलाई खवर गर्छन । चैत १ गतेदेखि अहिलेसम्म आएका सबै मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था सहित उनीहरुको अवस्थाका विषयमा हामीले पूर्ण निगरानी राखेका छौं र यदि कोही त्यस्ता संकास्पद मानिस तपाईले देख्नुभयो भने अझैंपनि भन्छु हामीलाई खवर गरिदिनुहोस् ।

कति मानिस भारत लगायत विभिन्न देशबाट आए त यो अवधिमा ?

सबैभन्दा धेरै मानिस त भारतबाट आएका छन् । अहिलेसम्म हामीकहाँ ५०७ जना मानिस भारतबाट आएको तथ्याङ्क छ । विभिन्न ३० वटा मुलुकबाट अहिलेसम्म ९९९ जना मानिस आएको देखिन्छ । एक हजार ४१ जना अहिलेपनि होम क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा वसेका मध्ये ७० जना मानिस घर फर्किसकेका छन् । अझैं एक सय ३३ जना मानिस विभिन्न क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएका सात जनालाई कोरोना रोगको संक्रमणको शंकामा मेची अञ्चल अस्पतालमा रहेको आइसोलेसनमा राखेर उपचार गरियो । उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि घर पठाइएको छ ।

अन्त्यमा झापावासीलाई के भन्नुहुन्छ ?

कोरोना भाइसरको संक्रमण तपाई आफैंलाई फैलदैन । यो कसैबाट सर्ने सरुवा रोग हो । यसबाट बच्न कसैसंग हेलमेल नगर्नु हो । तसर्थ लक डाउनको यो समयमा वुद्धिमता अपनाएर घरमै बसिदिनुहोस् । अटेरी गरेर कोही पनि घर वाहिर ननिस्कनु होस् । सरकारले तपाइकै सुरक्षाका लागि लकडाउन गरेको । हामी तपाईलाई यही भन्छौं भोलि विरामी परेको खण्डमा अरुले त होइन तपाईलाई घरकैले पनि हेर्ने अवस्था रहँदैन । तसर्थ सावधानी अपनाउनुहोस् पूर्ण रुपमा सुरक्षित भएर घरमा बस्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here