राहत : वडा होइन, टोलबाट

0
688

बिर्तामोड।

झापा जिल्लास्तरीय कोरोना भाइरस संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समितिले टोल विकास समिति मार्फत विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न पालिकाहरुलाई आग्रह गरेको छ ।

समितिको सचिवालयको शुक्रवार बिर्तामोडमा सम्पन्न बैठकपछि पत्रकार भेटघाटमार्फत निर्णय सार्वजनिक गर्दै त्यस्तो आग्रह गरिएको जानकारी दिइएको छ । वडातहबाट राहत वितरण गर्दा मानिसको भीड बढी भई संक्रमणको जोखिम उच्च रहेको महसुस गरी त्यस्तो निर्णय गरिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए । समितिले सबै पालिकामा राहत वितरणमा एकरुपता हुनु पर्ने कुरामा जोड दिँदै त्यस्तो मापदण्ड तयारीका लागि प्रदेश सरकारसँग आग्रह गरेको छ ।

उक्त मापदण्डमा कस्ता परिवारले र कुन–कुन सामग्री कति मात्रामा पाउने भन्ने किटान गर्न पनि आग्रह गरिएको छ । त्यस्तै कृषकलाई लागि मलको आपूर्ति सहज बनाउन साल्ट टे«डिङ्ग, कृषि सामग्री संस्थानलाई अनुरोध गरी र सुरक्षा निकायले आवश्यक समन्वय गर्ने समेत समितिले निर्णय गरेको छ ।

त्यस्तै अत्यावश्यक रुपमा चाहिने डिजल लगायतका इन्धन र सिञ्चाइका लागि आवश्यक इन्धनको आपूर्ति र वितरणलाई सहज बनाउने समेत समितिको निर्णय छ ।

खाद्य उद्योगहरुलाई सञ्चालनको व्यवस्था मिलाइने बताइएको छ भने चिया बगान सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री प्रयोग गरेर सीमित मजदुरले सामाजिक दुरी कायम राख्दै गोडमेल, सिञ्चाई, विषादि छर्कने लगायतका काम मात्र गर्ने निर्णय गरिएको छ । त्यस्तै विभिन्न जिल्लाबाट झापामा आएर अध्ययनरत् विद्यार्थीलाई गृह जिल्ला पु¥याउने व्यवस्था गरिने समेत समितिको निर्णय छ ।

सूचना प्रवाहलाई पुष्टी गरेर मात्र सम्प्रेषण गर्न समितिले सञ्चारकर्मीलाई आग्रह गरेको छ । त्यस्तै अनुदान वितरणको अनुगमनलाई प्रभावकारी बनाउने, सुरक्षा निकाय, रेडक्रसको रक्तसञ्चारमा कार्यरत् कर्मचारी र एम्बुलेन्स चालक जो संक्रमणको आशंका गरिएका विरामीको रेखदेख र ओसारपसारमा संलग्न हुन्छन् उनीहरुका लागि पीपीई खरिद गरी वितरण गर्ने समेत समितिले निर्णय गरेको छ ।

भारतसँग सीमा जोडिएका झापाका ६ वटा पालिकामा जिल्ला प्रहरी कार्यालय झापाले शुरु गरेको नागरिकस्तरको निगरानी संयन्त्रलाई आवश्यक मात्रामा विस्तार र प्रभावकारी बनाउने बताइएको छ । प्रदेश सरकारको अनुरोधमा सीमावर्ती ती ६ वटा पालिकामा दुई सय वेडका दरले क्वारेन्टाइन निर्माण गरिने र त्यसका लागि जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने बताइएको छ । समितिले सूचनालाई एकीकृत ढंगले जिल्ला समन्वय समिति झापाको वेभसाइड (मअअवजबउब।नयख।लउ) मार्फत सम्पे्रषण गर्ने कार्यको थालनी गरिएको छ ।

वेभसाइडमा उपचार तथा राहत सम्बन्धी आवश्यक सूचनाहरु राखिएको छ । हाल झापामा एक सय ७६ जना क्वारेनटाइनमा छन् भने एक सय ५३ जना घर फर्किएका छन् । १०४१ जना होम क्वारेनटाइनमा रहेका छन् । झापामा ६९६ बेडको क्वारेन्टाइन तथा २७ बेडको आइसोलेशन तयार भइसकेको छ । बितेको १४ दिनमा विभिन्न देशबाट झापा आएका ९९९ जनाको तथ्यांक पनि वेभसाइडमा राखिएको छ ।

हालसम्म झापामा विभिन्न पालिका र जिल्लास्तरीय राहतकोषमा पाँच करोड २२ लाख ४७ हजार ८ सय १७ रुपैयाँ जम्मा भएको जनाइएको छ । त्यस्तै ३६ हजार ६ सय ९७ परिवारलाई राहत वितरण गरिएको छ ।

समितिका संयोजक पोर्तेलको अध्यक्षतामा भएको बैठक तथा पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राई, नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक, कांग्रेसका जिल्ला सभापति उद्धव थापा, राजपाका अध्यक्ष अनुतसिंह राजवंशी, समाजवादी पार्टीकी उपाध्यक्ष संगीता रौनियार, राप्रपाका उपाध्यक्ष कमलप्रसाद खरेल, नेपाली सेनाका प्रमुख सेनानी अमरजंग थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरीका प्रमुख रेशमकुमार थक्सू, रेडक्रस झापाका सभापति लोकराज ढकाल लगायतले विभिन्न विषयमा धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here