खोटाङ,
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा विदेशमै ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ । भ्रमणका लागि युएई (दुबई) पुगेको समयमा ज्यान गुमाएका ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुदीप तामाङ र रोजगारीको सिलसिलामा मलेशियामा ज्यान गुमाएका साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको शव स्वदेश फर्काउन समस्या भएको हो ।
भ्रमण राहदानीमा दुबई पुगेका २२ वर्षीय तामाङको गत फागुन ३० गते र रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेशिया पुगेका खत्रीको गत चैत २५ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । तामाङको शव हाल दुबईस्थित रसिदिया अस्पतालमा राखिएको जनाइएको छ । हृदयघातका कारण ज्यान गुमाएका सुदीपको नेपालमा समेत ‘लकडाउन’ शुरु भएपछि मात्र मृत्यु भएको जानकारी प्राप्त भएकाले स्वदेश फर्काउन नसकिएको खोटाङ सेवा समाज युएईका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो । “हामीलाई पनि सुदीपको बारेमा ढिलो गरी जानकारी प्राप्त भयो”, उहाँले भन्नुभयो, “लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनको शव नेपाल पठाउन समस्या भएको छ ।”
सुदीपको शव तत्काल अस्पतालबाट निकाल्न अस्पताल स्रोतले पटक–पटक फोन गरिरहेको भए पनि ‘लकडाउन’का कारण अन्तर्राष्ट्रिय उडान नहुँदा अस्पतालमै राखिएको जनाइएको छ । तत्काल ‘लकडाउन’ खुल्ने सम्भावना नभएको र अस्पतालले बारम्बार शव हटाउन फोन गरिरहेकाले उनको शव यूएईमै अन्त्येष्टी गर्नुपर्ने बाध्यता सिर्जना भएको युएईमै रहनुभएका हिराधन चाम्लिङले बताउनुभयो ।
सुदीपको परिवारले भने उनको शव जसरी भए पनि नेपाल ल्याइदिन विभिन्न निकायसँग याचना गरेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा युएईमा हाल ११ नेपाली कामदारको शव रोकिएको जनाइएको छ ।
यस्तै कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि अन्तर्राष्ट्रिय उडान नहुँदा खत्रीको शव मलेशियाकै कुवाला पिला अस्पतालमा राखिएको जनाइएको छ । जताततै लकडाउन भएकाले शव नेपाल पठाउन समस्या भएको मलेशियामै रहनुभएका उनका भतिजा तिलाबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
मलेशियास्थित पेटालिङ जया सेलाङ्गोरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा खत्रीको मृत्यु भएको बताइएको छ । बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री नहरमा मोटरसाइकलसँगै डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।
रोजगारीकै सिलसिलामा कतारमा दुई वर्ष बिताएर घर फर्किएका खत्री पुनः मलेशिया पुगेका थिए । आर्थिकरूपमा विपन्न जन्मिएका मृतक खत्रीको घरमा श्रीमतीसहित पाँच छोरी र दुई छोरा रहेका स्थानीयवासीले बताएका छन् । कमाएर खुवाउने घरमुलीको रोजगारीको सिलसिलामा विदेशमै ज्यान गएपछि आश्रित परिवारको बिचल्ली भएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभएको छ । मृतक परिवारलाई शव ल्याउन तथा परिवार व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने जनाइएको छ ।
सरकारले लागू गरेको लकडाउनलाई जिल्लामा पनि प्रभावकारी बनाउन उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । लकडाउन पूर्णपालन गराउन दश स्थानीय तह रहेको जिल्लाका मुख्यमुख्य प्रवेशद्वारमा अस्थायी यात्रु सहायता कक्ष खडा गरेर चेकजाँचमा कडाइ गरिएको प्रजिअ पौडेलले जानकारी दिनुभएको छ ।































