(कथा)
भुवन तामाङ,
‘ओ पाईटल ! तिमी के गर्दै छौ ?’ पाईलट भन्छन्, ‘देखेनौ म सुतिरहेको ?’ हवाईजहाज पुनः सोध्छ, ‘कति सुतिरहेका त ?’ जवाफमा पाईलट भन्छन्, ‘अहिले कोरोना भाईरस संक्रमण रोकथामका लागि नेपाल लगायत धेरै देश लकडाउन भएको छ । हवाई यात्रुहरु घरबाहिर निस्कन पाउँदैनन् । म पाईलट हुँ हजाईजहाज उडाउने तर यात्रु नभएपछि नसुतेर के गरौँ त ?’ हवाईजहाज पुनः भन्छ, ‘ओ पाईलट ! उठ तिमी । यसरी सुति नराख । तिमीले भनेजस्तै तिम्रो काम हवाईजहाज उडाउने हो । आउ मलाई उडाऊ । म उड्न चाहन्छु । किनकि म हवाईजहाज हुँ ।’
पाईलट सोध्छन्, ‘तिमी त निर्जिव चिज कसरी मेरो कोठामा आइपुग्यौ ?’ जवाफमा हवाईजहाज भन्छ, ‘म हवाईजहाजको आत्मा हुँ क्या ।’ छक्क पर्दै पाईलट सोध्छन्, ‘निर्जिव चिजको पनि कहीँ आत्मा हुन्छ ?’ जवाफमा हजाईजहाज भन्छ, ‘निर्जिव भनिएपनि कहीँ न कहीँ जिवत्व लुकेको हुन्छ । त्यो कति प्रकट र गतिशील हुने भन्ने कुरामात्र हो ।’
पाइलट हवाईजहाजलाई भन्छन्, ‘तर मलाई यतिखेर हवाईजहाज उडाउने अनुमति छैन ।’ जवाफमा हजाईजहाज भन्छ, ‘हेर पाईलट ! लकडाउन हुन्जेल हामीलाई यसरी नै ग्राउन्डेड गरिरहनेछन् ।’ पाइलट जिज्ञासा राख्छन्, ‘अनि ग्राउन्डेड नहुने के उपाय छ त ?’ हवाईजहाज उपाय बताउँछ, ‘अब हामी स्वयम् उडनुपर्छ । हामी पृथ्वीको प्रभावक्षेत्रभन्दा माथि माथि जानु पर्छ । पृथ्वीको बायुमण्डल तथा गुरुत्व आकर्षणक्षेत्र भन्दा माथि माथि हुत्तिनु पर्छ । अनि त हामीलाई कसैले ग्राउन्डेड गर्न सक्ने छैनन् ।’ पाईलट भन्छन्, ‘असम्भव ।’ हवाईजहाज जोड दिँदै भन्छ, ‘सम्भव छ पाईलट ।’ पाईटल भन्छन्, ‘हो र ?’ जवाफमा हवाईजहाज भन्छ, ‘हो त । हामी अन्तरीक्षमा उड्नेछौँ । ताराहरुको नजिक, जुनको नजिक अनि ग्रहहरुको नजिक पुग्नेछौँ । त्यहाँको आनन्द लिनेछौँ । जाऔँ, हिँड पाईलट ।’ पाईलट भन्छन्, ‘मलाई त खानेकुरा चाहिन्छ ।’ पाईलटको कुरामा हवाईजहाज भन्छ, ‘विदेश निर्यात गर्न लोड भएको अन्त्यन्त पौष्टिक उच्चस्तरीय खानेकुरा मेरै कार्गो क्याबिनमा छ ।’ आश्चर्य मान्दै पाईलट सोध्छन्, ‘ए हो र ?’ हजाईजहाज भन्छ, ‘उठ हिँड, हामी उडौँ ।’ पाईलट थप्छन्, ‘अनि एयर होस्टेस्हरु र इन्धन ?’ हवाईजहाज भन्छ, ‘हामीमात्र उड्ने हो । रह्यो इन्धनको कुरा । लकडाउन घोषणा ठीक अघि विदेश उड्नका लागि भनेर इन्धन भरेको बिस्र्यौ ?’
तर पछि कसरी पृथ्वी वापस आउनु ? हवाईजहाज अन्तरीक्षबाट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेवित्तिकै घर्षण भएर जल्छ भन्दै पाईलट उड्न मान्दैनन् । हवाईजहाज भन्छ, ‘तिमी पृथ्वीतिर वापस हुने कुनै यानमा बसेर पृथ्वीमा ओर्लनु ।’ छक्क पर्दै पाईलट हवाईजहाजलाई सोध्छन्, ‘अनि तिमी चाहिँ ?’ उत्तरमा हवाईजहाज भन्छ, ‘म करोडौँ वर्षसम्म नेपालको ध्वजावाहक जहाज भएर ब्रह्माण्डमा उडिरहन्छु सौर्य उर्जाले । तिमी बाँचुन्जेल ब्रह्माण्डको रोचक तस्वीरहरु तिमीलाई पठाइरहन्छु । तिमी ती तस्वीरहरु हेरेर मलाई सम्झेर रमाउनु । है त । ल हिँड छिटो उड्नलाई अनन्त आकाशमा ।’
डराउँदै पाईलट भन्छन्, ‘हैट् म त जान्न ।’ हवाईजहाज भन्छ, ‘धत् यि पाइलट त कस्ता रै’छन् । ए पाईलट ! यस्तो मौका कहिल्यै आउन्न । नत्र म एक्लै उडिदिन्छु ।’ पाईलट भन्छन्, ‘यत्रो वर्ष तिमीलाई उडाइरहेको छु । म तिमीलाई कसरी माया मार्न सक्छु ? ल हिँड अब उडौँ त हामी । म पनि ब्रहमाण्डमा सौर्य उर्जा खाएर वर्षौं बाँच्नेछु ।’ खुशीहुँदै हजाईजहाज पाईलटलाई भन्छ, ‘यो हो नि त कुरो ।’
पाईलट एयरपोर्ट पुग्छन् । एयरपोर्टका दर्जनौ हवाईजहाजहरु पाईलटलाई घेर्दै भन्छन्, ‘पाईटल ! मलाई उडाऊ, मलाई उडाऊ, ग्राउन्डेड हुँदा हुँदा बोर भैसक्यो ।’ तर पाईटल भाग्दै पाईलटको कोठामा पुग्ने हवाईजहाजमा पुग्छन् । हवाईजहाजको ढोका स्वयम् खुल्दछ । पाईटल जहाज स्टार्ट गर्दछन् । जहाज रनवेतिर अघि बढ्छ । एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई उड्नबाट रोक्न पाईलटलाई निर्देशन दिन्छन् । तर पाईलट जहाज उडेरै छाड्ने अठोट सुनाउँछन् । एयर ट्राफिक कन्ट्रोलर सो जहाजलाई उड्नबाट रोक्न ग्राउण्ड क्रुलाई निर्देशन दिन्छन् । एयरपोर्टमा रहेका अरु हवाईजहाजहरु पनि उड्न लागेको हवाईजहाजको पुच्छर समातेर रोक्न खोज्छन् । कोही पखेटा समाउँछन् । कोही चक्का समाउनछन् तर त्यो जहाज भयङ्कर आवाज निकाल्दै धुवाँको मुस्लो र हावाको बबन्डर छाड्दै उम्केर अरुबेला भन्दा अस्वभाविक किसिमले रनवेमा वेपत्तासँग कुदेर आकाशिन्छ ।
हेर्दाहेर्दै हजाईजहाज अदृष्य हुन्छ । मानौ त्यो हवाईजहाज एक रकेट हो । ग्राउण्डेड जहाज अचानक उडेको खबर देशविदेशसम्म तिव्ररुपमा पैmलन्छ । उड्ययन क्षेत्रमा ख्याति कमाएका देशहरुबाट सो हवाईजहाजलाई पुनः जमिनमा फर्काउन थुप्रै लडाकु जहाजहरु पठाउँदछन् । पाईलट आत्तिदैँ भन्छन्, ‘हामीलाई युद्धक विमानहरुले पछ्याइरहेका छन् ।’ हवाईजहाज भन्छ, ‘हामी छिटो पृथ्वीको प्रभावक्षेत्रभन्दा माथि जाऔँ ।’ पाईलट सोध्छन्, ‘तर कसरी ?’ हजाईजहाज भन्छ, ‘मेरो अर्थात विमानको नोज डाठो पार र पूरा स्पिड बढाऊ । म पनि मेरो पूर्ण शक्ति लगाएर हुत्तिन्छु ।’ नभन्दै हजाईजहाज अन्तरीक्षमा पुग्छ ।
‘देख्यौ त पाईटल ! अन्तरीक्ष कस्तो सुन्दर छ ? उ हेर त, ताराहरु कति नजिक देखिएका छन् । जुनपनि कति नजिक आइरहेको छ । ताराहरुका ग्यालेक्सी कति उज्यालो र चम्किला देखिएका छन् । उ हेर त सप्तऋषी तारा । देख्यौ तीन तारा ? विचित्र विचित्र दृष्यहरु । हामीले सही निर्णय ग¥यौँ पाईटल । उ हेर त पृथ्वीबाट आएका स्याटेलाईटहरु बेपत्तासँग पृथ्वी वरिपरि घुम्दैछन् । ती भित्र तिमीजस्तै मानव अन्तरीक्ष यात्रीहरु छन् । सायद तिनीहरुले हामीलाई देखेर आश्चर्य मानिरहेका होलान् । देख्यौ, तिनीहरु हात हल्लाएर हामीलाई स्वागत गरिरहेका छन् ।’
उनीहरु अन्तरीक्षमा कहिले स्याटेलाईटसँगै पृथ्वी वरिपरि घुम्छन् त कहिले स्थिर बस्तछन् । पाईलट एक्कासी खुशीले चिच्याउँछन् । ‘हेर त ए हवाईजहाज ! पृथ्वी कति कञ्चन देखिएको छ । उ हेर त नेपाल अनि सगरमाथा । अनि हेर त काठमाडौ, स्वयम्भूनाथ, पशुपतिनाथ मन्दिर, लुम्बिनी । कति छर्लङ्ग देखिएको ?’ हजाईजहाज भन्छ, ‘धुवाँ धुलो नभएपछिको स्वच्छ वातावरणले गर्दा पृथ्वीको सतह प्रष्ट देखिएको हो ।’
एकदिन ‘ढ्यान्ट्याड्याङ्ग’ आवाजसँगै कोरोना भाइरसहरु देखा पर्छन् स्याउँस्याउँती । भाईरसहरुले हवाईजहाजको शिशा ठोक्दै दस्तक दिन्छन् । पाईलट आत्तिन्छन् तर हवाईजहाज संयमित बनाउँछ । साहस बटुल्दै पाईलट सोध्छन्, ‘एई कोरोना भाईरस ! पृथ्वीमा मानव संहार गरेर पुगेन र यहाँसम्म आइपुगिस् पापी ?’ कोरोना भाईरसको नाईके भन्छ, ‘हामी अन्तरीक्षमा मात्र होइन ब्रह्माण्डमा आनन्दले घुम्न सक्छौँ । ब्लाकहोलमा छिरेर वापस हुन सक्छौँ ।’ पाईलट पुनः सोध्छन्, ‘एई कोरोना भाईरस ! तँलाई अमेरीकाले बनाएको हो कि चीनले कि स्वयम् पलाईस् ?’ जवाफमा कोरोना भाईरस भन्छ, ‘यो सबकुरा पत्ता लगाउने काम तिमी मानवहरुकै हो । अब तिमी पृथ्वीमा ओर्ल ।’ पाईलट सोध्छन्, ‘किन ?’ जवाफमा कोरोना भाईरस भन्छ, ‘पृथ्वीका मानवहरुमा पुनरजागरण आइसकेकाले हामीले पृथ्वी छाड्यौँ । पाईलट खुशी हुँदै भन्छन्, ‘पृथ्वीका मानवहरुमा पुनः पुनरजागरण आउनु पर्ने नै थियो ।’ पाईलटको कुरा सुनेपछि कोरोना भाईरस भन्छ, ‘मानवहरुकै अतिसय व्यवहारले हामी उत्पत्ति हुनुपरेको हो । भविष्यमा पनि ।’
बीचैमा पाईलट सोध्छन्, ‘अब तिमीहरु कहाँ जान्छौ ?’ कोरोना भाईरस भन्छ, ‘अब हामी स्याटेलाईटहरुमा घुमिरहेका मानवहरुमा संक्रमण गर्छौं । किनकि तिनीहरुपनि निकै मात्तिएका छन् ।’ पाईलट चिच्याउँदै खबरदारी भाषामा भन्छन्, ‘खबरदार उनीहरुलाई संक्रमण नगर् ।’ हवाईजहाज पाईलटलाई भन्छ, ‘पाईलट ! रेडियो सन्देशमा स्याटेलाईटका अन्तरीक्ष यात्रीहरुलाई भन्देउ कि कोरोना भाईरस आउँदैछ, स्याटेलाईटका कुनैपनि ढोका र झ्यालहरु नखोल्नु ।’ यत्तिकैमा अनौठो आवाज निकाल्दै कोरोना भाइरसहरु स्याटेलाईटको पछि लाग्दछन् ।



























