बुवालाई कोरोना भएपछि दुबईबाट आएका छोराको ‘ट्राभल्स हिस्ट्री’ खोजिँदै

0
642

झापा,

झापाको दमक नगरपालिका- ३ बस्‍ने एक वृद्धामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ६२ वर्षीय द्धामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। झापामा कोरोनाका बिरामी थपिएसँगै नेपालमा सङ्ख्या ४९ पुगेको छ।

यता दमक नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार दुबईबाट आएका दमक-३ बस्ने २८ वर्षीय युवकको आरडीटी परीक्षण गर्दा उनलाई एन्टिबडी पोजेटिभ देखिएको थियो। उनलाई एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यको पनि आरडीटीबाट कोरोना परीक्षण गरिएको थियो।

परीक्षण गर्दा युवकको बुवा र आमालाई पनि कोरोना एन्टिबडी पोजेटिभ देखिएको थियो। श्रीमतीको आरडीटी रिपोर्ट चाहिँ नेगेटिभ आएको थियो। एकै परिवारका तीन जनामा एन्टिबडी पोजेटिभ देखिएपछि परिवारका सबैको स्वाब थप परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

त्यसमध्ये बुबामा कोरोना पोजेटिभ देखिएको हो। छोरा र आमामा कोरोना देखिएन। एन्टिबडी पोजेटिभ देखिएपछि उनीहरूको परिवारलाई शुक्रवार दमक अस्पतालको आइसोलेसनमा राखिएको थियो। तर, बुबामा कोरोना पोजेटिभ देखिएपछि उनलाई कोरोना अस्पताल विराटनगर पठाउने तयारी भइरहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए।

दमक -३ जनता चोक घर भएका ती परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनको घर सिल गरिएको र घर आसपासका कसैलाई पनि बाहिर निस्कन नदिइएको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताइन्।

यता झापा प्रहरीले दुबईबाट आएको युवकको ट्राभल्स हिस्ट्री खोज्‍ने काम सुरु गरेको छ। प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले भने, ‘हाल उनीहरूको परिवार दमक अस्पतालमा छ, त्यहाँ प्रहरी टोली पुगिसकेको छ। उनीहरूसँग सोधपुछ गरेपछि मात्रै युवकको ट्राभल्स हिस्ट्री बाहिर आउँछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here