मनमा चिसो भएपनि श्रीमानलाई सधै हाँसेर पठाउँछु

0
2291

झापा,

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण लामो समयदेखि मुलुक लकडाउनमा (बन्दाबन्दी) छ । यो बेला सबै तिर सुनसान छ । महामारीका कारण मुलुक नै सुनसान भइरहेको अवस्थामा सावधानी अपनाउँदै आफ्ना नागरिकको रेखदेख गर्ने गहन जिम्वेवारी जनप्रतिनिधिमा हुन्छ नै । त्यस्तै गहन जिम्वेवारी निर्वाह गर्न योग्य ठह¥याएर नै जनताले चुनेका हुन् जनप्रतिनिधि ।

शिखा सुब्बा लिङ्देन – श्रीमती – रविन्द्र लिङ्देन, हल्दिवारी गाउँपालिका झापा

मुलुकको यस्तो विषम परिस्थिमा पनि सावधानी अपनाएर अहिले सबै जनप्रतिनिधि जनताको घर दैलोमा छन् । आफ्नै ज्यान कसरी बचाउने हो ठेगान नभएको अबस्थामा मुस्कुराउँदै जनताको घर आगनमा छन् जनप्रतिनिधि । आफ्ना नागरिकलाई घर घरमा पुगेर दुःख– सुख, आपत विपद्, सञ्चो बिसन्चो, सोध्नु जनप्रतिनिधिको अहिलेको दैनिकी नै छ । खान नहुनेलाई खानाको प्रवन्ध मिलाउनु पर्ने बाध्यता पनि छ – जनप्रतिनिधिलाई अहिले ।

विपद्को यो क्षणमा सबै डराएका बेला जनप्रतिनिधि पनि डराउनु स्वभाविक हो । तर, गहन जिम्वेवारीका कारण उनीहरु डर लुकाएर भएपनि अहिले आम नागरिकसम्म पुग्नु नै छ । यस्तो अवस्थामा जनप्रतिनिधिका घर परिवार पनि डराएका हुन्छन् नै । नहुन पनि किन उनीहरुका मनमा पनि कोरोनाको त्रास छ नै । त्रासका बीच पनि घर परिवारले मुस्कुराउँदै जनप्रतिनिधिलाई आफ्नो कर्ममा पठाउनु पर्छ नै । पठाएका पनि छन् ।

रविन्द्र लिङ्देन– अध्यक्ष , हल्दिवारी गाउँपालिका झापा

विपद्ले चारैतिर गाजेको बेला झापाका सबै जनप्रतिनिधि विपद्को सामनाका लागि तयार छन् । विपद् निम्तनु पूर्ब नै आवश्यक सम्पूर्ण तयारी पूरा गर्दै सबै नागरिकलाई सुरक्षित रहन सुझाइरहेका छन् हरेक स्थानीय तहले । जसमध्ये हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन पनि एक हुन् । उनी विहान झिसमिसे देखिनै राति अवेरसम्म पनि फोनमा नै ब्यस्त हुन्छन् । कहिले यो गाउँ त कहिले त्यो गाउँका मानिसको अवस्था के छ भन्दै बुझिरहेका हुन्छन् । कस्को घरा के पाक्यो, कस्ले के खायो र गाउँमा को नया मानिस आयो एक एक विवरण थाहा हुन्छ उनलाई । उनलाई श्रीमती शिखाको पनि उत्तिकै साथ छ । सावधानीका उपाय अपनाउँदै गाउँवासीको हेरचाह गर्न श्रीमती शिखाको सधै उत्प्रेरणा पाउने गरेका छन् अध्यक्ष लिङ्देनले ।

‘यो बेला नडराउने को नै पो होला र, डर त लाग्छ नै’ लिङ्देनकी श्रीमती शिखा भन्छिन् – जनताको प्रतिनिधि नै डराएर त भएन नि । म डराए भने श्रीमान पनि डराउनु हुन्छ । भित्र मनमा चिसो भएपनि श्रीमानलाई भने सधै हाँसेर पठाउँछु ।
कोरोनाको त्रास चारै तिर फैलिएको छ । अझ झापामा पनि दुई जना संक्रमित नै फेला परेका छन् शिखाले भनिन् – मेरा श्रीमान आफैंमा सचेत हुनुहुन्छ, सावधानीका सबै उपाय उहाँले अपनाउनु भएको छ । वाहिर जाँदा पीपीई, सेनिटाइजर,ग्लोब्स, मास्क सबै युज गर्नुहुन्छ । तर, पनि मनमा कताकता डर चाँहि लाग्दो रहेछ ।
नानीहरु सानै छन् शिखाले थपिन्– वाहिरबाट आएर सबै लुगा बाहिरै खोल्नु हुन्छ , आफूले प्रयोग गरेको सबै बस्तु चेन्ज गरेर मात्रै घर भित्र पस्नु हुन्छ, तर पनि मन मान्दैन कहिले काँही त सम्झाउछु पनि ।

अहिले मेरो श्रीमान मात्र होइन सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सञ्चारकर्मी सबै फिल्डमै छन् शिखाले थपिन् – यो बेला सावधानी आफूले अपनाउने हो, आफूले साबधानी अपनाए रोग आफैं लाग्नैन । म मेरा श्रीमान मात्र होइन यो वेला फिल्डमा खटिने सबैलाई सावधानी अपनाउन मेरो आग्रह छ ।

शिखा जनप्रतिनिधिका परिवारको प्रतिनिधि पात्र मात्रै हो । उनी जस्तै भित्र मनमा त्रास बोकेर पनि वाहिर मुस्कुराइरहने धेरैका परिवार छन् । झापा गाउँगाउँपालिका अध्यक्ष जयनारायण साहकी श्रीमती कुसुमकला साहा भन्छिन् – कहिले काँही त श्रीमान्ले हामी हामीलाई कोरोना सार्नु हुन्छ झैं लाग्छ । विहान ९ वजे हिँडेको श्रीमान साँझ ६÷७ वजेमात्र घर फर्कदा मनमा अनेक कुरा खेल्छन् । हामी जनप्रतिनिधिका परिवार डराएर पनि त हुँदैन नि हिम्मत गरेर भएपनि अरुलाई सुरक्षित गर्नु हाम्रो दायित्व हुन्छ । दिनभरि घरमा वस्ता मनभरि पीर भएपनि वेलुका श्रीमान आएपछि सबै बिर्सन्छु । श्रीमान् मुस्कुराउँदै आउनुहुन्छ कुसुमकलाले भनिन् – थकान भएपनि श्रीमान घर फर्कदा मुस्कुराउँदै आएको देख्दा बेग्लै आनन्द आउँछ ।

जयनारायण साह – अध्यक्ष , झापा गाउँपालिका

कोरोनाको हल्ला शुरु शुरुमा फैलदै जाँदा आफूलाई पनि निक्कै डर लाग्यो कुसुमाकलाले भनिन् – झापा गाउँपालिका नेपाल लकडाउन हुनुहुन्दा अगाडि नै लक डाउन भएर होला अहिले डर कम भएको छ । बन्दा बन्दी छ पहिला त श्रीमानलाई छिटो छिटो घर आउन पनि भने । पछि सम्झिए जनप्रतिनिधि नै घरमा वसेभने नागरिकको के हालत होला भनेर अहिले त आफैं मनभरि डर बोकेर पनि मुस्कुराउँदै सबैरै पठाउँछु ।

 दीपिन्द्र थापा –  उपाध्यक्ष -गौरीगञ्ज गाउँपालिकाका 

उता गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाको पनि घरको समस्या उही हो । उनी भन्छन् – सुरुमा त घर परिवार निक्कै आत्तिए अहिले त्यस्तो छैन । उनीहरुले पनि बुझेपछि काम गर्न सहज भएको छ । हामीले आफ्नो कतवर््य घर परिवारलाई वुझाउन पनि सक्नु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here