भोजपुर,

कोराना भाइरसका कारण सरकारले आह्वान गरेको लकडाउनले बजार बन्द भएपछि भोजपुरका पोल्ट्री फार्म व्यवसायी मर्कामा परेका छन् । उत्पादित कुखुरा तथा अण्डाको बजारीकरणमा समस्या हुनुका साथै कुखुरालाई खुवाउने दाना ल्याउन नपाउँदा व्यवसाय धरासायी बनेको व्यवसायीले गुनासो गरेका छन् ।
लकडाउनले बिक्री ठप्प हुँदा दैनिक रु ५० हजारभन्दा बढीको घाटा भइरहेको रिदम पोल्ट्री फार्मका सञ्चालक अनिल बस्नेतले बताउनुभयो । सञ्चालक बस्नेतले भन्नुभयो, “यो समयमा व्यवसायमा निकै ठूलो धक्का लागेको छ, लकडाउनका कारण कुखुरा बिक्री भएको छैन । कुखुरालाई खुवाउन दाना ल्याउन नसक्दा बचाउन गाह्रो छ । कुखुराले कुखरालाई जिउँदै खान थालेका छन् ।”
करिब रु ३० लाख लगानीमा अरुण गाउँपालिकाको सिक्रेटार र पालपालेमा रहेको बस्नेतको फार्ममा अहिले छ हजारको हाराहारीमा कुखुरा छन् । कुखुरालाई खुवाउने दाना अभावमा दैनिक २०÷२५ वटाको हाराहारीमा कुखुरा मर्ने गरेको बस्नेतको भनाइ छ । “कुखरा बिक्री नभएपछि पैसा अभावमा कामदारलाई समेत तलब दिनसकेको छैन । दैनिक कुखुरा मरिरहेका छन् । व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ”, बस्नेतले भन्नुभयो ।
बस्नेतको फार्ममा स्थापनाकालबाट नै चार जनाले रोजगारी पाएका छन् । दाना अभावमा बिक्री लागि तयार भएका कुखुरा भटाभट मर्न थालेपछि उनीहरुको समेत रोजगारी गुम्ने अवस्था छ । कुखुराले बजार नपाएपछि रोजगार गुम्नेमा कामदार पनि चिन्तामा परेका छन् । फार्मका कामदार कुमार राईले भन्नुभयो, “रोजगारी पाइएको छ तर केही समयअघिबाट नियमित तलब नपाउन सकिरहेका छैनाँै, बिक्री छैन, दाना अभावमा धेरै कुखुरा आफँै टोकाटोक गरेर मरिरहेका छन्, जसकारण हाम्रो रोजगारी नै गुम्मे अवस्था छ ।”
कुखुरापालक कृषकको समस्या समाधानमा पहल गर्ने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । दाना खरिद तथा कुखुरा बिक्रीका लागि सवारी पास उपलब्ध गराइरहेको र यसको व्यवस्थापनका लागि सरोकारवालासँग छलफल गरेर समाधान गरिने प्रशासनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भन्नुभयो, “हामीले उहाँहरुजस्ता व्यवसायीलाई सहज वातावरण बनाइरहेका छौँ । खासमा उहाँको फार्ममा उत्पादन भएका कुखुरा बिक्री नहँुदा पैसा अभावले दाना ल्याउन नसक्नु भएको जस्तो लाग्छ । बिक्रीका लागि सहजीकरण भूमिका खेल्छौँ ।”
कखुरा सामान्यतया ४० देखि ४५ दिनमा बिक्रीका लागि तयार हुने भए पनि फार्ममा तीन महिना बढी समयबाट कुखुरा पाल्नुपरेको बस्नेतले बताउनुभयो । ‘‘बिक्रीका लागि ठिक्क समय हुने अवस्थामा लकडाउन शुरु भयो । अहिले फार्ममा तीन महिना बढी समयका कुखुरासमेत छन् । जति धेरै लामो समय भयो, त्यति नै मात्रामा दाना बढी खान्छन् । त्यही भएर बचाउन समस्या छ ।” भोजपुर जिल्लाभर एक दर्जनको हारहारीमा पोल्ट्री फार्म सञ्चालनमा छन् ।





























