बाल उद्धार केन्द्रमा खाद्यान्न अभाव

0
1085

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

मुठ्ठी दानका भरमा चलेको झापाको एउटा बाल उद्धार केन्द्रमा दाताको उपस्थिती पातलिन थालेका कारण त्यहाँ आश्रित बाल बालिकालाई खाद्यन्नलगायत धेरै कुराको अभाव सिर्जना भएको छ । यसअघि दाताहरुले समय समयमा उपलब्ध गराउदैं आएको खाद्यन्न र अन्य सामाग्रीले केन्द्र चल्दैं आएपनि पछिल्लो समय दाताहरुले राहत सामग्री उपलब्ध गराउने क्रममा कमि आएपछि केन्द्रमा आश्रित बालबालिकालाई समस्या परेको हो ।

विगत नौवर्षअघिदेखि झापाको मेचीनगर— ७ मा सञ्चालनमा रहेको जागृत बाल उद्धार केन्द्र नेपालमा अहिले दाताहरु आउने क्रम पातलिएको छ । दाताहरुको मुठ्ठी दानका भरमा चलेको केन्द्रमा दाताहरु आउने क्रम पातलिएका कारण त्यहाँ आश्रित बालबालिकालाई खाद्यन्न लगायत धेरै कुराको समस्या भएको केन्द्रका संस्थापक अध्यक्ष अर्जुन देवकोटा बताउनुहुन्छ ।

‘नौवर्षअघिदेखि यो केन्द्र विभिन्न संघ संस्था व्यक्ति, समाजसेवीकै आशा भरोसा र उहाँहरुकै साथ सहयोगमा चलेको छ ’ अध्यक्ष देवकोटाले भन्नुभयो—‘ यहाँ अश्रित बालबालिकाको भरण पोषण, लत्ता कपडा, खाद्यन्नदेखि सवै कुरा दाताहरुकै भरमा छ । हामीले उहाँहरुसँगै मागेर जुटाएर चलाउदैं आएका छौ । अरु बेला त जसो तसो केन्द्र चले पनि अहिले लकडाउनका कारण अवस्था नाजुक छ । दाताहरु पनि पहिलाको जस्तो आउनु भएको छैन् । यहाँ आश्रित बालबालिकाको दैनिक जीवन यापन निक्कै कष्टकर छ । विशेष गरेर केन्द्रमा खाद्यन्नको अभाव छ । यसलाई पूर्ति गरिदिन म सवै सँग आग्रह गर्दछु । ’

केन्द्रमा अहिले ६ बालक र ८ बालिका गरी कुल १४ जना बालबालिका आश्रित छन् । उनीहरु सवै १ नम्बर प्रदेशका विभिन्न जिल्लाका हुन् । धेरैलाई नत आफ्नो थातथलो थाहा छ, न त आमा बाबुकै बारेमा जानकार छन् । केन्द्रमा जनजाति र दलित समुदायका बालबालिका रहेको केन्द्रको सूचना पार्टीले प्रष्ट पार्दछ ।

विगत आठवर्षदेखि यहि केन्द्रमा बस्दै आउनु भएकी ताप्लेजुङकी एष्तर लिम्बु काँकरभिट्टा माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत हुनुहुन्छ । पछिल्लो समय केन्द्रमा दाताहरु आउने क्रम रोकिएपछि केन्द्र नै संकटमा पर्ने र बन्द भएर आफ्नो पढाइमा पुर्णविराम पो लाग्ने हो की भन्ने चिन्ताले सताएको बताउनुहुन्छ ।

कक्षा १० मा अध्ययनरत लिम्बु पढाईमा निक्कै अव्वल मानिनुहुन्छ । मेचीनगर नगरपालिका भित्र सञ्चालित काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर— ६ बाट कक्षा ८ को २०७४ सालको वार्षिक परीक्षामा सामेल भएर मेचीनगर स्तरमा सामुदायिक विद्यालयको छात्रा तर्फ ७ सय ३७ अंकसहित प्रथम स्थान हासिल गर्न सफल एष्तर लिम्बुलाई ४० औँ शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मेचीनगर नगर शिक्षा समितिको तर्फबाट १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सम्मान प्रदान गर्नुभएको थियो ।

यतिमात्र होइन शैक्षिक सत्र २०७५ को वाार्षिक परीक्षमा काँकरभिट्टा माध्यमिक विद्यालयमा कक्षा ९ बाट सामेल भएर कक्षा ६ देखि ९ सम्मको विद्यार्थीहरु मध्ये सर्वाेत्कृष्ट अंक ९४ दशमलव २५ प्रतिशत ४ दशमलव शुन्य जीपीए हासिल गरे वापत स्व. भगमाया ओली स्मृति पुरस्कारबाट समेत पुरस्कृत लिम्बु अहिले आफु आश्रित केन्द्रको अवस्था देखेर कहि कतै आफुले आफ्नो पढाईलाई यहाँ भन्दा अघि बढाउन नसकिने पो हो की भन्ने समस्याले सताइरहने दुःखेसो व्यक्त गर्नुहुन्छ ।

केन्द्रमा आश्रित बालबालिकाको मासीक खर्च झण्डै ३५ देखि ४० हजार रुपैयाँ खर्च हुने केन्द्रले जनाएको छ । तर, आम्दानीको बाटो नहुँदा अहिले केन्द्र नै संकटमा परेको सञ्चालकहरुको भनाई छ । संस्थापक अध्यक्ष देवकोटाका अनुसार शुरु शुरुमा धेरै दाताहरु आउने गरेको भएपनि अहिले लकडाउनको अवस्थाका कारण आउन छाडेको र उनीहरु नआए पछि केन्द्रको खर्च धान्न मुश्किल परेको हो ।

लकडाउनका कारण दाताहरु नआएपछि र खाद्यन्न अभाव हुँदा आफु जस्तै यहा रहेका अनय बालबालिकाहरु दैनिक जीवनयापन कष्टकर बनेको केन्द्रमा आश्रित प्रकाश शिवाको भनाई छ । प्रकाश पनि काँकरभिट्टा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

मुठ्ठी दानबाट प्राप्त खाद्यन्न र दाताहरुले दिएको खाएर बस्नु परेको अवस्थामा अहिले लकडाउनका कारण कोहि पनि नआएका कारण केन्द्रकै अवस्था दयनीय बनेको शिवाको भनाई छ । विभिन्न व्यक्तिहरुले आफ्नो तथा छोरा छोरीहरुको जन्मोत्सवका अवसरमा, धार्मिक एवम् साँस्कृतिक पर्वहरुमा केन्द्रलाई विभिन्न सामाग्री उपलब्ध गराउदैं आएका थिए । झण्डै डेढ महिनाअघिदेखि त्यो क्रम पनि रोकिएका कारण केन्द्रमा खानकै समस्या भएको छ । केन्द्रलाई स्थानीय र वडा सरकरबाट वार्षिकरुपमा केही बजेट छुट्याइदिन सञ्चालकहरुले आग्रह गरेका छन् ।

मानिस रोग भन्दा पनि भोकले मर्ने अवस्थमा पुग्नु हुदैंन । यसकारण त्यहा आश्रित बालबालिको खानपिन तथा पढाईतर्फ एकपटक स्थानीय सरकार र समाजमा उत्कृष्ट समाजसेवीका रुपमा कहलिएकाहरुले पनि एक पटक त्यतातिर नजर लगाउनु पर्ने पो हो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here