झापाको सडकबाट नौ महिलाको उद्धार

0
2977

झापा ।

सडकमै दयनीय जीवन गुजारिरहेका नौ जना महिलालाई झापाबाट उद्धार गरिएको छ । सोमबार मेचीनगरबाट पाँच जना र बिर्तामोडबाट तीन जना महिलालाई उद्धार गरिएको हो । यसअघि नै कनकाईबाट एक महिलाको उद्धार गरिएको थियो ।

१ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको विशेष पहलमा ती महिलाको उद्धार गरिएको हो । मेचीनगर तथा बिर्तामोड नगरपालिका,प्रशासन तथा सामाजिक अभियन्ताको सहयोगमा उनीहरुलाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा पठाइएको छ ।

सामाजिक विकास राज्यमन्त्री गजमेरका अनुसार मानसिक सन्तुलन गुमाएका, लकडाउन वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाध्य अधिकाँश मानिसहरुमध्ये महिला बढी जोखिममा परेकाले उनीहरुलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको हो ।

वैशाख ६ गते संवाद समूहले सडक मानवको व्यवस्थापन र जोखिममा परेका महिलाबारे भिडियो कन्फ्रेन्स गरेको थियो । भिडियो कन्फ्रेन्समा सहभागी सरोकारवालाले राज्यमन्त्री गजमेरको गम्भीर ध्यानाकर्षण गराएका थिए । सरोकारवाला सहित राज्यमन्त्री गजमेरले उनीहरुको अल्पकालीन र दीर्घकालिन समस्या समाधानको पहल तत्काल थाल्ने प्रतिवद्धता कार्यान्वयनमा आएको भन्दै सरोकारवालाले खुशी व्यक्त गरेका छन् ।

सोमबार आश्रममा लगिएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिनुभयो ।

अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण भइरहेका बखत उनीहरुलाई सोझै आश्रममा राख्दा समस्या हुने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपरेको राज्यमन्त्री गजमेरको भनाई छ ।

राज्यमन्त्री गजमेरका अनुसार मानव सेवा आश्रममा ती महिलाहरुलाई राख्ने र आश्रमलाई सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गर्ने बताइन् । लकडाउनमा झापाका सडक मानव भोकै परेपछि सामाजिक अभियन्ता दिवाकरलाल चौधरी खगेन्द्र घिमिरे लगायतको टिम खानाको व्यवस्था गर्दै आएको थियो ।

सडकका महिलाहरु बलात्कारलगायत हिंसाको शिकार हुने डरले उनीहरुको तत्काल व्यवस्थापन गरिएको बताइएको छ । लकडाउन खुलेपछि सडकमा बस्ने पुरुषहरुलाई समेत सरकारले उचित व्यवस्थापन गर्ने राज्यमन्त्री गजमेरको भनाई छ । प्रदेश १ लाई सडकमानव रहित बनाइने मन्त्रालयले जनाएको छ ।

मेचीनगरको काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीको सहयोगमा मेचीनगर नगरपालिकाको एम्बुलेन्समा राखेर विराटनगर पठाइएको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो । बिर्तामोडमा उपमेयर पवित्रा महतारा सहित सामाजिक अभियन्ता, जनप्रतिनिधि, प्रहरी प्रशासनको टोलीले महिला उद्धारमा सहयोग गरेको थियो ।


यस अघि झापाका सडकमै जीवन गुजार्ने र विभिन्न चोकमा रहेका असहाय तथा मानसिक सन्तुलन गुमाएकाहरुका समस्याकोबारेमा ‘भिडियो कन्फ्रेन्स’ मा गम्भीर छलफल हुँदै आएको थियो । प्रदेश नं. १की सामाजिक विकास राज्यमन्त्री गजमेरले लकडाउनको समयमा सडक मानवको समस्यालाई अल्पकालीन र त्यसपछि दीर्घकालीन रुपमा समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउदै आएकी थिइन् ।

‘भिडियो कन्फ्रेन्स’ मा एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल लगायतले सडक मानवको दिगो व्यवस्थापनमा सरकारले ध्यानदिनुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट उनीहरुको हितका लागि सञ्चालन गर्ने अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उद्धार कार्यमा उनीहरु पनि सहयोग गर्न संगै लागि परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here