भोजपुर ।

विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा स्वरोजगार बन्नका लागि व्यावसायिकरूपमा कृषि पेशामा लागेका भोजपुरका युवा निरास बन्न थालेका छन् ।
लकडाउनका कारण व्यवसाय धरासायी बन्न थालेपछि उनीहरूमा निरासा थपिएको हो । जिल्लामा व्यावसायिक कुखुरापालन, पशुपालन, व्यावसायिक तरकारी खेतीलगायत विभिन्न उद्यमशील काममा युवा लागेका छन् । उनीहरूले ती व्यवसायबाट मनग्य आम्दानी पनि गर्दै आएका थिए ।
तर विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न समस्याका कारण उनीहरू अहिले व्यवसायबाट पलाएन हुने खतरा बढ्दै गएको छ । लकडाउनले सम्पूर्ण क्षेत्र बन्द हुँदा उनीहरूलाई समस्या थपिएको हो । बंैकबाट ऋण लिएर ठूलो लगानी गरेका उनीहरू अहिले सरकारसँग सहारा खोजिरहेका छन् ।
भोजपुर नगरपालिका–१२ टक्सारमा अजिमा पोल्ट्री फार्म दर्ता गरेर व्यवसाय गरिरहनुभएका स्थानीय युवा व्यवसायी दीपक श्रेष्ठले भन्नुभयो, ‘‘देशका हामी जस्ता धेरै युवा विदेश गइरहेको अवस्था छ, म भने ६ वर्षबाट व्यवसाय गरिरहेको छु तर लकडाउनले हामी जस्ता युवा मारमा परेका छौँ, यो विषम परिस्थितिमा सरकारले हामी जस्ता व्यवसायीलाई लक्षित गरेर आवश्यक सहयोग गर्न आवश्यक छ, त्यो भएन भने म जस्ता धेरै युवा व्यवसायबाट पलाएन हुने अवस्था छ ।’’
श्रेष्ठले विगतका दिनमा भोजपुर सदरमुकामदेखि लिएर रामप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ, ओख्रे टेम्केमयुङ गाउँपालिकाको अन्नपूर्णलगायत ठाउँमा कुखुरा सप्लाई गर्दै आउनुभएको थियो । तर अहिले फार्ममा बिक्रीका लागि तयार भएका कुखुरा दाना अभावमा बचाउन नसक्ने अवस्थामा पुगेका छन् ।
श्रेष्ठले गाउँ गाउँबाट मकै सङ्कलन गरेर अहिले कुखुरालाई बचाइरहेको बताउनुभयो । सबै कुखुरा मरेमा रु १३ देखि १५ लाख घाटामा जाने श्रेष्ठको भनाइ छ । अहिले फार्ममा तीन हजार कुखुरा छन् भने फार्मबाट चारजनाले रोजगारीसमेत पाएका छन् ।
‘‘ठूलो रकम व्यवसायमा लगानी गरियो, कृषि व्यवसायमा रु ३० लाखभन्दा बढी लगानी छ, दैनिकरूपमा कुखुरालाई रु २२ हजारभन्दा बढी दानामा खर्च हुन्छ, दाना खरिद गर्न नसक्दा कुखुरा मरिरहेका छन्, गाउँगाउँबाट मकै खरिद गरेर बचाउने कोसिस गरिरहेको छु, यस्तो अवस्था लम्बिँदै गएमा व्यवसाय टाट पल्टिने अवस्था छ’’, श्रेष्ठले भन्नुभयो ।
त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकामा लेयर्स जातको कुखुरा पालेर अण्डा उत्पादन गर्दै आएका अर्का युवा दीपक सुवेदीले पनि त्यस्तै समस्या भोग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामी सबै व्यवसायमा लागेका युवाको समस्या उस्तै छ, यो समयमा कुखुरालाई बचाउन गाह्रो छ भने उत्पादित अण्डा बिक्री नहुँदा फाल्नु पर्ने अवस्था छ ।’’
भोजपुर नगरपालिका–११ आम्तेकमा अर्का युवा अङ्कित खत्रीले अन्य गाउँका युवासँग मिलेर कृषि फार्म दर्ता गरी व्यावसायिकरूपमा तरकारी खेतीसँगै पशुपालन गर्दै आउनुभएको छ । आफ्नो फार्ममा उत्पादन भएको तरकारीले बजार नपाएपछि उहाँको पनि अवस्था उस्तै छ । फार्ममा उत्पादन भएको तरकारी कुहिएर गएको उहाँको भनाइ छ ।
लकडाउनले मुख्यरूपमा पशुपालन तथा कुखुरापालन, तरकारी व्यवसायमा लागेका युवा मारमा छन् । उत्पादित सामग्री गाई बस्तुसँगै सुँगुरलाई खुवाउनु पर्ने आवस्था बनेपछि व्यवसाय सङ्कटमा परेको हो । धेरै ठूलो लगानीमा व्यवसाय थालेर अन्य व्यक्तिलाई समेत रोजगारी दिँदै आएका उनीहरू अहिले आफैँ सङ्कटमा परेको बताउन थालेका छन् ।































