भारतीय पक्षद्वारा माफी

0
1127

भद्रपुर,

झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ ।

झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा १५० को सङ्ख्यामा घरेलु हतियारसहित आएका भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरूलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।

सोही विषयमा मङ्गलबार दिउँसो घटनास्थलमा दुवै देशका नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायबीच छलफल हुँदा भारतीय पक्षले आफ्नो गल्ती स्वीकार गर्दै संलग्नमाथि भारतीय प्रशासनद्वारा कानूनी कारवाही गरिने सहमति भएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो ।

“भारतीय सीमा सुरक्षा बल, सीमावर्ती भारतीय ग्रामपञ्चायतका जनप्रतिनिधि र स्थानीय गाउँलेहरू छलफलमा आएका थिए”, ढकालले सहमतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “हवाईफायर गर्नुपर्ने अवस्था सिर्जना भएकामा भारतीय पक्ष दोषी भएको हामीले बतायौँ, उहाँहरूले गल्ती स्वीकार्दै क्षमा माग्नुभयो ।”

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले छलफलमा सीमाको सुरक्षा संवेदनशीलता नबुझी हुलहुज्जत हुनु भारतीय पक्षको गम्भीर कमजोरी भएको निष्कर्ष निकाल्दै कोभिड–१९ सङ्क्रमण रोक्न सीमा क्षेत्रबाट आवतजावत हुन नदिने दुवै देशले यसअघि गरेको प्रतिबद्धतालाई कडाइका साथ पालना गर्ने सहमति भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here