सुरक्षाकर्मी र स्वास्थ्यकर्मीद्वारा प्रतिकार्यको नमूना प्रदर्शन

0
922

बनेपा,

कोरोना भाइरसको सङ्क्रमण फैलिरहेका बेला काभ्रेपलाञ्चोकका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले कसरी सुरक्षित विधि अपनाएर काम गर्ने भन्ने विषयमा प्रतिकार्यको नमूना विधि प्रदर्शन गरेका छन् ।

नेपाली सेना विष्णु दल गण, धुलिखेल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा बुधबार भएको अभिमुखीकरण कार्यक्रममा जिल्लास्तरदेखि स्थानीय तह र वडास्तरका ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ र ‘प्यासेन्ट रिसिभिङ टिम’ले काम गर्ने विधि प्रदर्शन गरिएको हो ।

सो क्रममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्री कसरी निर्मलीकरण गर्ने र भएका सामग्रीको सुरक्षित प्रयोग कसरी गर्ने भन्ने विषयमा विधि प्रदर्शन गरिएको थियो । सङ्क्रमित बिरामी उपचारको क्रममा निधन भएमा कसरी सुरक्षित साथ शव व्यवस्थापन गर्ने भन्ने विषयमा समेत विधि प्रदर्शन गरिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई कसरी एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने र उपचारको व्यवस्था गर्ने भन्ने विषयमा स्थानीय तहका सरकार र स्वास्थ्यकर्मीलाई विधि सिकाउनुका साथै केही गरी बिरामीको निधन भएमा शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सिकाइएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले प्रदर्शनबाट पालिकास्तरमा रहेका स्वास्थ्य शाखा प्रमुखहरूले धेरै शिक्षा लिने अपेक्षा व्यक्त गर्नुभयो । सो क्रममा उहाँले जिल्लाको सबै पालिकाको सहयोग र समन्वयमा जिल्लामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सफल भएको बताउनुहुँदै सबैको समन्वय र सहकार्यबाट आगामी दिनमा पनि सुरक्षित जिल्ला बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

सो क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको अगुवाइमा जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई विश्वमा फैलिँदै गएको कोभिड–१९ प्रकोपको बारेमा सुरक्षित रही विपद् व्यवस्थापन तथा सङ्क्रमितको उद्धार कसरी गर्ने भन्ने विषयमा कार्यालय प्रमुख विशाल तामाङले प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here