काठमाडौं,

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख अनिल शर्मा विरहीको गिरफ्तारीविरुद्ध वक्तव्य जारी गरेको छ ।
महासचिव विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा केन्द्रीय सदस्य विरहीलाई उपचारका लागि अस्पतालमा गएको समयमा प्रहरीले चितवनबाट पक्राउ गरकोमा घोर भर्त्सना गरिएको छ। त्यस्तै, इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला र चितवन जिल्ला सेक्रेटरी दुर्गालगायतलाई गिरफ्तारी गरिएको भन्दै उनीहरु सबैको विना शर्त रिहाइको माग गरिएको छ।
कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिई पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी ओली नेतृत्वको सरकारले हिंसा र आतंक मच्चाउन खोजिरहेको आरोप नेकपाको छ।
आफ्नो असफलता र कमजोरीबाट जनताको ध्यान मोड्न सरकारले गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानव अधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने आग्रह छ, विज्ञप्तिमा भनिएको छ।
साथै सरकारको अमानवीय दमनको व्यापक भण्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोधको मानसिकतामा रहन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशनसमेत दिइएको छ।






























