नेपालमा संक्रमितको संख्या १०१ पुग्यो, कपिलवस्तुमा भेटिए कोरोनाका दुईजना बिरामी

0
728

काठमाडौं,

नेपालमा कोरोना संक्रमितको संख्या सय नाघेको छ। कपिलवस्तुमा बिहीबार दुईजना कोरोना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षीय दुईजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो। मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवै संक्रमितको अवस्था सामान्य रहेको छ।

यससँगै नेपालमा संक्रमितको संख्याले पनि सतक पार गरेको छ। कपिलवस्तुमा दुई संक्रमित भेटिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २६ पुगेको छ। यसअघि बाँकेको नेपालगञ्‍जमा २३ जना र रुपन्देहीमा एकजना कोरोना संक्रमित भेटिएका थिए।

बिहीबार मात्रै विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका थप आठजना संक्रमितहरु निको भएका थिए। गत सोमबारदेखि लगातार तीनपटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ।

गत बुधबार उक्त अस्पतालमा उपचाररत ६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए। अस्पतालको आइसोलेसनमा रहेका थप आठ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गरिने प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए।

कोशी अस्पतालमा उपचाररत भारतीय जमाती एक जना, विराटनगर १७ का दुई जना र एक महिलासहित भुल्केका स्थानीय पाँच जनाले कारोनालाई परास्त गरेका हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here