यसरी बनाऔँ लकडाउन खोल्ने मोडालिटी

0
1469

भुवन तामाङ,

लकडाउन निर्धारण गर्ने अधिकार संघीय सरकारको हुन्छ । सरकारले देशको समग्र परिस्थिति हेरेर निर्णय गर्दछ तर सरकारको निर्णय सोलोडोलो भइदिनसक्छ । किनकि सरकारले केन्द्रको आँखाबाट हेर्दा जे देख्छ त्यही अनुरुप निर्णय गर्छ । जिल्लाको कुनै एक पालिकामा एकजना संक्रमित देखिए संघीय सरकारले सिङ्गै जिल्ला रेडजोन भनिदिन्छ । जबकी जिल्लाका अरु पालिकाहरु ग्रीनजोन नै हुन्छन् । यस्तोमा प्रदेश र स्थानीय सरकार लगायत स्थानीय सरोकारवालाले मोडालिटी सुझाएर संघीय सरकारलाई प्रष्ट पार्न सक्दछन् ।

लकडाउन गरिएको डेढमहिना व्यतित् हुँदासम्म सरकारले धेरै अनुभवहरुपनि हासिल गरेको छ । त्यसैले सरकारले केही क्षेत्रहरुका लागि लकडाउन खुकुलो पारिसकेको छ । तर सुरक्षाका उपायहरु मसिनोगरि बुँदागतरुपमा तोकेको भने पाइएको छैन । यस्तोमा लकडाउन खुकुलो पारिएका क्षेत्रहरु स्वयम्ले सरकारको गाइडलाइनमा आधारित सुरक्षाका उपायहरु बुँदागतरुपमा तयारपारि अवलम्वन गर्नसक्नु अति उत्तम हुन्छ । सम्बन्धित पक्षको सुरक्षा सम्बन्धित पक्षले नै गर्नसके शतप्रतिशत भरपर्दो हुन्छ ।

जेठ ५ गतेसम्मका लागि पुनः थपिएको लकडाउन, परिस्थितिमा सुधार नआए सरकारले अर्कोपटक पनि थप्ने सम्भावना छ । त्यसो भए के लामो समयसम्म लकडाउन कै अवस्थामा रहनु पर्ने हो त ? यस्तोमा लकडाउन खोल्ने मोडालिटी स्थानीय सरोकारवाला र सर्वसाधारण स्वयम्ले नै बनाउनु अति उत्तम हुन्छ । जोखिमबाट बच्ने कुरा स्वयम्मै निर्भर हुने कुरा हो । सरकारले गरेरमात्र हुन्न । एउटा बिराउने सबैलाई पिराउने हुनुहुन्न तर भरपर्दो मोडालिटी भने बनाएर पालना गर्न सक्नुपर्छ । जसले गर्दा संघीय सरकार विश्वस्त हुनसकोस र लकडाउन खोल्दै लान सकोस ।

सर्वसाधारणको मोडालिटी ः

हामीले सुरक्षित भरपर्दो मोडालिटीको अभ्यास त गरिहेकै छौँ । जस्तै किनमेल गर्न घरबाहिर निस्कँदा र जहाँ जाँदापनि मास्क अनिवार्य लगाउने । एकअर्काबीच दुईगजको भौतिक दूरी कायम राख्ने । पसलमा भिडभाड नगर्ने, पालो पर्खने । सामान घरमा ल्याएपछि धुन मिल्ने सामान धुने, सामान ल्याएको झोला र हात साबुन पानीले धुने । खाना पकाउनु अघि सामलतामल र भाँडाहरु राम्ररी धुने । यो मोडालिटी त हामीले अभ्यास गरि नै राखेका छौँ । त्यस्तैगरि, कुनैपनि काममा धेरैजना भेला नहुने । साँस्कृतिक, धार्मिक, कर्मकाण्ड र संस्कारजन्य काममा धेरैमान्छे भेला नहुने । छरछिमेक, नातेदार धेरै नबोलाउने । समूह बैठक बस्दा मास्क लगाउने । एकअर्काबीच दुईगज दूरी कायम राख्ने । खेतीपाती गर्दा पनि यिनै सुरक्षाका उपाय अपनाउने । बजारतिर नजाने । नगइ नहुनेभए सुरक्षाका उपाय अपनाउने । विदेशबाट आएका र नयाँ मानिसबारे सम्बन्धित निकायलाई जानकारी गराउने जस्ता मोडालिटी त सर्वधारणले पालना गरिरहेकै छौँ ।

लकडाउन पूरै खुलेपछि हाटबजार जाँदा मास्क लगाउने, पसलमा भिड नगर्ने, पालो पर्खने र चाँडै घर आउने । घर आएपछि साबुनपानीले हात, सामान र कपडा धुने । नुहाउने । स्कुल खुलेपछि नानीहरुलाई स्कुल पठाउँदा मास्क लगाइदिने । नानीहरु घरमा आएपछि उनीहरुको हात र लुगा साबुनपानीले धोइदिने । किताबको व्याग स्यानिटाइज गरिदिने । यी र यस्तै सुरक्षाका उपाय अबलम्वन पक्का गर्नेछौँ साथै लकडाउन पुरै खुलेपछि पनि केही महिनासम्म यही मोडालिटी कायम राख्छौँ भन्ने विश्वास दिलाए र जनता जिम्मेवार भए सरकारले लकडाउन पूर्णरुपमा खोलिदिन सक्छ । कोरोना भाइरसबाट कसरी बच्ने भन्ने कुरा स्वयम्मै भर पर्ने कुरा हो ।

स्कुलको मोडालिटी ः

सरकारी हुन् या निजी स्कुल, उपयुक्त मोडालिटी स्वयम् बनाउन अबश्य सक्छन् । अहिलेसम्मको अनुभवले धेरै कुरा सिकिइसकिएको छ । गुरु गुरुमाहरुले स्कुल कार्यालयमा रहँदा र कक्षामा विद्यार्थीहरुसँग पनि दुईगजको भौतिक दूरी कायम राख्ने । भरिसक्य विद्यार्थीहरुलाई नछुने । विद्यार्थीहरुलाई कोरोना भाइरस र यसको संक्रमणको असरबारे बुझाउँदै एकअर्का नछुन भन्ने । हरदम मनिटर गर्ने । स्कुलको प्रवेश गेटमा नै स्यानिटाइजर शख्तिका साथ प्रयोग गर्ने । भरिसक्य स्यानिटाइजर टनेल बनाउने । डेस्कबेन्च दैनिक स्यानिटाइज गर्ने । स्कुलमा प्रवेश गर्दा र स्कुलबाट निस्कँदा सबैलाई स्यानिटाइज गर्ने । स्कुल बस पनि बिद्यार्थी चढाउनु अघि स्यानिटाइज गर्ने । विद्यार्थी र स्कुल सम्बद्ध सबैले मास्क अनिवार्य लगाउने । मास्क दुईवटा होस् । एकदिन एक मास्क अपनाउने । विद्यार्थीहरुलाई अनुहार छोप्ने खालको भाइजर भए राम्रो । यसले विद्यार्थीहरु एकअर्का चल्ने क्रिया पनि नियन्त्रण हुन्छ । कक्षामा बढीमा एकबेन्च दुई या तीन विद्यार्थीमात्र राख्ने । कक्षाकोठा नपुगे र स्कुल बसमा विद्यार्थीसंख्या कम गर्न जोरबिजोर प्रणाली अपाउने । जोर रोलनम्बर भएकालाई एकदिन । बिजोर रोलनम्बर भएकालाई अर्कोदिन पढाउने । नत्र भने बिहानीसत्र र दिवासत्र प्रणाली अपाउन सकिन्छ । पढाईमा छरितो शैली अपनाउने । यस्तोमा खर्च र समय अलिक बढ्न सक्छ । अभिभावक, गुरु गुरुमा र स्कुललाई अलिक भार पर्नसक्छ तर यो भार सधैँका लागि होइन । स्थानीय सरकारले सहयोग गर्नुपर्छ । केही समयका लागि सबैले सुरक्षित उपाय अपनाउनै पर्दछ । केही मेहनत गर्नै पर्छ । यति कुरा अबश्य पालना गर्ने विश्वास दिलाए सरकारले स्कुलहरु खोल्न अनुमति दिन सक्छ । नत्र सबैको रोजीरोटी, आम्दानी र विद्यार्थीहरुको भविष्य अन्धकार हुनेछ । कलेजहरुले पनि यस्तै मोडालिटी अपनाउन सक्छन् ।

बजारको मोडालिटी ः

तरकारी र खाद्य आपूर्तिका लागि दैनिक केहीघण्टा बजार खोल्ने अभ्यासको अनुभव छँदैछ । बैशाख २६ गतेपछि कृषि, दुग्ध, निर्माण, पुस्तक, विद्युतीय, पार्टस्, वर्कसप लगायतका सामग्री बेचबिखनका लागि बजार खोल्न सरकारले अनुमति दिएको छ । तर सोलोडोलो मोडालिटीले कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने देखिन्छ । यस्तोमा बजार व्यवस्थापन समिति, वाणिज्य संघ र व्यावसायी स्वयम्ले सुरक्षित मोडालिटी बनाई अबलम्वन गर्नुपर्दछ ।

अल्टरनेटिभ अर्थात आलोपालो प्रणाली अपनाउनु उपयुक्त हुन्छ जस्तै, तरकारी, खाद्य, दूग्ध, पशुपंक्षी, कृषिजन्य बजार बिहान खोल्ने । पुस्तक, लुगाकपडा, विद्युतीय, पार्ट्स, निर्माणजन्य, वर्कसप र अन्य बजार अपरान्ह खोल्ने । अर्को मोडालिटी पनि छ जस्तै, एउटा पसल खोल्ने, सँगैको बन्द राख्ने । छेवैको अर्को पसल खोल्ने, सँगैको अर्को बन्द राख्ने । अर्कोदिन, अघिल्लो दिन बन्द रहेका पसलहरु खोल्ने । यसो गर्दा पसलहरुमा सामाजिक दूरी कायम राख्न सजिलो पर्छ । दिन बिराएर नै सही सबैले व्यापार पनि गर्न पाउँछन् । अर्को पनि उपाय छ त्यो हो, एकदिन एकसाइडकामात्र पसल खोल्ने र त्यतैका उपभोक्तामात्र आउन पाउने । अर्कोदिन अर्को साईडकामात्र पसल खोल्ने र त्यतैका मात्र उपभोक्ता आउन पाउने । यसो गर्दा भिड हुँदैन । यसरी सुरक्षाका उपाय अपनाएर बजार सुचारु गर्न सकिन्छ । सोलोडोलो रुपमा बजार खोलेर जोखिम बढेमा पुनः लामो समय लकडाउन हुनसक्छ । अनि त सबैको हातमुख बन्द । त्यसैले उपभोक्ता, व्यापारी, व्याबसायी स्वयम् नै सचेत हुनु जरुरी छ ।

एउटै लेखमा समग्र क्षेत्रबारे चर्चा गर्न सम्भव हुँदैन । त्यसैले यी भए केही उदाहरण तर पंक्तिकारको व्यक्तिगत विचारमात्र हो । अरु क्षेत्र जस्तै, बैंक तथा वित्तिय क्षेत्र, उद्योग तथा कलकारखाना, ढुवानी, क्रसर तथा निर्माण क्षेत्रलाई लकडाउन खुकुलो पारिसके पनि सुरक्षाका उपाय राम्रो भएन भने भोलि पुनः लकडाउन हुनसक्छ । त्यसैले यी क्षेत्रले पनि भरपर्दो मोडालिटी बनाइ अबलम्वन गर्नै पर्दछ । कामको प्रकृतिहेरी मोडालिटी बनाउन सकिन्छ ।

पर्यटन, होटल, रिसोर्ट, होमस्टे, रेष्टुरेन्ट, सिलाइकटाइ, मर्मत, सार्वजनिक यातायात, सेवा आदि क्षेत्रले पनि लकडाउन खोल्ने भरपर्दो मोडालिटी बनाएर सरकारलाई विश्वस्त पार्न सक्नुपर्छ । सरकारको मात्र मुख ताकेर हुन्न । सरकारले समय दिनुपर्ने अरु धेरै कामहरु हुन्छन् । त्यसैले सम्बन्धित क्षेत्र नै सचेत हुनुपर्छ । नत्र लामो समय आर्थिक नोक्सानी र अरु दुःख भोग्नु पर्ने हुन्छ । त्यसैले कुन कुरा रोज्ने हो ? स्वयम् मै भर पर्छ । यस सन्दर्भमा स्थानीय सरकारको अनुमति र सहभागिता अनिवार्य हुनुपर्छ । त्यसैले अहिलेबाटै प्रत्येक क्षेत्रले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहँदै लकडाउन खोल्ने भरपर्दो मोडालिटी बनाएर सरकारलाई सुनाइहालौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here