झापा ।

भारतले नेपाली भूमि किचेर लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नोमा पारेको भन्दै झापाको कचनकबलका युवाहरु संकेतिक रुपमा भारतको विरोध गरेका छन् ।
कचनकवल गाउँपालिका–६ का युवाहरुले सामाजिक दुरी कायम राखेर सरकारको ध्यान सिमा सुरक्षा तिर केन्द्रित हुनुपर्ने, भारतले मिचेको जमिन तत्काल फिर्ता हुनुपर्ने, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भनेर त्यस स्थानमा नेपालले सुरक्षाकर्मी खटाउनुपर्ने, भारतको सिमा अतिक्रमण विरुद्ध सबै एक हुनुपर्ने भन्दै युवाहरुले सांकेतिक रुपमा खबरदारी गरेको स्थानीय युवा आशिष वाग्लेले जानकारी दिए ।
पुर्खाको रगत पसिनाले आर्जेको मुलुक ,आज लोप हुने अवस्थामा पुगेको भन्दै युवाहरुले अब देशको रक्षाका लागि सबै एक हुने बेला आएको बताएका छन् । विरोध प्रर्दशनमा वाग्लेसहित नविन मैनाली लगायतका युवाहरुको सहभागिता रहेको बताइएको छ ।
नेपालको अस्तित्व रक्षाका निम्ति अघि नबढे रातारात भारतले सिमा मिच्ने क्रमलाई तिब्रता दिने युवाहरुको भनाई छ । सरकारको निरीहताका कारण सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु टुलुटुलु हेर्न बाहेक केहि गर्न सक्ने अवस्थामा नरहेको युवाहरुको भनाई छ । उनीहरुले भारतको विस्तारवाद प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।































