बिर्तामोडमा ‘स्वंयमसेवक’ को दादागिरी, प्रहरी मुकदर्शक

1
3228

राजु पौडेल / झापा ।

झापाको बिर्तामोडस्थित कृषिथोकमा स्वयमसेवकको रूपमा वडा कार्यालयले राखेका ‘स्वंयमसेवक’ हरूले अधिकांश सर्वसाधरणलाई दुरव्यवहार गर्ने गरेका छन् । उनीहरूले सवारी पास भएका अतिआवश्यक सवारीलाई पनि सडकमा गुड्न नदिई फर्काउने गरेका छन् । कानमा मुन्द्रा लगाएका, त्यहीँ चुरोट तथा खैनी खाँदै बसेका उनीहरूले राज्यले पनि अतिआवश्यकको सूचीमा राखेकालाई कुद्नै दिँदैन । उनीहरूलाई जाँन दिन आग्रह गर्दा उल्टै दुरव्यवहार गर्ने गरेका छन् ।
आइतबार बिहान विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालयका लागि किट बाकेर कुटनीतिक नियोगको ६१०–१–७७ को गाडीमा सवारलाई पनि उनीहरूले दुरव्यवहार गरे । कृषिथोकभित्र रहेको परीक्षण केन्द्रमा किट लगेको गाडीलाई करिब १५ मिनेट रोकेका थिए । काठमाडौंबाट किट लिएर आएको उक्त गाडीलाई अन्त कहीँ रोकिएन । बिर्तामोडको कृषिथोकमा बसेका ‘टोले दादा’ रोके । एक हप्तादेखि बन्द रहेको विषादी परीक्षण प्रयोगशालामा ल्याइएको किट तातो पस्नसाथ बिग्रन्छ भन्दै थिए गाडीमा रहेका एक व्यक्ति ।

‘सर ! हामीले तरकारी तथा फलफूल विषादी जाँच्ने किट ल्याएका छौं । यसमा अलिकति तातो पस्यो भने बिग्रन्छ । हामी पनि गाडीमा एसी चलाएर ल्याएका छौं’, गाडीमा रहेका प्राविधिक इश्वर महर्जन भन्दै थिए, ‘प्लिज सर ! हामीलाई जान दिनुस् । बाहिर निस्कन मिल्दैन ।’

कुण्डल लगाएका एक व्यक्ति गाडीको अघि उभिएर जानै दिएनन् । यो सबैको मुकदर्शक बनिरहेको थियो सशस्त्र प्रहरी । करिब १५ मिनेट रोकिएपछि प्रहरीलाई भनेर त्यो गाडी कृषिथोक भित्र रहेको प्रयोगशालातर्फ पठाइयो । यो त एक उदाहरण मात्र हो । कृषिथोकमा प्रहरीले समन्वयमा बिर्तामोड वडानम्बर ५ ले स्वंयमसेवकको नाममा बसेका ‘स्वंयमसेवक’ले राज्यले अतिआवश्यक भनेका सवारीलाई पनि आवतजावत गर्न दिँदैन । प्रशासनले गर्ने काम उनीहरूनै गरिरहेका हुन्छन् । अर्थात् सवारी पाससम्म उनीहरूले नै हेरिरहेका हुन्छन् ।

‘पुलिसले गर्ने काम सर्वसाधरणले गरेपछि अराजकता मचिँदैन’, कृषिथोकमा एक व्यक्ति भन्दै थिए, ‘उनीहरूलाई सबै अधिकार दिएर पुलिस पन्छिने हो भने भोलि अराजकता मचिँदैन ?’ कृषिथोकको दक्षिणतिर बसेको टोलीले आइतबार बिहान सूर्यदय टिभिको अध्यक्ष मनोज उप्रतीलाई पनि रोक्यो । बाइकमा ठूलो अक्षरमा ‘सूर्योदय टिभि, प्रेस’ लेखेका र घाँटीमा परिचय पत्र भिरेका उनलाई दुरव्यवहार गर्दै बाइक फर्कायो । तर, उप्रेती ओर्लिएर सम्झाउन थाले । वडा कार्यालयको अधिकार पाएका कहाँ टेर्थे र ! ‘तपाईंहरू हाम्रो आइडीकार्ड हेर्नुहुन्छ । तपाईंहरूको चाहिँ खोई । तपाईंहरू को हा े?’, उनले भने, ‘तपाईंहरू स्वयमसेवक भनेर हामीले कसरी चिन्ने ? अतिआवश्यक राज्यले नै नरोक्नुभनेको सवारी तपाईंहरूलाई कस्ले रोक्न लगायो ?’

नयाँ पत्रिका दैनिकका पत्रकार चिरञ्जीवी घिमिरेले पनि यी स्वंयमसेवकले आफूलाई दुरव्यवहार गरेको भन्दै फेसबुक स्टाटस लेखेका छन् । उनले यसबारे पटकपटक प्रहरी नेतृत्वलाई जानकारी गराउँदा पनि बेवास्था गरेको स्टाटसमा लेखेका छन् ।

?

‘ पुलिसको काम सबै टोलेहरूले गर्ने भएपछि झापामा पुलिसलको काम के हँ? एक÷एक सय मिटरको फरकमा ‘दादागिरी’ देखाउने राखेर प्रहरीले के गर्न खोजेको ? नभ्याएर हो कि नसकेर ? कि झापाको प्रहरी नेतृत्व लकडाउन कार्यान्वन गर्न असक्षम भएको हो ?’, उनी फेसबुकमा लेख्छन्, ‘टोलेहरूले त हैरान खेलाए त ! सूचना विभागले जारी गरेको प्रेस पास पनि नचिन्ने टोले राखेर के गर्न खोजिएको हो ? सूचना विभागको पास देखाउँदा पत्रकारलाई सार्वजनिक स्थानमा अपमानित गरेको पटकपटक जानकारी गराउँदा किन प्रहरी नेतृत्वले नसुनेको ? प्रहरीले प्रेस पास हेर्छ भने हामी एक÷एक मिटरमा पनि देखाउन तयार छौँ ।’ त्यहाँ बस्ने स्वयमसेवकले पत्रकारले सूचना विभागको प्रेस पास देखाउँदा पनि नक्कली भन्दै अपमानित गर्ने गरेका छन् । उनीहरू त्यो बाटो नहिँड्न भन्दै उर्दी गर्ने गरेका छन् ।
यता बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उनीहरुको व्यवहारप्रति सर्वसाधरणको पनि गुनासो आएकाले तत्काल हटाउने निर्णय गरेको जानकारी गराए ।

बिर्तामोडको यो ठाउँमा मात्र हैन यसअघि गल्ली–गल्लीमा प्रहरीले स्वयमसेवक भन्दै लठ्ठी दिएर ‘टोले दादा’ खटाएको थियो । उनीहरूले सर्वसधारणलाई लाठ्ठीले हानेर र उठबस गराएर हैरान बनाएका थिए । व्यापक आलोचना भएपछि त्यहाँका स्वयमसेवकलाई प्रहरीले हटाएको छ । शिवसताक्षीस्थित झिझिलेमा त अझै पनि पूर्वपश्चिम राजमार्गमै स्वयमसेवकको नाममा सर्वसधारणलाई राखेको छ । उनीहरूसँग हातमा सधैँ लाठ्ठी हुन्छ । झिझिलेमा रहेको प्रहरी चेकपोस्टमा प्रहरी बसिरहेका हुन्छन् भने उनीहरू राजमार्गमा गुड्ने सवारीको पास हेर्दै हुन्छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले स्वंयमसेवकका रुपमा राखिएका सर्वसाधरणले कानुन हातमा लिन नमिल्ने बताए । ‘स्वंयमसेवकलाई त्यहाँको व्यवस्थापनका लागि मात्रै राखिएको हो’ उनले भने, ‘त्यसरी कसैलाई दुरव्यवहार गर्न मिल्दैन ।’

1 COMMENT

  1. Hami aafai sajak hunu parxa jun shoyemsebak haru le gardaixan uni haru ko prasansa garnu parxa ra hamile uni haru prati garva garnu parxa , chahe uni haru gunda hos ya dada giri nai kina na dekhaos Tara yo sankat kalin avastha ma lakhar lakhar hidne haru prati karwai gardaixan kasai le ramro kaam garxan vane tesma aula khada garne yo patrakar ko khane vado vayeko xa aru kehi hoina….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here