महिलाको महिनामारीलाई लिएर ठूलै समस्याको समाधान निकालेका स्यानिटरी प्याड कम्पनीको टेलिभिजनमा भव्यसँग विज्ञापन आउँछ । साधारण छोटो क्रियाकलाप दर्शाउने चलचित्र मात्र नभएर मानिसको जीवनसँग निचोड भूमिका अनि भावनालाई कोट्याएर महशुस गर्न योग्य बनाउने त्यो हातपाउका औँला भाँचेर गन्दा गनिनसक्ने कम्पनीको भिन्न–भिन्न भनाइ र गुणलाई लिएर विज्ञापन प्रस्तुत गरिएको छ ।
ठूलै प्रतिस्पर्धामा लागेर ग्राहकवर्गमा स्यानिटरी प्याडको गुणस्तर अंक १ भन्दै चाहे झुटो या सही र बाकसबाहिरका स–साना चोटिला भनाइ समेटेर मानौं घेरा लगाएर आउने विज्ञापनले मानिसमा केही चेतना त अवश्य फैल्यायो र केही हदसम्म महिलाको जीवनको सहयोगी साथी भएर हामीमाँझ सर्वत्र उपलब्ध छ । साधारण किराना पसलदेखि औषधि पसलसम्म यो सजिलै पाउन सकिन्छ । तर, मानिसमा एकतर्फी दृष्टिकोणले मात्र आँखा भरिएपछि त्यसको नकारात्मक प्रभावमा आँखा नजाँदोरहेछ क्यार ।
वातावरणमा सजिलैसँग मिश्रित नहुने त्यो स्यानिटरी प्याड सार्वजनिक शौचालयमा फालिएको हुन्छ । विद्यालयको छात्रा शौचालयका पर्खाल पछाडि पोको पारेको देखिन्छ । न त हेर्ने रहर हुनु तर पनि त्यो पानी बग्ने काल्ना र पैनीको डिलमा कुकुरले कोट्याइ राखेको प्लास्टिकको झोलामा त्यही वस्तु देखिन्छ, जुन वातावरणमैत्री छैन । जान्नेले नै नियम मान्या छैन गीतको सन्दर्भ नेपालमा प्रख्यात छ र हामी जानी–जानी नियम उल्लंघन गर्न माहिर छौँ ।
घरायसी पुनःप्रयोग गर्न सकिने साधनलाई हेला गरेर चमत्कारी विज्ञापनको पछि लाग्ने हामी कतै वातावरण विनाशतर्फ हिँडिराखेका त छैनौ ? अवस्था र आवश्यकता अनुसार जाने कि पैसाले र विज्ञापन ले सहज बनाइ दिनेतर्फ जाने ? वातावरणमा क–कस्को हक छ र ? प्रयोग पूर्ण रुपमा नगरौँ भन्ने तर्फ यो लेखको भावना होइन तर महिलाको समस्या र महिलामैत्री आँगनको खाँचोलाई ध्यानमा राखेरै यो प्रश्न उल्लेख गरिएको हो । प्रयोगका ज्ञान बाँड्न विद्यार्थी, महिला समूह र समाज सेवा र परिवर्तन गर्न हिँडेको युवालाई विज्ञापनमा समेटिएको छ । तर त्यसको प्रयोगपछि के गर्ने, कसरी टुङ्गो लगाउने बारे कसैले व्याख्या गरेको छैन ? अब त्यसतर्फ पनि सोच्ने कि ?


























