झापा । 
झापाको गौरादह नगरपालिका–१ का सामाजिक व्यक्तित्व गणेशबहादुर गिरीको निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पिडित गिरीको ८४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो ।
विगत २ वर्ष देखि क्यान्सर रोगबाट पिडित गिरीको उपचार अमेरिकाको ओमाहामा उपचार गरिएको थियो । ं थप उपचार भारतको मेदान्त अस्पतालमा तथा काठमाडौको मेडिसिटीमा गरिदै आएको पारिवारिक स्रोतले जनाएको छ । स्व. गिरीको आजै अन्तिम संस्कार गरिएको छ । स्व गिरीले सन्यास आश्रम धारणा गरेको जनाइएको छ ।
पन्चायती व्यस्था शुरु भए लगत्तै गौरादहमा स्थायी बसोबास गर्न आएका गिरीलाई तत्कालीन गौरादह गाउँ पन्चायतको संस्थापक कै रूपमा लिने गरिन्छ । तत्कालीन समयमा गौरादह क्षेत्रमा रहेका कृयाशिल व्यक्तिहरु मध्ये गिरी पनि एक हुन् । तत्कालीन सबै सहयात्रीले बिदा लिएर गएता पनि गणेश बहादुर गिरी एक मात्र ज्युंदो इतिहासका रुपमा रहेका थिए ।
गिरीको निधनले गौरादहको इतिहासमा एउटा अध्याय नै समाप्त भएको छ । उनको मृत्युले एक युग पुरुषको अन्त्य भएको स्थानीय माझ चर्चा छ । आफ्नो जीवनकाल भरी सामाजिक क्षेत्रमा सदैव कृयाशिल हुँदै आएका स्व. गिरीले गौरादह बहुमुखी क्याम्पस स्थापनाको लागि एक बिघा जमिन दिएका थिए ।
उनले गौरादह क्षेत्रमा रहेका दर्जनौं मठ मन्दिरमा आर्थिक तथा भौतिक सहयोग गरेको पाइन्छ । सामाजिक क्षेत्रमा कृयाशिल साथै एक अब्बल कृषक समेत रहेका थिए । उनले गृह परिसरमा करिब १० कट्ठा क्षेत्रफलमा पोखरी खनेर माछापालन गरेका स्व. गिरीको पशुपालन व्यवसायमा समेत रुचि रहेकोे पाइन्छ ।
स्व. गिरीका दुई श्रीमतीसहित ११ छोराछोरी रहेका छन् । स्व. गिरी नेपाल दशनामी समाज झापा महिला समिति अध्यक्ष तथा बिर्तामोड नगर समिति सल्लाहकार पार्वता गिरीका पिता तथा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरीका काका ससुरा हुन् ।































