एकबुँदे सहमतिपछि भद्रपुरका तरकारी व्यवसायीको आन्दोलन फिर्ता

0
924

भद्रपुर ,

आन्दोलित भद्रपुरका तरकारी व्यवसायी सहमतिमा आएका छन्। प्रहरीले हातपात गरेको विरोधमा शनिबारदेखि आन्दोललनमा रहेका तरकारी व्यवसायीसँग एकबुँदे सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्।

झापा उद्योग वाणिज्य संघ भद्रपुरमा सोमबार बसेको सर्वपक्षीय बैठकमा दुवै पक्षबीच सहमति भएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए। लकडाउनको पालना गर्ने र गराउने विषयमा प्रहरी र व्यवसायी दुवैबाट कमीकमजोरी भएको बैठकले निष्कर्ष निकाल्दै यस्ता कमीकमजोरी आइन्दा नदोहोर्‍याउने, सरकारको निर्देशनबमोजिम सामाजिक दूरी कायम राख्दै तरकारी व्यवसायीले जहाँ पसल गरिरहेका छन्, त्यहीँ बिहान ८ बजेदेखि १२ बजेसम्म कारोबार गर्ने र प्रहरी जनताको साथी अवधारणअनुसार नगरमा काम गर्ने निर्णय भएको जनाइएको छ।

आन्दोलन फिर्ता लिएसँगै झापा उद्योग वाणिज्य संघलाई आइतबार बुझाएको चाबी फिर्ता लिइएको तरकारी व्यवसायी सन्तोष यादवले जानकारी दिए। संघका अध्यक्ष पनेरुको अध्यक्षता बसेको सर्वपक्षीय बैठकमा भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठ, वडाध्यक्षहरू प्रेम बरुवाल, बन्धु कार्की, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, राप्रपा नगरअध्यक्ष राधा कार्की, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीलगायत संघका पदाधिकारी र व्यवासयीहरुको उपस्थिति थियाे।

शनिबार बिहान भद्रपुर बजारमा वडा प्रहरी कार्यालय भद्रपुर र भद्रपुर नगरपालिकाका नगर प्रहरीले तरकारी व्यवसायीमाथि हातपात गर्दै नियन्त्रणमा लिएपछि उनीहरू त्यसको विरोधमा आन्दोलित बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here