भारतीय विस्तारवाद विरुद्ध कचनकवलमा राप्रविको विरोध प्रदर्शन

0
1716

भद्रपुर।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको चौतर्फी विरोध भइरहेको बेला नेपालकै होचो भूभाग कचनकवलमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले मङ्गलवार दिउँसो कचनकवल ६ स्थित बनियानी बजारमा भारत विरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । लक्ष्मी क्याम्पसको बाटोबाट निकालिएको विरोध र्‍याली बजार हुँदै बनियानी चोकमा आएर कोणसभा परिणत भएको थियो ।

विद्यार्थीहरूले भारतीय विस्तारवाद मुर्दावाद, लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो, नेपाली भूमि मिच्न पाइँदै, भारतीय सेना फिर्ता जा जस्ता नाराबाजी गरेका थिए ।

कोणसभामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य मुन्ना आलम, राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन कचनकवलका अध्यक्ष सन्तोष खतिवडा, शेर खान, विद्यार्थी नेताहरू विकास घिमिरे, उज्ज्वल कटुवाल, नवराज ढुङ्गाना, सुरज साह लगायतले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय सदस्य आलमले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नगरे सडक आन्दोलन गरी सरकारलाई दबाब दिने बताएका छन् । त्यस्तै विद्यार्थी नेता घिमिरेले एक दिन घरको चुलो बन्द गरेर भए पनि लिपुलेकमा गएर नेपाली भूमि फिर्ता गराउन सबै नेपाली एकजुट हुन बेला आइसकेको बताए ।

भारतको विस्तारवाद प्रवृत्ति विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने बेला आइसकेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here