बिर्तामोड ।

सरकारले क्वारेन्टाइन बनाउने खर्च आफुहरुलाई दिए झापाका होटलहरु प्रयोग गर्न दिने ब्यवसायीहरुले बताएका छन् । लकडाउनका कारण बन्द भएका होटलहरुमा कोरोना संक्रमित ब्यक्ति राखेर निगरानी गर्न सकिने र होटललाई नै क्वारेन्टाइन बनाउन सकिने होटल ब्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेतीले बताए ।
उनले हरेक स्थानीय तहले क्वारेन्टाइन निर्माणका लागि गर्ने खर्च होटललाई दिए आफुहरुले होटल प्रयोग दिने अध्यक्ष उप्रेतीले पूर्वाञ्चललाई जानकारी दिए । झापामा दश हजार होटल सञ्चालनमा रहेपनि पाँच हजार मात्रै दर्ता गरेर सञ्चालनमा रहेको र लकडाउनकान कारण ब्यवसायीहरुको ब्यवसाय नै धरापमा परेको उनले बताए । लकडाउनको समय लम्बिएसंगै आफुहरुको ब्यवसाय धरासायी बनेको होटल ब्यवसायी संघ झापाकी उपाध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।
उनले सरकारले यो अवस्थामा होटल ब्यवसायीहरुको घर भाडा छुट र बैंकको ब्याज मिनाहा हुनुपर्ने बताएकी छन् । उपाध्यक्ष श्रेष्ठले भनिन्– लकडाउनको पहिलो असर होटल ब्यवसायमा परेको छ । करोडौं ऋण कसरी तिर्ने चिन्ताले ब्यवसायीको भोकनिन्द्रा हराई सक्यो ।
लकडाउनको अवधिमा सरकारले होटल ब्यवसायीहरुलाई बैंकको ब्याज र घर भाडा छुट गराई दिए मात्रै ब्यवसायलाई निरन्तरता दिन सक्ने अवस्थामा होटल ब्यवसायी पुगेको उपाध्यक्ष श्रेष्ठले बताइन् । उनले ब्यवसाय सञ्चालनमा रहेको अवस्थामा आफुहरुले कहिले पनि छुट नमागेको भन्दै अप्ठ्यारो अवस्थामा मात्रै सहयोग मागिएको उल्लेख गरिन् ।
झापाका साना–ठूला होटलमा गरी करिब ५० हजारभन्दा धेरै कामदार रहेको र उनीहरुलाई कसरी मासिक तलब दिने भन्ने विषयमा सबैसंग छलफल गरेर अघि बढ्ने बताइएको छ । मदजुरको पारिश्रमिक हराउनु हुदैन भन्नेमा सबै ब्यवसायी संवेदनशिल रहेको उपाध्यक्ष श्रेष्ठले बताइन् ।
लकडाउन खुले लगत्तै पनि होटलहरु सञ्चलनमा आउने सम्भावना कम रहेकाले यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले बेलैमा ध्यान दिन ब्यवसायीहरुले आग्रह गरेका छन् । नेपालमा दिनप्रतिदिन कोरोनाका संक्रमितको संख्या बढ्दै गइरहेको र लकडाउन भएको सातौं हप्ता पुगि सकेकाले अब के गर्ने भन्नेमा ब्यवसायीहरु अलमलमा परेको जनाइएको छ । होटलहरु बन्द हुँदा झापामा दैनिक करोडौंंको कारोबार ठप्प भएको ब्यवसायीहरुको भनाई छ ।





























