खेतीबाटै लाखौं कमाउँछन् बलराम

0
1371

सुरेन्द्र भण्डारी

झापा, बाह्रदशी गाउँपालिका – ७ रुपचनवारीका बलराम राजवंशी लकडाउनको यो समयमा कृषि कर्म मै रमाउनु भएको छ । उहाँ अहिले तरकारी खेतीसंगै मकै भित्र्याउने हतारोमा हुनुहुन्छ । बिगत १०÷१२ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका राजवंशीले अहिले पनि झण्डै दुई विगाह क्षेत्रफलमा तरकारी खेती गर्नुभएको छ ।

खुर्सानीदेखि पर्बलसम्मको खेती गर्नु भएका राजवंशीले यो वर्ष तरकारी खेतीबाट तीनदेखि चारलाख रुपैयाँ आम्दानी गर्ने सोचमा हुनुहुन्छ । तरकारी खेती मध्ये ४५० बोट मात्र नामधारी खोर्सानी रोप्नु भएका राजवंशीले दुई पटक टिप्दा नै ४५ हजार रुपैयाँ आम्दानी गर्नुभयो । भर्खर खोसार्नी फल्न शरु गरेको छ उहाँले भन्नुभयो – उन्नत जातको राम्रो बीउ प¥यो भने थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिने रहेछ । यस पटक खुसार्नी बाटै नै झण्डै एक लाख रुपैयाँ आम्दानी गर्छु ।
राजवंशीले खोसार्नीसंगै करेला, लौका, बोडी, काक्रा,फर्सी, पर्वल, भिन्डी, चिचिन्डी, झिगनी साग लगायत झण्डै दश÷ वाह्र प्रजातिका तरकारी लगाउनुभएको छ । केहीले फल दिन शुरु गरेका छन् भने केही भर्खर रोपिएको छ । छिमल छिमल गरेर तरकारी खेती गरेका कारण काम गर्न पनि सहज हुने र वजार भाउ समेत राम्रो उपाउने हुँदा थोरै थोरै तरकारी वजार निकाल्दा पनि धेरै आम्दानी गर्न सकिने राजवंशी बताउनुहुन्छ ।

लकडाउनका कारण विगतका वर्ष भन्दा यो वर्ष बढी तरकारी बिक्री भएको उहाँको भनाई छ । सबै तिर बजार बन्द हुँदा व्यपारीले वारीबाटै तरकारी उठाए राजवंशीले भन्नुभयो – यो वर्ष तरकारीले भाउ पनि पायो बेच्ने झन्झट पनि भएन ।
वैदेशिक रोजगारीका लागि २०६० सालमा दुवई पुग्नु भएका बलरामले आफ्ना भाईहरुलाई पनि विदेश नै लानुभयो । चार वर्षसम्म विदेश बस्नु भएका राजवंशी क्यान्सर रोगका कारण आमाको निधनपछि विदेशी मोह त्याग्दै घर गृहस्थी सम्हाल्दै कृषि कर्ममा जुट्नुभयो । अहिले बलरामले कृषिबाटै विदेशको भन्दा राम्रो कमाई गरिरहनु भएको छ । विदेशको कमाई भन्दा खेतीबाट राम्रो कमाई हुन थालेपछि वलराम कृषिकर्म प्रति सन्तुष्ट हुनुहुन्छ ।

तरकारी खेतीसंगै बलरामले मकै खेती समेत गर्नुभएको छ । चार विगाह क्षेत्रफलमा व्यवसायिक मकै खेती गर्नु भएका राजवंशी अहिले मकै थन्क्याउन ब्यस्त हुनुहुन्छ । वर्णशंकर (हाइव्रेड) ९०८१ प्रजातिको मकै रोप्नु भएका राजवंशीले यो वर्ष ४ सय मन भन्दा बढी मकै उत्पादन गरेर चारदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्ने बताउनुभयो । तरकारी खेतीबाट वार्षिक तीन चार लाख र कमै खेतीबाट मात्रै चारपाँचलाख रुपैयाँ आम्दानी हुन्छ राजवंशीले भन्नुभयो – धान खेतीबाट पनि उत्तिकै आम्दानी हुने हुँदा कर्म गर्न सके स्वदेशमा विदेशको तुलनामा दोब्बर राम्रो आम्दानी हुने रहेछ ।

बाह्रदशी गाउँपालिकामा खेती गर्ने कृषक मध्ये बलरामलाई सफल कृषकका रुपमा लिने गरिन्छ । राजवंशीकै सिको गर्दै अहिले त्यस क्षेत्रमा धेरै किसानले व्यवसायिक खेती शुरु गरेको बाह्रदशी गाउँपालिका – ७ का वडा अध्यक्ष मित्र भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – राज्यले यस्ता किसानको पहिचान गर्दै अझ खेती गर्न प्रोत्साहन गर्न सकेको खण्डमा युवा विदेशिनुको सट्टा कृषि कर्म गरेरै मनग्य आम्दानी गर्न सक्ने थिए । गाउँपालिकामा भएको सिमित श्रोत र साधनले मात्र व्यवसायिक खेती गर्न किसानका लागि सबै सुविधा दिन नसक्ने हुँदा नेपालमा नै केही गर्छु भन्ने किसानलाई संघीय सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here