‘एकका लागि एक अभियान’मा जुट्यो ४२ लाख : विपन्नलाई घरमै खाद्यान्न

0
1425

सुरेन्द्र भण्डारी / झापा,

थोपा थोपा मिलेर नदी बन्छ, नदीहरू मिलेर सागर । यो भनाइ झापाको एक सानो अभियानबाट पनि सत्य सावित भएको छ । झापा चारपानेका महेन्द्रकुमार गिरीले विपद्को वर्तमान क्षणमा शुरु गरेको ‘एकका लागि एक अभियान’ नामको एउटा सानो अभियानले अहिले यहाँ ठूलो रुप लिएको छ र यसबाट विपन्न वर्गका धेरै मानिस लाभान्वित पनि हुन पुगेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइसर ‘कोभिड–१९’ को सङ्क्रमणका कारण लामो समयदेखि मुलुक बन्दाबन्दी भएसँगै विपन्न समुदायका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले एक महिनाअघिदेखि यो अभियान शुरु गरिएको थियो । यस अभियानअन्तर्गत समाजमा हुने खाने एक परिवारले नहुने अर्थात् विपन्नको एक परिवारलाई सहयोग पु¥याउने उद्देश्य राखिएको छ । यही सानो अभियान अहिले यहाँ लोकप्रिय बनेको मात्र होइन समाजका विपन्न वर्गका लागि पनि बरदान नै सावित भएको छ ।

यो अभियानको उद्देश्य कम्तीमा एक हजार विपन्न परिवारलाई सहयोग पु¥याउने रहेको छ । यस अभियानबाट लक्षित वर्गका लागि अहिलेसम्म रु ४२ लाख सङ्कलन भएको छ । यसरी सङ्कलित रकम स्थानीय तहको सहयोग लिएर विपन्न समुदायको पहिचान गर्दै उनीहरूलाई राहतस्वरुप वितरण पनि भइरहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत गिरीले अभियानको घोषणा गर्नुभएको थियो । गिरीले अभियानको घोषणा गरेसँगै अहिलेसम्म एक हजारजना यो अभियानमा जोडिएका छन् । देशदेखि विदेशसम्म बस्ने नेपालीले अभियान राम्रो भएको भन्दै निरन्तर सहयोग गरिरहेका छन् । सहयोगी मनले गरेको सहयोग सङ्कलनका लागि सहारा नेपाल सहकारी संस्थालाई सचिवालय बनाइएको छ । जहाँ सङ्कलित रकम र खाद्यान्न स्थानीय तहको सहयोगमा विपन्न परिवारको पहिचान गर्दै गिरीले घर घरमा पु¥याउने गर्नुभएको छ । जसका लागि केही व्यक्तिलाई स्वयंसेवकका रूपमा पनि राखिएको छ ।

साहरा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशकसमेत रहनुभएका गिरीले शुरुमा एक परिवारले एक परिवारका लागि रु दुई हजार सहयोग गर्दा हुने भने पनि दाताले स्वेच्छाले प्रदान गरेको रकम अहिले लिन शुरु गरिएको छ । दाताले अभियानका लागि अहिले रु दुई हजारदेखि रु एक लाखसम्म सहयोग गरिरहेका छन् ।

अभियानलाई सफल बनाउन बेलायतमा बस्ने ६२ जना नेपालीले बिहीबारमात्रै रु दुई लाख ७१ हजार ३१८ सहयोग पठाएका छन् । उनीहरूले झापामा सञ्चालन गरिएको अभियानलाई सफल बनाउन ‘होस्टेमा हैँसे’ गर्न सहयोग गरेको जनाएका छन् । बेलायतमा बस्ने नेपाली कोपिला सिटौला, सुरज सिटौला, रेनु उप्रेती, जया गिरीलगायतको अगुवाइमा सङ्कलित रकम बिहीबार अभियानका संयोजक गिरीलाई हस्तान्तरण गरिएको छ । सो रकम बिर्तामोड निवासी डिल्लीराम सिटौलाले प्रदान गर्नुभएको थियो ।

बेलायतवासी नेपालीले पठाएको सहयोग रकम ग्रहण गर्दै अभियानका संयोजक गिरीले महामारीको यो समयमा नागरिकको स्वास्थ्य सरकारले जिम्मा लिनुपर्छ खाना खुवाउन हामी आफैँ सक्षम छौँ भन्ने सन्देश दिन पनि झापाबाट यो अभियान शुरु गरिएको बताउनुभयो । परापूर्वकालदेखि नै नेपालीहरू सहयोगी हुने गरेको बताउँदै विपद्को यो क्षणमा सरकारको बाटो हेर्नुभन्दा आफ्ना छिमेकमा रहेका एक विपन्न परिवारलाई सहयोग गरे कोही पनि मानिस भोकै बस्नु नपर्ने गिरीको भनाइ छ ।

गिरीको अगुवाइमा शुरु भएको अभियानमा राहतस्वरुप एक विपन्न परिवारलाई २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल, दुई केजी आयो नुन, हातधुने साबुन प्रदान गरिँदै आएको छ । अभियानअन्तर्गत सहयोग जुट्ने क्रम जारी रहेको र दुई हजार ५०० परिवारलाई राहत सामग्री वितरण गर्न सकिने उहाँले बताउनुभयो । अभियानका लागि रु ४२ लाख सहयोग सङ्कलन भइसकेको बताउँदै गिरीले भन्नुभयो, “अझै धेरै दाताले म पनि सहयोग गर्छु भनिरहनुभएको छ हामीले योजना बनाइरहेका लक्षित वर्गका लागि आवश्यक रकम रु ५१ लाख पुगेपछि सहयोग सङ्कलन अभियान बन्द गर्ने सोचमा छु ।”

अभियानअन्तर्गत नै झापाका विभिन्न स्थानमा विपन्न नागरिकलाई निःशुल्क खाना खुवाउने गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिकाको वानस्टप महल अगाडि एक सातादेखि निःशुल्क खाना खुवाइँदैछ भने कनकाई माईको पूर्वी तटमा पनि विपन्न परिवारका लागि निःशुल्क खाना खुवाउन शुरु गरिएको अभियान संयोजक गिरीले बताउनुभयो ।

अस्पतालमा रहेका बिरामी कुरुवा, सडकमा आश्रित नागरिक, पैदल हिँडेर विभिन्न ठाउँबाट आएका नागरिकलाई लक्षित गर्दै खाना खुवाउन शुरु गरिएको र दैनिक पाँचदेखि ६०० जनाले खाना खाने गरेको खाना व्यवस्थापन उपसमिति संयोजक सञ्जीव घिमिरेले बताउनुभयो । ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैँ अभियानका लागि अहिले १८ वटा सङ्घसंस्था जोडिएका छन् ।

कोरोना भाइरसको जोखिम शुरु भएसँगै झापामा रहेका स्थानीय तहले राहत वितरण कार्यक्रम शुरु गरेका थिए । एक साताका लागि पहिलो चरणमा राहत सामग्री वितरण गरिए पनि लकडाउन लम्बिँदै जाँदा विपन्न परिवारलाई सकस भएपछि पुनः दोस्रो चरणमा पनि स्थानीय तहले दाता र सङ्घसंस्थाको सहयोगमा राहत वितरण गरेका थिए ।

स्थानीय सरकारका जनप्रतिनिधिले विपन्न वर्ग छनोट गरी सीमित राहत प्याकेज उपलब्ध गराए पनि सहयोग गरिएको राहत सामग्री सकिएपछि त्यस्ता परिवारको पहिचान गर्दै अहिले राहत सामग्री प्रदान गरिँदै आएको छ । अभियानअन्तर्गत झापाका १५ वटै स्थानीय तह र मोरङ तथा सुनसरीमा समेत राहत सामग्री वितरण गरिन्छ अभियान संयोजक गिरीले बताउनुभयो ।

वीरता जेसिजका पूर्वअध्यक्ष तथा झापा गोल्डकपका संयोजक विनोद बस्नेतका अनुसार एक व्यक्तिले शुरु गरेको अभियानमा यत्तिकै धेरै नागरिकको साथ रहनुले पनि नेपाली आफैँमा सहयोगी हुन्छन् भन्ने सिद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैले इमान्दारीपूर्वक यस्तै अभियान चलाएर विपन्न परिवारलाई सहयोग गर्ने हो भने झापामात्रै होइन नेपालमा कोही नागरिक भोकभोकै बस्नु पर्दैन ।”

गिरी कार्यरत सहकारी सहारा नेपालले यसअघि रु ५० लाखको राहत कोष खडा गर्दै विपन्न परिवारका लागि सहयोग गरेको थियो । सहयोग रकमले प्रदेश नं १ का ६ जिल्लामा राहत सामग्री वितरण गरिएको थियो । १ नं प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा राहत वितरणसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागिसमेत पिपिइ सेट, मास्क, पञ्जासहित स्वास्थ्य सामग्री खरिद र क्वारेन्टाइनमा रहेकालाई खाना खुवाउने कार्यक्रम गरिएको थियो ।

अभियानका संयोजक गिरीले यसअघि सहारा नेपालकै अगुवाइमा ‘सङ्कल्प अभियान’ घोषणा गर्नुभएको थियो । गरिब तथा विपन्न परिवारका नागरिकलाई रोगबाट बचाउन उनीहरूको उपचारका लागि जिल्लास्तरीय रु १० करोडको कोष खडा गर्ने गरी ‘सङ्कल्प अभियान’ समेत शुरु गरेका गिरीकै अगुवाइमा समर्पण राष्ट्रिय अभियानमार्फत कनकाई नगरपालिकास्थित कोटीहोममा अहिले सुविधासम्पन्न कर्मयोग भवन निर्माणाधीन छ ।

तीन चरणमा निर्माण सम्पन्न गरिने भवनको अहिले पहिलो तला निर्माण सम्पन्न भएको छ । रु १० करोडको लागतमा निर्माण सम्पन्न हुने भवनको पहिलो चारणमा रु दुई करोडको लागतमा चार परिवारलाई काजक्रिया गर्न मिल्नेगरी १६ कोठा, कार्यालय र सर्पदंश उपचार केन्द्रसमेत स्थापना गरिएको छ । जहाँ सर्पदंशका बिरामीले सेवा लिइरहेका छन् ।

झापाका ६८ सामाजिक सङ्घसंस्थाको साझेदारीमा समर्पण राष्ट्रिय अभियान सञ्चालन गर्दै रु दुई करोड जुटाएर कनकाइमाईको पूर्वी तटमा कर्मयोग (मृत्युपछि गरिने अन्तिम संस्कार, काजक्रिया) भवन निर्माण गर्दै उदाहरणीय काम गर्नुभएका गिरीले यसपटक महामारीको समयमा यसको मारमा परेका गरिब तथा विपन्न वर्गलाई लक्षित गरेर सञ्चालन गरेको ‘एकका लागि एक’ अभियानमा पनि सबैले साथ दिएका छन् । स्थानीयवासीको विश्वास र उहाँले विगतदेखि इमान्दारीपूर्वक र पारदर्शीरूपमा गर्दै आउनुभएका कार्यका कारण यसपटक पनि स्थानीय बासिन्दाले साथ दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here