झापा,
कोरोना भाइसर कोभिड १९ को संक्रमणका कारण मुलुक अहिले बन्दाबन्दीमा छ । झण्डै दुई महिनादेखि मुलुक बन्दाबन्दी हुँदा मानिसको आवत जावतसहित सबै क्षेत्रको काम समेत अहिले ठप्प छन् । तर, झापाको बाह्रदशी गाउँपालिकामा भने बन्दाबन्दीको यो अवधिमा बिकास निर्माणका कामलाई तीब्रता दिइएको छ । अहिले कनकाई नगरपालिका – ९ र वाह्रदशी गाउँपालिका ७ को सिमाना लकडीगद्दी चौकदेखि बाह्रदशी गाउँपालिका – ४ को राधानगरसम्मको ११.५ किलोमिटर सडकको निर्माणकार्य धमाधम हुँदैछ । बन्दाबन्दीको यो समयमा निर्माण कम्पनीले सडक निर्माणकार्यलाई तीब्रता दिएसगै सडक निर्माणको काम तीब्ररुपमा अघि बढेको हो ।
प्रदेश नम्वर १ अन्तरगत मुख्यमन्त्री सडक परियोजनाको ७६ लाख रुपैयाँ र बाह्रदशी गाउँपालिकाको १९ लाख रुपैयाँको लागतमा अहिले कनकाई नगरपालिका – ९ र वाह्रदशी गाउँपालिका ७ को सिमाना लकडीगद्दी चौकदेखि बाह्रदशी गाउँपालिका – ४ को राधानगरसम्मको सडक निर्माणको काम भइरहेको छ ।
विश्वभर कोरोना भाइरसको सन्त्रास छाइरहेका बेला बाह्रदशी गाँउपालिका भित्र विकास निर्माणका कामलाई तीव्र बनाइएको छ । एकतिर रोगको चिन्ता छ नै त्यसमाथि पनि विपन्न वर्गमा भोगको समेत उत्तिकै चिन्ता छ । विपन्न समुदायका मजदुरले सडक निर्माणको काम गर्न उत्साह देखाएपछि निर्माण कम्पनीले पनि सडक निर्माण कार्यलाई सुचारु गरेको हो । सडक निर्माण कार्य शुरु भएसंगै बाह्रदशी गाउँपाकिका जनप्रतिनिधि समेत खुशी देखिएका छन् । वाह्रदशी गाउँपालिका – ७ का वडा अध्यक्ष मित्रराज भट्टराईले सडक निर्माणसंगै बाह्रदशी गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने बताए ।
सडक नवन्दा वर्षैदेखि सास्तै झेल्दै आएका त्यस क्षेत्रका सर्वसाधारण समेत अहिले हर्षित देखिएका छन् । उनीहरु सडक निर्माणसंगै यस क्षेत्रको मुहार फेरिनेमा ढुक्क छन् । सडक निर्माणसंगै कनकाई नगरपालिका ९का स्थानीयवासी र वाह्रदशी गाउँपालिकावासीलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । वाह्रदशी गाउँपालिकाको रिङरोड सडकका रुपमा रहेको सो सडक वहुवर्षिय योजना अन्तरगत निर्माण भइरहेको छ ।
वहुवर्षिय योजना अन्तरगत निर्माण भइरहेको सडक निर्माणको काम असार २० ÷२१ भित्र सम्पन्न गर्नुपर्ने भएकाले लकडाउनको यो अवधिमा पनि त्रासका बीच सुरक्षा सचेतना अपनाएर आफूहरुले सडक निर्माणको काम गरिरहेको शिदार्थ सृष्टि कन्ट्रक्सनका अध्यक्ष किरण मैनालीले बताउनुभयो ।
बाह्रदशी गाउँपालिकाले यो सडक सहित अन्य बिकास निर्माणका कामलाई समेत तीब्रता दिएको छ ।





























