झापाका काेराेना संक्रमित मुम्बईबाट रेल चढेर आएका थिए

0
1273

भद्रपुर,

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। कचनकवल गाउँपालिका ६ बनियानी बस्ने २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।

योसँगै झापामा सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ। यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये बाह्रदशीका पुरुष निको भइसकेका छन्। कचनकवलमा कोरोना पुष्टि भएका पुरुष गत शनिबार भारतबाट फर्किएका हुन्।

उनीसँगै त्यो दिन पाठामारी नाकाबाट ३३ जना प्रवेश गरेका थिए। उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरू भारतमा रेल चलेपछि घर फर्किएका हुन्। उनीहरू सबै जना दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवाहरू भएका कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।

ती युवालाई पथरिया क्वारेन्टाइनमा राखिएको छ। उनको स्वाब कोसी अञ्चल अस्पताल विराटनगर पिसिआर परीक्षणका लागि पठाइएको थियाे। उनीसहित ३३ जनाको स्वाब पिसिआरका लागि पठाएको थियाे। त्यसमध्ये १० जनाको रिपोर्ट आएको हाे। २३ जनाको रिपोर्ट आउन बाँकी रहेको चाैलागाईले बताए।

अब कोरोना सङ्क्रमितलाई उपचारका लागि कोसी अस्पताल पठाइने उनले बताए। यता दक्षिणी झापाको कचनकवलबाट सयौँ सङ्ख्यामा नेपाली नागरिक भारतको विभिन्न राज्यमा रोजगारीका लागि गएका छन्। भारतमा कोरोना फैलिएपछि उनीहरू त्यहाँबाट स्वदेश फर्किन थालेका छन्।

भारतबाट युवाहरू आउन थालेपछि कचनकवल कोरोनाको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष आलमले बताए। भारतबाट लुकिछिपी आउनु भन्दा सम्पर्क गरेर आउन उनले सबैमा आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here