सङ्खुवासभाका अलपत्र २३ जनाको उद्धार

0
629

खाँदबारी,

खाँदबारी– सुनौल नाकामा अलपत्र परेका सङ्खुवासभाका २३ जनालाई उद्धार गरिएको छ । अलपत्र परेकालाई मादी नगरपालिकाको पहलमा उद्धार गरिएको मादी नगरपालिका नगरप्रमुख विदुर सुब्बा लिङ्थेपले जानकारी दिनुभयो ।

मजदुरीका लागि भारत गएका उनीहरू रातरात भागेर २४ दिनअघि सुनौल नाकाबाट नेपाल प्रवेश गरेका थिए । भारतबाट लकडाउन छल्दै नेपाल प्रवेश गरेका उनीहरूलाई रुपन्देही प्रशासनले पक्राउ गरेर क्वारेन्टिनमा राखेको थियो । स्थानीय प्रशासनले जिल्लामा राख्ने क्वारेन्टिन भरिएपछि सङ्खुवासभालाई आफ्ना नागरिक लैजान अनुरोध गरेको थियो ।

नाकामा क्वारेन्टिन भरिएर राख्ने ठाउँ नभएपछि आफ्नो नागरिकलाई उद्धार गरेको नगरप्रमुख लिङ्थेपले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि विभिन्न नाकाबाट नेपाली भित्रिने क्रम नरोकिएका कारण नाकामा क्वारेन्टिन भरिन थालेपछि रुपन्देहीको स्थानीय प्रशासनले हामीलाई अनुरोध गरेको हो ।”

सुनौल नाकाबाट लुकेर नेपाल प्रवेश गरेका सङ्खुवासभाका २३ जनालाई सुनौल नाकाको क्वारेन्टिनमा राखिएको थियो । सुनौल नाकाबाट उद्धार गरिएका मादीका नौ, चैनपुरका पाँच र खाँदबारी नगरपालिका एक जनालाई धर्मदेवी नगरपालिका–४ पिलुवामा बनाइएको क्वारेन्टिनमा राखिएको छ भने पाँचखपन नगरपालिकाका सातलाई पाँचखपनकै क्वारेन्टिनमा राखिएको छ ।

त्यस्तै सभापोखरीका एकलाई सभापोखरीकै क्वारेन्टिनमा राखिएको छ । उनीहरू सबैलाई आ–आफ्नो गाउँ तथा नगरपालिकाको खर्चमा उद्धार गरिएको मादी नगरप्रमुख लिङ्थेपले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here