मृत्यु भएको नौ दिनपछि कोरोना पुष्टि, मलामी खोज्‍न थालियो

0
1023

बारा,

उपचारका क्रममा मृत्यु भएर दाहसंस्कार गरेको नौ दिनपछि बारामा एकजनामा कोरोना पुष्टि भएको छ। करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय वृद्धको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ। कोरोना पुष्टि भएका वृद्धको नौ दिनअघि वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।

उनको अन्त्येष्टि भइसकेको छ। उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनःपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए।

तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो। करैयामाई–७ का वडा अध्यक्ष विरिज चौधरीले नेशनल मेडिकलमा उपचारको क्रममा जेठ ४ गते मृत्यु भएका बृद्धको पुष्टि गरेका छन्। उनले आफुले सञ्चारकर्मीहरुबाट रिर्पोटबारे जानकारी पाएको बताए।

धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि भइसकेको जानकारी दिए। उनले मलामीमा कतिजना सहभागी थिए भन्‍ने बुझ्‍न सुरु गरेको जानकारी दिए। जेठ २ गते अस्पतालमा भर्ना भएका थिए भने त्यसको दुई दिनपछि ४ गते उनको मृत्यु भएको हो।

मृतकमा क्षयरोग, दम लगायतको समस्या देखिएको थियो। ४ वर्षअघि नहरमा लडेर घाइते भएपछि उनमा विभिन्‍न रोगले आक्रान्त पारेका कारण कमजोर अवस्थामा थिए।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here