मुल गेटमै कुटिए प्रहरी

0
462

नरेन्द्र रिमाल
फिदिम,साउन २२ । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत दुईजना प्रहरी मादक पदार्थ सेवन गरेर आएका युवाको समूहवाट मुल गेटमै कुटिएका छन ।
जिल्ला प्रहरी कार्यालयको मुल गेटमा सेन्ट्री बसेका तिलबिक्रम राई र बिक्रम राई आइतवार राती १ बजे स्थानीय धनजंग घिमिरे,लिलाजंग घिमिरे र अनन्द राईबाट निर्घात कुटिएका हुन् ।
कुटिएका मध्ये तिलबिक्रम राईको स्थानीय अस्पतालमा उपचार हुन नसक्दा भारतको शिलिगुडी स्थित चाङ अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत सञ्जिवबाबु खड्काले जानकारी दिए ।
खड्काका अनुसार तिलबिक्रमको टाउको र कञ्चटमा गम्भीर चोट लागेको छ भने दाहिने हातको कान्छी औंला पनि काटिएको छ ।
अर्का प्रहरी जवान बिक्रम राईको शरीरमा सामान्य चोट लागेको छ । मध्यरातमा मादक पदार्थ सेवन गरेर जिल्ला प्रहरी कार्यालय पाँचथरको गेटमा पुगेका ती युवाले पहिले सेन्ट्रीमा खटेका तिलबिक्रमसँग बिबाद गर्दै लाठी र मुक्का प्रहार गरेका थिए । तिलबिक्रमलाई कुटपिट गर्न थालेपछि गेट बाहिर निस्केका बिक्रम माथि पनि युवाहरु जाही लागेको प्रहरीको दाबी छ ।
त्यसपछि युवा र प्रहरीबीच बिबाद बढेपछि भेला भएका सर्वसाधारणलाई प्रहरीले निर्घात कुटपिट गरेको पीडितले दाबी गरेका छन् ।
रातको समयमा होहल्ला भएपछि घर बाहिर निस्केपछि प्रहरीले स्थानीयलाई कुटपिट गर्दा स्थानीय श्रीप्रसाद घिमिरे र देवजंघ घिमिरे घाइते भएका छन् ।
यता प्रहरीलाई आक्रमण गर्ने युवाहरुलाई भने सोमवार सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्वा दर्ता गरिएको पाँचथरका प्रहरी प्रमुख दीपसमशेर राणाले जानकारी दिए ।