प्रयोगशाला बनिनु पर्छ

0
716

सम्पादकीय

कोरोना भाइरस रोकथाम, उपचार तथा नियन्त्रण समिति झापाको निर्णय अनुसार भद्रपुरमा बनाउने भनिएको अस्पताल तयारीकै बीच विवादमा परेको छ । जिल्ला समन्वय समिति , जिल्ला प्रशासन कार्यालय र राजनीतिक दल सम्मिलित समितिले मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना उपचार अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । समितिले स्थानीय र वडा सरकारसँग समन्वय नै नगरी निर्णय गरेको र कोरोना अस्पताल सञ्चालन गर्दा हुनसक्ने जोखिम र असरको मूल्यांकन नगरेको भन्दै सम्बन्धित वडाध्यक्ष तथा स्थानीय बासीको भेलाले संघर्ष समिति नै बनाएर बिरोधमा उत्रिएका छन्। अस्पताल सञ्चालन गर्ने जस्तो सार्वजनिक महत्व र संवेदनशील विषयमा स्थानीय तहसॅग समन्वय र छलफल नगर्दा महामारी रोकथाम, उपचार र नियन्त्रणको मूल मुद्दा नै ओझेलमा पर्ने भएको छ।

भाइरसबाट सङ्क्रमण फैलिएर विश्व समाजलाई आतंकित तुल्याएको छ । यस्तो बेला हामी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेकाहरूको जीवन कसरी रक्षा हुन्छ प्रश्न अनुत्तरित छ । कोरोनाबिरूद्धको लडाइँमा ठूला, बिकसित र समृद्ध भनिएका देशहरू नै पराजित भइरहेका बेला हामी भने सङ्क्रमितलाई उपचार होइन परीक्षण गर्न पनि सकिरहेका छैनौं । क्वारेन्टीनमा रहेकाले परीक्षण गर्नै नपाई मृत्यु वरण गर्नु पर्ने विवशतामा छौं हामी। महामारी पहिचान भएको छ महिना बितिसक्दा समेत रोकथाम र नियन्त्रणका लागि विश्वासयोग्य उपचार पाइने अबस्था छैन। सङ्क्रमणको जोखिम भारतबाट आएका नेपालीमै बढी देखिएको छ तर त्यसैलाई ब्यवस्थित गर्न सकिएको छैन । दिनहुँ हजारौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् तर तिनलाई सुरक्षाको समुचित प्रबन्ध गर्न नसक्दा जोखिम झन् बढ्दै छ।


सङ्क्रमितहरू थपिने क्रममा छन्। सीमावर्ती अन्य जिल्लाहरू जस्तै झापा पनि सङ्क्रमणको जोखिममा छ। अझ कचनकबल गाउँपालिकामै सबैभन्दा धेरै सङ्क्रमित देखिएका छन् । दक्षिणमा कचनकबल र पूर्वमा भारतसँग जोडिएका कारण जोखिममा रहेको भद्रपुरले साबधानी र सजगता नअपनाउने हो भने ठूलै क्षति हुनसक्छ । यसअर्थमा स्थानीय जनप्रतिनिधि र नगरबासीको सतर्कता जायज नै हो । तर अस्पतालका लागि प्रदेश सरकारले प्रदान गर्ने पीसीआर परीक्षण मेसिन अन्यत्र नजाओस् त्यसतर्फ पनि गम्भीर हुनु पर्छ । अस्पताल सञ्चालन गर्न आबश्यक पूर्वाधार, जनशक्ति र वातावरण समेतको मूल्यांकन गरी मेची अस्पतालको निर्माणाधीन भवनमा सञ्चालन गर्ने तयारी गरेको हुनसक्छ तर स्थानीयले भने जस्तै मानव स्वास्थ्यसॅग जोडिएका अन्य सेवा प्रदायक संस्था र तिनले प्रवाह गर्ने सेवामा पर्न सक्ने असरलाई पनि बेवास्ता गर्न मिल्दैन ।

झापामा मात्रै अहिलेसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ । उनीहरूको धरान र बिराटनगरमा उपचार भइरहेको छ । दिनहुँको बढ्ने क्रमले ती अस्पतालहरू यथेष्ट नहुने निश्चित छ । यस्तोमा पूर्वी नेपालका सेवा दिनु पर्ने बिरामीका लागि उपयुक्त ठाउँको पहिचान गरी अस्पताल सञ्चालन गर्न ढीला गर्नु हुॅदैन। भद्रपुरबासीको बिरोध र सुझाबको समेत उचित संम्बोधन गरेर कलबलगुडीमा भए पनि अस्पताल सञ्चालन गर्नु अहिलेको मुख्य आबश्यकता हो।आधुनिक र गुणस्तरीय प्रयोगशाला मेचीबासीकै लागि उपयोगी हुन्छ भन्नेमा विमती नहुन सक्छ । कोरोना उपचार अस्पताल भबिष्यका लागि यस्तै नयाँ सङ्क्रमणका लागि समेत उपयोगी हुनसक्छ भन्ने कुरा पनि बिर्सनु हुँदैन । यसले झापावासीलाई फाइदा नै हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here