झापाका सात वटा स्थानीय तहमा पुग्यो कोरोना, संक्रमितको संख्या १११

0
1049

भद्रपुर,

झापाका स्थानीय तहमा कोरोना भाइरसका सङ्क्रमण फैलिरहेको छ। गौरीगञ्ज गाउँपालिकामा आइतबार चार जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै जिल्लाका १५ वटा स्थानीय तहमध्ये सात वटामा संक्रमण फैलिएको छ।

योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ११ पुगेको छ। कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

उनका अनुसार गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो। भारतको सङ्क्रमित क्षेत्र मुम्बई तथा गुजरातबाट उनीहरू जेठ १५ गते स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएका उनीहरूलाई सोझै गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा लगेर राखेको थियो।

उनीहरूको स्वाब त्यहीबाट संकलन गरी परीक्षणका लागि पठाइएको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि धरान वा विराटनगर कहाँ पठाउने भनी छलफल भइरहेको छ। यसअघि जिल्लाको कचनकवल गाउँपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन्।

गाउँपालिकामा ७३ जना सङ्क्रमित भेटिएका छन्। त्यसैगरी बाह्रदशी र गौरादहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित थपिएका थिए। दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन्। जिल्लामा पछिल्लो पटक भेटिएका सङ्क्रमित भारतसँग जोडिएका स्थानीय तहहरूमा फेला पर्न थालेका छन्।

दमकबाहेक संक्रमित भेटिएका ६ वटा स्थानीय तह सीमा नाकासँग जोडिएका छन्। त्यहाँ आउने सबै भारतबाट आएका व्यक्ति हुन्। दमकमा मात्र दुबईबाट आएका एक पुरुषबाट उनका बुबामा कोरोना पोजेटिभ सरेको थियो। झापामा पुष्टि भएका सङ्क्रमित प्रदेश १ कै जिल्लामा सबैभन्दा बढी हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here