सबै वडामा स्वास्थ्य चौकी बनाउँदै बाह्रदशी गाउँपालिका

0
1201

सुरुङ्गा,

बाह्रदशी गाउँपालिका–७ स्थित डाँडागाउँमा स्वास्थ्य चौकी निर्माण शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन् ।

यसअघि स्थानीयवासी कनकाई नगरपालिकामा रहेको सुरुङ्गा प्राथमिक स्वास्थ्य चौकी जाने गरेका थिए । गाउँपालिका–७ स्थित डाँगीवारीमा स्वास्थ्य चौकी रहे पनि विरिङ खोलाका कारण त्यस क्षेत्रका सर्वसाधारण सामान्य उपचारका लागिसमेत कनकाई नगरपालिका धाउन बाध्य थिए । स्थानीय समाजसेवी डम्बरबहादुर निरौलाको स्मृतिमा उहाँको परिवारले आधारभूत स्वास्थ्य चौकी निर्माणका लागि डेढ कट्ठा जमिन प्रदान गरेपछि डाँडागाउँमा स्वास्थ्य चौकी निर्माण थालिएको स्थानीयवासी भीम बस्नेतले जानकारी दिनुभयो ।

एकचालीस लाख ५५ हजार ९२९ रुपैयाँ २८ पैसाको लागतमा निर्माण शुरु गरिएको हो । आज बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले सो स्वास्थ्य चौकीको शिलान्यास गर्दै प्रत्येक वडामा स्वाथ्य चौकी निर्माण गर्दै सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका लागिपरेको जानकारी दिनुभयो । वडा नं १ स्थित भागुडुब्बा र बाह्रदशी–७ स्थित डाँडागाउँमा एकैपटक स्वास्थ्य चौकी निर्माण शुरु गरिएको छ ।

यसअघि बाह्रदशी–६ मा स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने वडा नं ५ मा पनि स्वास्थ्य चौकी निर्माण भइरहेको जनाइएको छ ।

विसं २०७७ पुस ९ गते निर्माण सम्पन्न गर्ने गरी समता÷नेपाल पूर्वाधार जेभी बिर्तामोडले भवन निर्माणको काम शुरु गरेको छ । आफ्नै ठाउँमा स्वास्थ्य चौकी बन्दा बुढेसकालमा सहजता हुने भन्दै आफूले स्वास्थ्य चौकी निर्माणका लागि जमिन प्रदान गरेको बुद्धिमाया निरौलाले बताउनुभयो ।

बाह्रदशी गाउँपालिकाको वडा नं ७ लाई विरिङ खोलाले दुई भागमा विभाजन गरेपछि डाँडागाउँका सर्वसाधारण कनकाई नगरपालिकाको सुरुङ्गासम्म स्वास्थ्य सेवा र अन्य कामका लागि जाने गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजवंशीको विशेष पहलमा सङ्घीय सरकारमार्फत बजेटको व्यवस्थापन गर्दै स्वास्थ्य चौकी निर्माण शुरु भएसँगै त्यस ठाउँका नागरिकले अब आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन सक्ने बाह्रदशी गाउँपालिका–७ का वडाध्यक्ष मित्र भट्टराईले जानकारी दिनुभयो ।

लकडाउन जारी रहँदा पनि आफ्नो ठाउँको विकास निर्माणका काममा गाउँपालिकाले विशेष पहल गरिरहेको भन्दै त्यस क्षेत्रका स्थानीयवासीले सहयोग पु¥याउँदै आएका छन् । गाउँपालिकामा अहिले विकास निर्माणका कामले तीव्रता पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here