झापामा जनस्तरबाटै पीसीआर प्रयोगशाला स्थापनाको निर्णय

0
1787

बिर्तामोड।

‘एकका लागि एक’ अभियानले झापामा कोभिड–१९को संक्रमण परीक्षण गर्न पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

बुधबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम शुरु गर्ने भएको उनले बताए ।

प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि अभियानले संघ–संस्था र व्यक्तिलाई सहयोगको अपिल पनि गरेको सहसंयोजक बिनोद बस्नेतले बताए । देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएको उनको भनाइ छ ।

झापाका संक्रमितहरुको संख्या बढिरहेको छ । थप झापालीहरु भारत र तेस्रो मुलुकबाट आउने क्रममा रहेको हुँदा संक्रमितको संख्या अझ बढ्ने निश्चित भएकाले प्रयोगशाला निर्माणमा अभियानले चासो देखाएको हो । कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पीसीआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।

प्रदेश १का १४ र प्रदेश २को सप्तरीबाट संकलन गरिएको स्वाब विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको छ ।

बैठकमा अभियानका साझेदार संस्थाहरु सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा र उपहाखा बिर्तामोड, जिल्ला सहकारी संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च झापा, वीरता जेसीज, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ सुरुङ्गाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, राष्ट्रिय सहकारी बैंक, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, जेसीज पूर्वअध्यक्ष समाज, बिर्तामोड उद्योग वाणिज्य संघ, झापा गोल्डकप र मेची पोट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सम्वाद समूहले गरेको हो । प्रयोगशाला स्थापना तथा सञ्चालनका लागि प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने बताइएको छ ।

यसैबीच, अभियानको कोषमा हालसम्म ५७ लाख ४१ हजार ९ सय २९ रुपैयाँ जम्मा भइसकेको छ । पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाउँदै आएको छ ।

अभियानलाई देश तथा विदेशमा रहका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको छ ।

बैठकमा अभियानका साझेदार संस्थालाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेको छलफलमा प्रयोगशालाका आवश्यकता र प्राविधिक पक्ष बारे रेडक्रस झापाका सभापति लोकराज ढकाल, बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटीले प्रष्ट पारेका थिए भने साझेदार संस्था जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले सुझाव राखेका थिए ।

त्यस्तै साझेदार संस्थाहरुको तर्फबाट छलफलमा पंकज घिमिरे, हरि शर्मा, भोला धिताल, लीलाप्रसाद चिमरिया, सन्तोष अग्रवाल, शिव अग्रवाल, सञ्जीव घिमिरे, अर्जुन चुडाल, नवीन कोइराला, जितबहादुर कार्की, भूपाल कटुवाल, कविन्द्र रेग्मी, मोहनकुमार पोखरेल, पदमलाल भट्टराई, प्रकाश शिवाकोटी, केदार गिरी, निकिता गिरी, निर्मल भट्टराई, मदन गोपाल सुब्बा, छविलाल खतिवडा, कुमारमणि पोखरेल, शिव कँडेल, मिजास पोखरेल, भवानीप्रसाद दंगाल, नरेन्द्रप्रसाद बराल, शारदाप्रसाद थपलिया, जेके गुरुङ लगायतले राय सुझाव राखेका थिए ।

पूर्वेली क्लब र गौरादह उवा संघको सहयोग

एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् ।

अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । पूर्वेलीका अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्ष कुशल खतिवडा र पूर्वअध्यक्ष रमेश चौधरी तथा संघका अध्यक्ष जीतबहादुर कार्की र वरिष्ठ उपाध्यक्ष भूपालराज कटुवालले अभियानलाई सहयोग रकम प्रदान गरेका थिए ।

अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९ सय २९ रुपैयाँ जम्मा भइसकेको छ । अभियानलाई देश तथा विदेशमा रहेका ५२ वटा संघ–संस्था र ६ सय २१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६ सय ९६ रुपैयाँ बचत रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here