आजदेखि देशभर बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला, इलाममा शनिबारबाहेक नियमित पसल खुल्ने

0
1230

काठमाण्डौ ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आजदेखि आजदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने निर्णय गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा व्यापारी तथा व्यवसायी पेसाबाटै पलायन हुने र रोजीरोटी नै गुम्ने अवस्था आएकोले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने निर्णय गरेको महासङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो ।

सरकारले लकडाउनलाई निरन्तरता दिएको, लकडाउन खुलाउने पहल नगरेको तर कर तिर्न भने ताकेता गरिरहेको अवस्थामा अझै लकडाउन लम्बिने र व्यापार–व्यवसाय बन्द हुने हो भने पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएकोले रहरले नभइ बाध्यताले यस्तो निर्णय गर्नुपरेको महासङ्घले जनाएको छ ।

बजार पसल खुला भए पनि कोरोनाको जोखिम कम गर्न न्यूनतम दुरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नेलगायत विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भनेको मापदण्ड अनुसारको सावधानी अपनाइने महासङ्घले जनाएको छ ।

सरकारले पसल खोल्न नदिए राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याज र कर्मचारीको तलवको जिम्मा सरकारले लिनुपर्ने महासङ्घका अध्यक्ष कटुवालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच इलाममा अब नियमित रुपमा बजार सञ्चालन भएको छ । लकडाउनले उद्योग व्यवसायीलाई मात्र नभएर सर्वसाधारणलाई समेत असर पर्न गएकाले बिहीबारबाट इलाममा बजारका अधिकांश पसलहरु खोल्ने निर्णय गरिएको हो ।

बुधबार इलाम उद्योग वाणिज्य सङ्घ इलामले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सरकारको मापदण्ड अनुसार नै सुरक्षित रहँदै बजारका पसलहरु खोलिने बताइएको छ । हरेक दिन बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म जोखिमपूर्ण पसलबाहेकका सबै पसल सञ्चालन गर्न पाइनेछ । सम्पूर्ण बैंक, वित्तीय संस्थाहरु भने बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरलाल चिपालुले बताउनुभयो ।

बजार खोलिने सीमित समय मात्र हुँदा बजारमा भिडभाड बढ्ने र जोखिम पनि हुने भएकाले नियमित रुपमा बजार सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ । पसल खोल्दा हरेक पसल अगाडि साबुन पानीको व्यवस्था गर्नुपर्ने, पसलका हरेकले माक्स, पञ्जा अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

पसलमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था अनिवार्य गरिएको छ । धेरै भिडभाड हुने ठाउँमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सुरक्षा घेरासमेत व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नै निर्माण गरेर मात्र व्यवसाय गर्न पाइने सङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here