सिम्रनसंग ४५ मिनेट

2
2023

कथा

ऊ निक्कै बेर घोत्लियो । वाइपङ्खी घोडाको वेग झैं कामलाई दौडाइरहेको उसको घोत्लाईमा कुनै न कुनै ठूलै समस्या आएको झैं भान हुन्थ्यो । निक्कै बेरको घोत्लाई पछि उसले मुसुक्क हाँस्दै भन्यो– जाउँ चिया खान । उसलाई चिया पिइरहने बानी थियो । अझ भनौ न चियाको पारखी नै थियो ऊ । गर्दै गरेको काम छाडेर कम्प्युटरलाई सटडाउन गर्दै जुरुक्क उठ्यो ऊ । इसारा गर्दै भन्यो – तपाई अगाडि हिंड्नुहोस् । अफिसमा अरु पनि कर्मचारी भएकाले सुरजको इसारामा नयन अगाडि बढ्यो । अफिसबाट बाहिरिएसंगै धुम्मिएको आकाश झैं देखिने सुरज एकाएक हिमचुलीका सूर्यको प्रकाश परे झैं खुल्यो, चिया पसल नजिकै । उसैले चियाको अर्डर ग¥यो । अनि भन्यो– मलाई चाहिँ रंग कडा है । पूर्वपश्चिम फर्किएर राखिएका टेवल र कुर्सीमा सुरज र नयन बसे ।

टेवलमा राखिएको रातो पानीको जग भित्ता तिर सार्दै सुरजले मुसुक्क हाँस्दै भन्यो– तपाईको र मेरो टिकट फाइनल भएको छ है । भरे फोन तपाईलाई आउँछ । सुरजको हसाईमा कुनै छलछाम थिएन । सुरजको ठट्टा गरिरहने बानी भए पनि नयनसंगको कुराकानीमा ऊ सँधै गम्भीर बन्थ्यो । सुरज र नयन हुन त मिल्ने साथी हुन् । साथी मात्र हैन उनीहरुको सम्वन्ध दाजुभाइको जस्तो पनि थियो । सुरजले अचानक टिकटको कुरा गर्दा नयन छक्क प¥यो । चिया अर्डर भए पनि टेवलमा आइपुगेको थिएन । नयनका नजर कौतुहलतामा रुमलिएका थिए । ऊ केही भन्न खोज्दै थियो फेरि सुरजले थप्यो – छक्क नपर्नु न, मैले साँच्चै भनेको– सुरज रोकियो । नयन सुरजलाई एक टक हेरिरहन्छ केही वेरपछि सोध्छ कहाँ जानु पर्ने सर ? नयनको प्रश्नमा सुरजले भन्यो तपाई र म काठमाडौं जान्छौं । फागुन २९ गते दिवा फ्लाइटमा । १ वजे चन्द्रगढी पुगिसक्नु पर्छ ।

टेवलमा चियो आइपुगेको थियो । चियाको पहिलो चुस्की तान्दै सुरजले भन्यो– त्यहाँ एउटा कार्यक्रममा हामी सहभागी भएर भोलिपल्ट बेलुका फर्कने गरीको बन्दोवस्त मिलाएको छ । हामी ३० गते नै झापा आउँछौं । नयनले फेरी अर्को प्रश्न ग¥यो– सर तपाई र मेरो छुट्टी त्यो पनि एकैपटक मिल्छ र ?

सुरजले हाँस्दै भन्यो– नडराउनु न म सबै मिलाउँछु । हुन त मानिसलाई छिट्टै कन्भेन्स गराउने उसमा अलौकिक खुबी छ । अफिसमा पनि त्यो खुवी प्रयोग ग¥यो भने छुट्टी नमिल्ने कुरै थिएन । नयन मनमनै सोच्न बाध्य थियो । सुरजले फेरि प्रश्न तेह्रस्यायो– ओ हेलो कता हराको ? झसङ्ग हुँँदै नयनले भन्यो हैन, हैन । कसरी तपाई र म एकैपटक विदा बस्नु भनेर सोचेको । ठट्टा गर्दै सुरजले भन्यो– एक्लो हुटिट्याउले सागर थाम्दैन । मैले भने त सबै कुरा म मिलाउँछु । सुरजको प्रस्तावमा नयनको मौन समर्थन जनाउँदै उसले हुन्छको भाषामा टाउको हल्लायो ।

त्यो दिन अफिसको काम सकेर सुरज र नयन आ – आफ्नै दर्गदिशा लागे । नयनको घर टाढा भएकाले ऊ यही डेरा बस्थ्यो । हुनत ऊ पढाइको सिलसिलामा झापा झरेको थियो । उसले पढ्दै एक अफिसमा काम गर्ने अबसर पाएकाले ऊ काममा पनि जान्थ्यो । सुरजको बसाई पनि डेरामै थियो । तर, सुरजले आज अचानक आफूसंग कुरै नगरी एकैपटक टिकट कन्फर्म गरेपछि मात्रै सुनाएकाले नयन तीन छक्क परेको थियो ।

चिया गफमा सुरजले भनेका कुरा मनका खेलाउँदै ल्यापटप कोट्याइरहेका बेला सुरजले भनेझैं साँझ प्रशान्तको फोन आयो । नयनजी सुरजजीले तपाईलाई केही भन्नुभयो ? नयनले भन्यो– खै सर । काठमाडौं जानेकुरा फाइनल भएको छ भन्नुहुन्थ्यो । हो, हो – प्रशान्तले भन्यो– मैले पनि तपाईलाई त्यही कुराको जानकारी गराउन भनेर फोन ग¥यो । ल है जानुपर्छ । तपाई र सुरजजीको फागुन २९ गते दिउँसो १ः२० बजे बुद्ध एयरको फ्लाइटबाट काठमाडौं जानुपर्छ है । टिकट कन्र्फम छ । बाँकी कुरा काठमाडौं मै भेटेर गरौंला । नयनले हुन्छ मात्र भन्यो । तर, के कार्यक्रम हो भन्नेमा अझैं पनि नयन अनविज्ञ झैं थियो ।

सँधै झैं नयन भोलि पल्ट अफिस गयो फागुन २९ गते आउन एक साता मात्रै बाँकी छ ? के कार्यक्रममा जानुपर्ने हो ? छुट्टी मिल्छ कि मिल्दैन मनभरि अनेक प्रश्न गर्दै काम गरिरहेका बेला सुरज अफिस आयो । अफिस आउँदा उसको बेग्लै चाला हुन्थ्यो । ऊ अफिस आए लगत्तै सबैलाई एकपटक हसाएर रिफ्रेस गराउँथ्यो । त्यो दिन पनि सोही प्रक्रिया दोहो¥यो । हाँसो ठट्टा गर्न माहिर थियो ऊ । तर, काममा भने जिम्मेवार भएकाले उसले भनेको सबै कुरा लागू हुन्थ्यो । त्यो दिन पनि उसले जिम्मेवार ढंगले नै उसले फागुन २९ गतेलाई दुवै जनाको छुट्टी मिलायो । सुरजको काम गर्ने कुरामा कुनै दिन कमेन्ट हुँदैन थियो । त्यो दिन पनि ढुक्कका साथ छुट्टी मिलाएकाले अब भने मात्रै म काठमाडौं जानेमा कन्फर्म भए । तर के का लागि अझैं अनभिज्ञ । मनमा अनेक कुरा खेलिरहेका वेला सुरजले फेरि हास्दैं भन्यो– छुट्टी मिल्यो त कि नजाने म संग काठमाडौं ? दुवै हास्दै उनीहरु आ–आफ्नो काममा लागे ।

त्यसको बेलुका मात्रै एक समारोहमा जानुपर्ने रहेछ भन्ने कुरा थाह भयो । त्यो पनि सुरजले भनेपछि मात्रै । सुरजले कामको सबै बेलिबिस्तार सुनाएपछि मात्रै सुरजले चिया गफमा गरेका कुराले पूर्णता पाएको थियो ।

समय बित्दै गयो । फागुन २९ गते पनि आयो । दुवै जान अफिस गए बिहानै एकछिन् काम गरेर उनीहरु आ–आफ्नो रुम फर्किएर र काठमाडौं जाने तयारी गर्ने सल्लाह गरे । दुवै जनाले एकै किसिमका ड्रेस लगाउने निधो गरे । दिनको ठीक १२ बजे मोटरसाइकलमार्फत सुरज र नयन बिर्तामोडबाट चारआलीको बाटो हँुदै झापाको सदरमुकाम चन्द्रगढीतर्फ लागे । मोटरसाइकलको नाम चाहिँ बसन्ती थियो । समय निक्कै घर्किएकाले बेला वेला सुरजले गुडिरहेको मोटरसाइकलको बेगलाई बढाउँदै कुद बसन्ती अलि कुद भन्दै एक्सिलेटर दवाउँथ्यो । मोटरसाइकल रफ्तारमा गुडिरहेको थियो ।

चन्द्रगढी पुगेर एक सरकारी कार्यालयमा सुरजले मोटरसाइकल राखेर त्यहाँबाट टेम्पो चढेर बिमानस्थलतर्फ लागे । दुई भाइ आफ्नै गफमा मस्त थिए । बिमानस्थल पुग्दा १ बज्नै लागेको थियो । गेटबाटभित्र प्रवेश गर्दैगर्दा एक युवतीसंग नयनको भेट हुन्छ । उनले वर्षौ अघि चिने झैं गरेर नयनलाई सोध्छिन्– ढिलो त भा’को छैन नि होइन ? नयनले पनि मुसुक्क हाँस्दै छैन मात्र भन्छ । नागवेली झैं केश राशी, हिमाञ्चल पर्वत झैं चम्किला दाँत । उस्तै अग्लो छाती । मधुर मुस्कानका कारण नयन क्षण भरमै हराएछ । उनको रुपको बयान गर्ने शब्द नै कम होला । मिलेको जिउडाल, गुलाबी ओठ, अनि सेतो रङ्को भेष्ट र निलो जिन्सपेन्ट साँच्चै खुलेको थियो उनको रुप । नयन उसंगै नजिक भएर गफ गरिरहेको थियो भने सुरज टिकट कन्र्फम गर्न अघि लागिसकेको थियो ।

चीनमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला नेपालमा पनि सर्तकता अपनाउन शुरु गरिसकिएको थियो । त्यसै बेला ति युवतीले भनिन्– हेर्नुन् टेम्पोमा आएको झण्डै पो ढिला भएछ । नयनले हो र मात्रै भन्यो । तर, कहाँबाट आएको भन्ने केही थाहा थिएन– नयनलाई । चिनजान नै नभएकी युवतीलाई कसरी बोलाउने अप्ठ्यारो लगेर उभिरहेको नयन चेक जाँचको लाइनमा उभिन्छ । थर्मल गनबाट ज्वरो नाप्दा ती युवती हेर्दै मुसुक्क हाँसी रहेकी थिइन् । सुरजले अघि नै थर्मलगनबाट ज्वरो नापेर चेकजाँचतर्फ लाग्दै गर्दा नयनलाई प्रश्न गर्छन् तपाई जाने कि पर्खने ? नयन हाँस्दै जाने भन्छ । त्यस पनि आफूले बोकेको ल्यापटप ब्याग जाँच गराएर प्रतिक्षालयतर्फ लाग्छन् । महिलातर्फको चेकजाँचमा छिटो भएकाले ती युवती नयन र सुरजभन्दा अघि नै प्रतिक्षालयमा पुगिसकेकी हुन्छिन् ।

गर्मी मौसम भएकाले उनी पछाडिको सिटमा बसेकी थिइन् । सिलिङ फेन घुमिरहेको थियो । कुर्सी खाली भएकाले उनीसंगै नयन र सुरज पनि छेउमै बस्छन् । साँच्चै सुन्दरता हेर्ने हो भने उनी निकै सुन्दर युवतीको स्थानमा पर्नेमा दुईमत थिएन । उनले घरी आमासंग त घरी ममीसंग फोनमा कुरा गर्दै आफ्ना कुरा बताइरहेकी थिइन् । सानो नानीको कुरा पनि गरिरहेकी थिइन् । अनि अष्ट्रेलिया जाने कुरा पनि फोनमै गरिरहेकी थिइन् । एकैसिटमा बसेकाले राम्री युवतीमाथि युवाको नजर पर्नु स्वभाविकै हो । नचिनेको मान्छेसंग पनि खुलेर बोल्ने को होला भन्ने कौतुहल नयन र सुरजमा लाग्नु स्वभाविकै हो । उनको टिकट एउटा हातले बोकेकी थिइन् भने अर्को हातले मोबाइल फोन पर्केर फोनमा व्यस्त थिइन् । त्यसैक्रममा नयनले उनको हातको टिकट तान्छ । युवतीले पनि टिकट सहज रुपमा दिन्छिन् । अनि नयन र सुरजले उनको नाम र थर पत्ता लगाए । युवतीको नाम रहेछ– सिम्रन । नाम पनि क्या राम्रो । जस्तो मान्छे नाम पनि उस्तै । सिम्रन फोनमै व्यस्त थिइन् । सुरज र नयनले राम्रो बयान गरेको उनले पनि सुन्दै मुसुक्क हाँस्दै आमासँग कुरा गरिरहेकी थिइन् ।


लगभग दिनको १ बजेर २० मिनेटमा विमान आएर ल्याण्ड भयो र काठमाडौं जाने यात्रुलाई बोलाउन थाल्यो । त्यस बेला नयन, सुरज र सिम्रन तिनै जनासँगै गए । विमानस्थलमा अघि सुरजबीचमा सिम्रन र पछाडि नयन थिए । विमानमा चढ्दै गर्दा त्यही फ्लाइटमा नेपालका चर्चित कलाकार आर्यन सिग्देल पनि रहेछन् । उनी तीन जनाभन्दा पछि रहेछन् । सिम्रनले ढोका छेउमा पुगेर टक्क उभिएर उ त्यो त आर्यन सिग्देल होइन भन्दै नयनलाई सोधिन् । नयनले हो त भन्दै जवाफ फर्काए । त्यसपछि विमानका परिचालिकाले स्वागत गर्दै यात्रा सफलताको शुभकामना भन्दै आ–आफ्नो सिटमा बस्न आग्रह गरिन् । बुद्ध एयरको यु४ ९५४ विमानको सिट नम्बर ०५ डी खोज्दै नयन र सुरज अघि बढे । सिम्रनको अलिक पछाडिकै सिट थियो । अहँ सिट नम्बर चाहिँ याद भएन । नाम मात्रै याद गर्दा सिट नम्बर चाहिँ भुलेछु । साँच्चै उत्साहित हँुदै नयनले उसका अनुभव सुनाइरह्यो । मैले पनि उसका खुल्दुरीहरु खोदल्दै गएँ । अनि के भयो नि ? फेरी नयन आफ्नै गतिमा अघि बढ्छ ।

हामी हाम्रो सिटमा बस्यौं । पछाडि फर्केर सिम्रनलाई हेर्दैसँगै भएको भए कस्तो रमाइलो हुन्थ्यो होला है भन्ने गफमा व्यस्त भयौं । को होला यति राम्री अनि के गर्छिन् होला उनी यस्तै यस्तै गफ भयो । मौसम केही प्रतिकुल भएकाले विमान हल्लिन पुग्थ्यो त्यसबेला खाल्डाखुल्डी बाटो ल्यायो पाइलटले भन्दै हाँसी–मजाक गर्दै सुरज र नयन अघि बढिरहेका थिए । झण्डै ४५ मिनेटपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका सुरज र नयनले सिम्रनलाई नै खोजी रहे । उनी पछाडि भएकाले छिटो निस्केकी थिइन् । तर, उनको लगेज ब्याग भएकाले पक्कै पनि भेटिन्छ भन्ने आशामा नै थियौं हामी । नभन्दै निस्कने गेटमै उनलाई भेट्यौं । उनले व्यागभित्र अचार भएको चन्द्रगढी बिमानस्थलमै बताएकी थिइन् । त्यहाँ सिम्रनलाई ब्याग बोक्न पनि नयनले सहयोग गरेका थिए ।

त्रिभुवन विमानस्थलमा भेट भए पनि बोलचाल भने भएन । हामी अघि बढ्यौं । एउटा ट्याक्सी रिजर्भ गरेर काठमाडौंको दरबार मार्गमा रहेको होटल उडल्याण्ड तर्फ जानै लाग्दा सिम्रन पनि बाहिर निस्किसकेकी थिइन् । उनी कसैको प्रतिक्षामा रहेकी थिइन् । नभन्दै एक युवा मोटरसाइकल लिएर सिम्रनको अघि आइपुग्छन् । अनि ब्यागबीचमा राखेर सिम्रन मोटरसाइकलको पछाडि चढ्छिन् र अघि बढ्छिन् । त्यसबेला सुरजले भन्छन्–देखिस् मुला अघिदेखि सिम्रन भन्दै थिइस्, अर्कैैले लग्यो । मैले पनि होइन सर त्यो उसको दाइ हुनुपर्छ भन्दै मन बुझाएँ । एउटी सुन्दर नारीलाई मनपराउनु वा राम्रो लाग्नु स्वभाविकै हो । म हेरिरहे मात्र, मोटरसाइकल अघि बढ्यो एकैछिनमा सिम्रन सवार–सवारी देख्दै छाडियो ।

राजधानीमा अत्याधिक सवारी साधनको चाप भएकाले सिम्रन कता गइन् भन्ने केही थाह भएन । त्यसपश्चात हामी पनि ट्याक्सी चढेर अघि बढ्यौं । सोही क्रममा सुरजले नयनलाई जिस्क्याउन थाल्यो देखिस्त मुला तैले हेरेको अर्कैले लग्यो । परिचय नभए पनि वर्षौ अघि नै चिनजान भएको जस्तो व्यवहार गर्ने, अनि गहिरो प्रेममा परे झैं हेरिरहने नयन अहिले पनि सिम्रनलाई सम्झिरहन्छ । ट्याक्सी होटलमा पुग्छ अनि दुई भाइ होटलको रुम नम्बर २१२ मा पुग्छन् । थ्री स्टार होटलमा बसाई लगभग फागुन २९ गतेको त्योदिन साँझको ५ बज्नै लागेको थियो । प्रशान्तको फोन आउँछ आइपुग्नुभयो । हो ब्रर्दर आइ पुग्यौं अहिले होटलमा झैं अब कहाँ आउनुपर्ने भन्दै सुरजले प्रशान्तलाई सोध्छन् । अनि चिया, नास्ता खाएर सुरज र नयन उक्त समहारोमा सरिक हुन पुग्छन् ।

झापाका धेरै अग्रज व्यक्तिहरुसंग काठमाडौंको उक्त समारोहमा भेट हुन्छ । समारोहमा करिब रातको १० बजेसम्म बसेर सुरज र नयन पुनः होटल फर्किन्छ । भोलि झापा जानुपर्ने भन्दै गफ गर्दै फर्किए । रुममा आएर एकछिन् काम गरेर दुवै जान सुत्छन् । सुत्ने बेलामा पनि सिम्रनको गफ हुन्छ । क्या भलाद्मी केटी, साँच्चै राम्री पनि है । ल अब सुतौं । भोलिपल्ट बिहान ७ बजे उठेर चिया नास्ता गर्दै काठमाडौंमा रहेका अग्रज व्यक्तिहरुसंगको भेटघाट जारी हुन्छ । अघिल्लो दिन खासै वास्ता नगरेका होटलका स्टाफहरु काठमाडौंका विशिष्ठ ब्यक्तिहरु एकपछि अर्को गर्दै भेटघाटका लागि आएको देखेपछि उनीहरु सुरज र नयनप्रति नजिकिएका थिए । फागुन ३० गते यति एयरलाइन्समार्फत पुनः झापा फर्कदा पनि सिम्रनसंगको त्यो ४५ मिनेटको पलपलको गफ गर्दै फर्किए । आज पनि कतै सिम्रनको गफ निस्कियो भने त्यो दिनलाई दुवै जना सम्झने गरेका छन् ।

(यो घटनाका पात्र काल्पनिक हुन् । कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुने छ ।)

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here