व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण

0
1329

युवराज विष्ट / भोजपुर,

भोजपुरको पौवादुङमा गाउँपालिकामा पछिल्लो समय व्यावसायिक मौरीपालनमा कृषकको आकर्षण बढ्दै गएको छ । सानो लगानी र व्यवस्थापनमा मनग्य आम्दानी हुन थालेपछि यहाँका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले घारसँगै आवश्यक तालिमसमेत दिएका छन् । यो व्यवसायबाट उनीहरूले राम्रो आम्दानी गरिरहेका छन् ।

उत्पादित मह किन्नका लागि मानिस घरमै आउने भएकाले बजारीकरणमा कुनै समस्या नरहेको कृषकको भनाइ छ । अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत मह बन्न थालेको छ । “मौरीपालनबाट राम्रो आम्दानी छ, गाउँपालिकाले घारसँगै आवश्यक तालिम दिएपछि हामीलाई व्यवसायमा लाग्न प्रोत्साहन मिलेको छ भने कम मेहेनतमा आम्दानी पनि निकै राम्रो हुन्छ”, कृषक कृष्ण भुजेलले भन्नुभयो, “यहाँका अधिकांश किसान मह निकालेर आत्मनिर्भर बन्न थालेका छन् ।”

“मौरीले सहजै घरखर्च र छोराछोरीको पढाइ शुल्क टारेको छ” उहाँले भन्नुभयो, “अरू खेतीसँगै मौरी पाल्न सकिने भएकाले पनि सबैको आकर्षण यसतर्फ बढिरहेको छ ।” महको माग र भाउ बढ्दै गएपछि व्यवसायमा हौसला मिलेको उहाँको भनाइ छ ।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममार्फत वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्माका आधुनिक घारसहित मौरीको गोला वितरण गरेको छ । गाउँपालिका स्थापना भएपछि पहिलो वर्ष २५०, दोस्रो वर्ष ५० आधुनिक घार र यस वर्ष ५० घार गोलासहित घार वितरण गरेको गाउँपालिकाले जनाएको छ । मौरीपालन व्यवसायका लागि गाउँपालिकाले कृषकलाई आवश्यक तालिम दिइएको छ भने आधार चाका बनाउन मेसिनसमेत वितरण गरेको छ ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख ब्रतेन्द्र राईले भन्नुभयो, “गाउँपालिकाले कृषक लक्षित कार्यक्रम सञ्चालन गरेपछि मौरीपालनमा लाग्ने कृषकको सङ्ख्यामा वृद्धि भएको छ, उनीहरूलाई बजारीकरणमा पनि कुनै समस्या छैन, हामीले गाउँपालिकामा नमूना घार राखेर उनीलाई आवश्यक ज्ञान दिँदै आएका छौँ ।” “केही किसानले मौरीपालनकै आम्दानीले सदरमुकाम र जिल्लाबाहिर घरघडेरी जोडेका छन्” उहाँले भन्नुभयो, “पाल्न सजिलो र आम्दानी धेरै हुने भएपछि यसतर्फ किसानको आकर्षण बढिरहेको छ ।”

गाउँपालिकाले मौरीपालक किसानलाई अनुदानमा घार र अन्य उपकरण वितरण गर्न थालेका छन् । “मौरीपालन व्यवसायमा लाग्न प्रोत्साहन गर्न गाउँपालिकाले विभिन्न खाले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको छ”, गाउँपालिकाका उपाध्यक्ष सम्झाना राईले भन्नुभयो, “यसले कृषकमा व्यावसायिक बन्ने धारणाको विकास हुँदै गएको छ ।”

गाउँपालिकाले क्षेत्र निर्धारण गरेर कृषकलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको पनि छ । अहिले गाउँपालिका कृषिमा आत्मानिर्भर बन्दै गएको गाउँपालिका उपाध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका अहिले कृषिमा आत्मनिर्भर छ, यहाँ उत्पादन भएका कृषिउपज अन्य स्थानीय तहसम्म जाने गरेको छ, हाम्रो स्थानीय तहको धेरैजसो क्षेत्र सुक्खा क्षेत्र भए पनि प्लाष्टिक पोखरी बनाएर कृषकलाई सिँचाइका व्यवस्था मिलाउन गाउँपालिकाले सहयोग गरेको छ ।” गाउँपालिकाका करिब १०० कृषकले मौरीपालन व्यवसाय गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here