उदय मैनाली

आजको २१ औँ शताब्दि र आधुनिकताको चरम उत्कर्षताको समयमा नेपाली समाज जातीय व्यवस्थाले निम्त्याएको सामाजिक विभेदबाट प्रताडित छ ।
जातीय विभेदको पछिल्लो भयानक दृष्टान्त गत जेठ १० गते रुकुम पश्चिमको सोती काण्डले दलित र गैरदलित दुवै समुदायको दिमागी अवस्थामा अत्यासलाग्दो तरंगको सृजना गरेको छ । यो घटनाले नेपालमा जातीय शीतयुद्ध नै ल्याएको छ । जसको कारण आमरुपमा भनिएको माथिल्लो जात ब्राम्हण वा बाहुन समुदायले समेत अनेकन अपजस र गालीको सामना गर्नु परेको छ । नेपाली समाजमा बाहुनवाद वा ब्राम्हणबादको विषयमा विविध ऐतिहासिक आलेख र अन्य इतिहासका प्रमाणहरु हेर्दै यो लेखको सम्पूर्णता खोजिएको छ ।
लगातारको २५ बर्षसम्मको लडाईँपछि पृथ्वी नारायण शाहले उपत्यकाका ३ वटै मल्ल राज्यमा बिजय हासिल गरे लगत्तै गोरखाबाट काठमाडौँ आफ्नो राजधानी बनाए । उनले एकीकरण अभियानमा साथ दिने नातेदार, सेना, पुजारी र सिपाहीहरुलाई पनि काठमाडौँ सरुवा गरे । जसलाई इतिहासकार महेश सि. रेग्मीले नेपालमा राजनीतिक र आर्थिक शक्तिको बदलावको रुपमा व्याख्या गरेका छन् । तीमध्ये केही थर घर प्रचलित छन् अर्याल, पाण्डे, खनाल, पन्त आदि । गोरखाली दरबारमा सर्वश्रेष्ठ मानिएका यी पहाडी ब्राम्हणहरुलाई पुरस्कार स्वरुप काठमाडौँमा बसोबास गर्न घर जग्गा, जागीर र अन्य सेवामा स्थापित गराइएको थियो । र, यसरी स्थापित भए पर्वते बाहुन वा पहाडी ब्राम्हणहरु ।
संस्कृत शब्द ब्राम्हणको अनेकन अर्थहरु हुन्छन् । अलौकिक शक्ति, विश्व आत्मा, वैदिक पाठ, भगवान ब्रम्हा वा हिन्दू समाजमा पुजारी । हिन्दू शाष्त्र मनुस्मृतिमा उल्लेख भए बमोजिम ब्राम्हणका मूख्य कार्यहरु अध्ययन गर्ने र गराउने, त्याग, योग र बलिदान गर्ने, गराउने, दान ग्रहण गर्ने, वैदिक मन्त्रउच्चारण गर्ने, गराउने र शास्त्रार्थको सार सुनाउने हो । यद्यपि मनुले ब्राम्हणको केन्द्रीय राजनीतिक वा वैचारिक कार्यलाई बिर्सिएर एउटा राजनीतिक शक्तिलाई वैधानिक बनाएको हो कि भन्ने पनि एकथरिको विश्लेषण छ ।नेपाली समाजको ब्राम्हणको रुपमा देखिएका थर गोत्रहरुले मनुले भनेको जस्तो सम्पूर्ण कार्यहरुमा आफ्नो जीवन बिताएको हो भनेर भन्न सकिने स्पष्ट प्रमाण नभेटिएकाले गर्दा यी गोत्र र थरहरुलाई आर्यवर्तको मध्यकालमा नेपालका असभ्य पहाडका गोठहरुमा बसाइएको हो भन्न सकिँदैन । तसर्थ यिनीहरुबाट कलियुगको उच्च अपरान्हको चिसो हिमालयमा ती मनुका नियमहरु पालन गरेको आशा गर्नु मुर्खता शिवाय केही हुन्न जस्तो लाग्छ । जसको प्रत्यक्ष प्रमाण केही गोत्र र वंशहरुले मात्र आफ्नो प्रमाणित वंशावली निर्माण गरेका छन् तर ती पनि दश, विस पुस्ता भन्दा अगाडिका छैनन् ।
यसरी हेर्दा बाहुन भनेर चिनिएका र जजमानहरु दुवैले खस भाषा बोलिएको पाइन्छ जुन अहिलकोे नेपाली भाषा हो । र, यो खस भाषालाई मनु स्मृतिको १०ः२२मा पवित्र संस्कार त्यागेका र आफ्नो जाति गुमाएका भनेर उल्लेख गरेका छन् । यसरी उपत्यका छिरेका बाहुनहरुद्वारा गोरखाली सेनामा मात्र हैन प्रशासन संयन्त्रमा पनि नेवारहरुलाई भर्ती गरेनन् बरु उल्टै नेवार इष्ट र बाबु दुष्ट कहिलै हुँदैनन् भन्दै घृणाको व्यापार गरे । र, पछि १८६० वि.सं. बाट मात्रै केही नेवारहरुलाई प्रशासन संयन्त्रमा भर्ना गरे किनकि गोरखाली सरदारहरुले उपत्यकाको भूमि प्रशासन बुझेका थिएनन् । जंगबहादुर राणाको उदयसँगै उनले न्यायिक, सामाजिक र प्रशासनिक क्षेत्रको संस्थागत पुनर्गठन गरे ।
मुलुकी ऐन १९१० ले सामाजिक रुपमा हिन्दू जातिवादी कट्टरपन्थीलाई राज्यको बौद्धिक र निर्णायक स्थानमा पु¥यायो जुन समूहलाई बाहुन र ठकुरी क्षेत्रीका रुपमा चिनियो र उनीहरुलाई सामाजिक पदानुक्रममा शीर्ष स्थानमा राख्ने प्रयास गरियो । तर, नेवारी लगायतका अन्य ठूलो जातजातिको हिस्सालाई दासत्वमा परेको मतवालीको रुपमा छोडियो । तथापि जंगबहादुरको मुलुकी ऐनको त्यो व्यवस्था करिव ११० वर्षपछि वि.सं.२०२१ सालमा आधिकारिक रुपमा खारेज भयो । तर यसले बाहुनको धर्मनिरपेक्ष स्थितिलाई सुनिश्चत गरी सामाजिक पिरामिडको शिर्ष स्थानमा राख्यो ।
त्यस्तै राणा प्रशासनका कर्मचारीहरुमा खस ठकुरी, क्षेत्री बाहुन र जंगबहादुरका ग्राहक परिवारबाट मात्र आएका थिए । तर पनि जंगबहादुर राणाको शासनकालमा सात जना नेवारहरु भने प्रशासनमा कायमै थिए, जसलाई तिब्बती, उर्दु र अंग्रेजी भाषाहरुको ज्ञान थियो । उनीहरुको प्रशासनिक र व्यापारिक सिपको उपलब्धीका कारण धेरै सम्पत्ति समेत जोडेको हुनाले राणा भारदारहरुको भयानक षड्यन्त्रकाबीचमा पनि बाँच्न सक्षम भएको कुरा इतिहासविद्हरु बताउँछन् ।
राणा शासनको अदालती आचारसंहितामा एउटा उच्चतम् नमूना शहीद शुक्रराज शास्त्री जसलाई राणाहरुले वि.स. १९९७ ताका फाँसी दिएका थिए । उनका प्रतिष्ठित पिता माधवराज जोशीको जीवनीमा लेखिएको पुस्तक शहीदके कलम से वि.सं. २०१५मा प्रकाशितमा लेखिए अनुसार माधवराजले सच्चा हिन्दूत्व र मानव सेवा वेद, उपनिषद्मा मात्र पाइन्छ, कुनै पत्थरको मूर्ति पूजा गरेर धर्म हुँदैन भन्दा राणा दरबारका पण्डितहरुले क्रुरतापूर्वक कुटपिट गरेको कुरा गहनीय छ । त्यो समयका उनी जस्ता विद्धानले गरेको विद्रोहबाट पनि बाहुनवादको यथार्थ पुष्टि हुन्छ । किनकि भुवनलाल जोशी र लियो ई–रोजले भने झैँ माधावराज ब्राम्हणवादी कट्टरपन्थीको विरुद्ध बोल्ने पहिलो विद्रोही थिए जसले सामाजिक र राजनीतिक जागरणको शुरुवात गरे फलस्वरुप वि.स. २००७ सालको क्रान्ति सफल भयो ।
यसरी हेर्दा बाहुन र नेवारबीचको सामाजिक र राजनीतिक प्रतिस्पर्धाको ऐतिहासिक जरा गहिरिएको छ किनकि यी दुई समुदायहरु राणाको संरक्षण, नागरिक सेवामा पहँुच र आधुनिक शिक्षा तथा विदेशी तालिम प्राप्त गरेका कुशल व्यक्ति थिए । जसलाई राणा शासन पतन भएको २८ वर्षपछि त्रिभुवन विश्वविद्यालयले गरेको सर्वेक्षणमा त्रि.वि.मा कूल भर्नाको ४५ प्रतिशत बाहुन, २० प्रतिशत क्षेत्री र १९ प्रतिशत नेवार रहेको विवरणले पुष्टि गर्छ ।
नेपालमा लोकतन्त्र आएपछि सामरिक भूमिका र समाजका विभिन्न कार्यहरुमा यी तीन समुदायको हालिमुहालीमा परिवर्तन आएको छ । यिनीहरुको पकड बिस्तारै कम हुँदै शिक्षाको ज्योतिसँगै समाज धेरै उज्यालो भएको छ । खासगरी सामाजिक आर्थिक रुपमा पिछडिएका समुदायहरुको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ ।
अब ब्राम्हणवादविरुद्धका भर्खरका विद्रोहका कुरा गर्दा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहले बहुमतबाट निर्वाचित सरकारले गरेका राजनीतिक नियुक्तिहरुमा राखेका असन्तुष्टि जसलाई स्थानीय पत्रपत्रिकाले ब्राम्हणवाद विरुद्धको विद्रोह भनेर चर्चा समेत गरे । दुर्भाग्यवश यहाँ फेरी ब्राम्हणवाद शब्दको गलत प्रयोग भयो किनकि मैले माथि लेखे अनुसार ब्राम्हणवाद भनेको धार्मिक दृष्टिकोण हो । जसले वेद, उपनिषद्को विशेषता, त्याग र अनुष्ठानलाई महत्व दिन्छ । बाहुनहरुलाई कुटनैतिक सेवाको शीर्ष स्थानमा धकेल्नुसँग यसको केही सम्बन्ध रहँदैन ।
गणेशमान सिंह र डोरबहादुर विष्टको ब्राम्हणवाद अरुका लागि प्राणघातक छ भन्नु केही बिग्रिएका बाहुन र पश्चिमी शैलीको संस्कृति विकासका लागि गरिएको हाम्रो संस्कार संस्कृतिमाथिको ठाडो अपमान र प्रहार हो ।
तर गणेशमान सिंह, गजेन्द्रनारायण सिंह, पद्मरत्न तुलाधर, डोरबहादुर विष्ट, सुरेश आले, गोपाल गुरुङ, सिताराम तामाङहरुले व्यक्त गरेका भावनाहरुलाई संगठित राजनीतिक आन्दोलनको रुपमा रुपान्तरण गरियो भने नेपालको सामाजिक र साँस्कृतिक सद्भावमा प्रत्यक्ष असर पर्नेछ ।
निष्कर्षमा १७० डलर प्रतिव्यक्ति आम्दानी भएको मुलुकका जनतालाई राज्यले १६ वर्षमुनिका संष्कृत अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्छ । महेन्द्र संष्कृत विश्वविद्यालयले ६९० विद्यार्थीका लागि वार्षिक ३२ं.१ मिलियन रकम खर्च गर्छ । संसदका पाँचवटा प्रमुख राजनीतिक दलका ७७ सांसदहरुले कक्षा १ देखि १० सम्म अनिवार्य संस्कृत शिक्षाको माग गरेका छन् । अचम्मको कुरा त यो प्रस्तावमा झलनाथ खनाल, राधाकृष्ण मैनाली, लिलामणी पोखरेल जस्ता माक्र्सवादी–लेनिनवादीहरुले हस्ताक्षर गरेको देखिन्छ । हाम्रो स्कूलका ३.३ लाख बालबालिकाहरुला ई–अनिवार्य संष्कृत पढाउनु पर्छ भन्ने राजनीतिक युक्तिभित्रको अन्तरनिहित विषयमा गहन चासो राख्नेले बुझ्नु पर्ने कुरा हामीले बोलेको भाषा पनि हाम्रो पहिलो भाषा होइन, अञ्जान मै नग्न बाहुनवाद र मध्यकालीन सामन्तवादको दबदबामा चलेको चलन हो ।
यसरी हेर्दा संष्कृत, ब्राम्हणवाद र पुर्वीय दर्शन आफैमा समस्या हैनन् केही गलत सोच भएका, कुञ्चित भावना भएका स्वार्थलोलुप प्राणीहरुको विध्वंशकारी दिवा स्वप्ना हो जसले पवित्रताको जगमा टेकेर सामाजिक र भावनात्मक एकता तोड्ने असफल प्रयत्न गर्दैछन् र यस्ता व्यक्तिहरुबाट हामी सजग रही अगाडि बढ्नुपर्छ ।
यहाँबाट इपेपर हेर्न सक्नु हुन्छ ।
https://purwanchaldaily.com/wp-content/uploads/2019/06/27-jestha.pdf





























