बिर्तामोड ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको भन्दै झापाका युवाले शनिवार विर्तामोडमा प्रदर्शन गरेका छन् ।
सरकारले आरडिटी परीक्षण रोकेर १०० प्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको दश अर्ब खर्च विवरण सार्वजनिक गर्नुपर्ने , फ्रन्ट लाइनमा खट्ने सञ्चारकर्मी, स्वास्थ्यकर्मी , सुरक्षाकर्मीलाई पीपीई दिनुपर्नेलगायतका माग गर्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्दै सरकारको खबरदारी गरेका हुन् ।
सुशासनका लागि युवा अभियानको अगुवाईमा युवाको सहभागितामा झापाको विर्तामोडस्थित कनकाई कलेजबाट शुरु गरेको र्यालीले विर्तामोड नगर परिक्रमा गरेको थियो । र्यालीपछि मुक्तिचोक वरपर मानव साङ्लो वनाएर युवाले शान्तिपूर्ण प्रदर्शन गरेको सामाजिक अभियन्ता प्रज्वल विमलीले वताए ।

उनीहरुले ‘लकडाउनः सरकारको दशैं जनताको दशा, नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद, १०० प्रतिशत पिसिआर, जनता मरेको टुलुटुलु हेर्ने राष्ट्रवाद हुन सक्दैन, सरकार सरकार आमाले भन्नुभा बेसार होइन पिसिआर नै चाहिन्छ रे, कोरोनाको अचार अदुवा, लसुन, बेसार लेखेका प्लेकार्डसहित प्रदर्शन गरेका थिए । इलाम र झापाको काँकरभिट्टा, धुलावारी , भद्रपुर, कचनकवल, अर्जुनधारा सुरुङ्गा, लगायत विभिन्न स्थानका तीन सय भन्दा वढी युवाको सहभागिता रहेको सामाजिक अभियन्ता प्रज्वल विमलीले वताए ।
उक्त कार्यक्रमको व्यवस्थापन सन्नी गोयल, सुरज शेर्पा, मदन राईलगायतले गरेको वताइएको छ । यसैवीच झापाको दमकमा समेत युवाले पूर्व पश्चीम राजमार्ग किनारमा उभिएर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । दमक चोकस्थित आकाशे पूल वरपर हाइवे किनारमा सरकार विरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर युवाले मौन प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रष्टचार गर्नेलाई कारबाही गर्नुपर्ने तथा पिसिआर परीक्षणको दायर बढाउनु पर्ने बिषय समेटिएका प्लेकार्ड बोकेका थिए ।
क्वारेन्टाइनका नाममा नागरिकलाई अमानवीय रूपमा राखिएको र उनीहरूको पिसिआर परीक्षण नगरिएकोमा सरकार बिरुद्ध सांकेतिक बिरोध प्रदर्शन गरिएको सहभागी युवाले बताएका छन् । त्यस्तै स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै खर्चको हिसाब पनि सरकारले सार्वजनिक गर्नु पर्ने उनीहरुको भनाई छ ।






























