चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान निर्माण हुने

0
1188

फिदिम, 

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष्पलाल उद्यान (पार्क) निर्माण हुने भएको छ ।

पाँचथरबाट बैतडी जोड्ने यस लोकमार्गको नाम नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नामबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग कायम भएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको लोकमार्गमा लोकमार्गको नामाकरण गरिएका व्यक्तिको पहिचान खुल्ने कुनै पनि संरचना छैनन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लोकमार्गको उद्गम विन्दुमा लोकमार्गको नामाकरण गरिएका पुष्पलालको सालिकसहितको पार्क निर्माण गर्ने योजना अघि बढाएको हो ।

मन्त्रालयले आगामी आर्थिक वर्षमा चिवाभञ्ज्याङमा पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न तथा जमिनको व्यवस्थापन गर्न बजेट छुट्याइएको छ । लोकमार्गको उद्गम विन्दु पाँचथरको याङवरक गाउँपालिकामा पर्दछ । याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले गाउँपालिकाको पहलमा लोकमार्गको उद्गम विन्दुमा पार्क निर्माणका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भएको जानकारी दिनुभयो । “आगामी आर्थिक वर्षमा पार्कको डिपिआर तयार पार्न र जमिनको व्यवस्थापन गर्न बजेट प्राप्त भएको छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “हामीले गाउँपालिकाको तर्फबाट समेत उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।”

भारतको सिक्किमसँग जोडिएको चिवाभञ्ज्याङ नाकामा यस लोकमार्गको उद्गम विन्दु रहेको छ । यो स्थान पाँचथरको सदरमुकाम फिदिमबाट ९५ किलोमिटर दूरीमा रहेको छ । मनमोहक पहाड र घना जङ्गलको बीचमा रहेको चिवाभञ्ज्याङ सुन्दर पर्यटकीय क्षेत्र पनि हो । हिउँदमा यहाँ सेताम्य हिउँले डाँडाकाँडा र निर्माणाधीन सडकलाई समेत पुर्दछ । सडक विस्तार भएपछि आन्तरिक पर्यटकको आवागमनसमेत बढेको याङवरक गाउँपालिका—१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले बताउनुभयो ।

चिवाभञ्ज्याङसम्म आगामी आर्थिक वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लोकमार्ग आयोजना कार्यालयको तयारी छ । यहाँसम्म कालोपत्र सडक निर्माण भई पार्कसमेत निर्माण गर्नसके पर्यटकीय आवागमनमा वृद्धि हुने, सीमाक्षेत्रमा नेपालतर्फबाट मानवीय चहलपहल वृद्धि भई भारतीय पक्षबाट हुने चोरी सिकारी कम हुने र भारतीय पक्षबाट नेपाली भूमिको प्रयोग रोकिने अपेक्षा गरिएको याङवरक गाउँपालिकाका अध्यक्ष घिमिरले बताउनुभयो । सुरक्षाविहीनजस्तै रहेको सीमाक्षेत्रमा सशस्त्र प्रहरीको सीमा अनुगमन चौकी (बिओपी) निर्माणका लागि समेत पहल भइरहेको उहाँको भनाइ छ ।

चिवाभञ्ज्याङ पर्यटकीय क्षेत्रहरु तिम्बुपोखरी र फालोट क्षेत्रको मध्यभागमा अवस्थित छ । बहुमूल्य जडीबुटी तथा वन्यजन्तुको खानी मानिएको चिवाभञ्ज्याङ क्षेत्रमा नेपालतर्फबाट भरपर्दो सुरक्षा व्यवस्था छैन । सीमा क्षेत्रभन्दा २६ किलोमिटर टाढा च्याङथापूमा रहेको सीमा प्रहरी चौकीलाई सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी दिइएको छ ।

पर्याप्त सवारीसाधन र जनशक्ति नहुँदा सीमाक्षेत्रको सुरक्षा प्रभावकारी हुन नसकेको सीमा प्रहरी चौकी च्याङथापूका प्रमुख प्रहरी नायब निरीक्षक बज्रबहादुर राईले बताउनुभयो । उहाँले लोकमार्गको उद्गम विन्दु चिवाभञ्ज्याङमा पार्कलगायत संरचना निर्माण गर्न सके सीमाक्षेत्रको सुरक्षामा समेत ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here