कोरोनाको जोखिम मोलेरै प्रसूति सेवा

0
525

स्वर्गद्वारी, 

विश्वभरि फैलिइरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेर प्यूठानका स्वास्थ्यकर्मीले प्रसूति सेवा दिइरहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि लामो समयसम्म भएको लकडाउनका कारण भारतबाट भित्रिएका नागरिकलाई अहिले क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमै बसेका बेला नौबहिनी गाउँपालिका वडा नं ७ मा एक महिलाले बच्चा जन्माउनुभयो ।

यही जेठ १७ गते श्रीमान्सँगै भारतबाट फर्किएर स्थानीय विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माउनुभएको हो । भारतबाट आई स्थानीय क्वारेन्टिनमा बसेका मानिसमा कोरोना सङ्क्रमण देखिइरहेका बेला सुत्केरी सरस्वतीको कोरोनासम्बन्धी कुनै परीक्षण नगरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो ।

“कोरोना परीक्षण नगरिएको अवस्थामा पनि स्वास्थ्यकर्मीले जोखिम मोलेर आफ्नो कर्तव्य निभाइरहनुभएको छ”, डा सुवेदीले भन्नुभयो । प्रसूति बेथाले च्यापेपछि उहाँलाई आधारभूत स्वास्थ्य सेवा केन्द्र फोप्लीमा कार्यरत अनमी कृष्णा बुढाले क्वारेन्टिनमा नै सुत्केरी गराउनुभएको हो । उहाँले नर्मल डेलिभरि भएकाले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको बताउनुभयो ।

कोरोनाको जोखिम भए पनि स्वास्थ्यकर्मी भएपछि आफ्नो कर्तव्य सम्झेर जोखिम मोलेरै भए पनि पिपिई लगाएर सुरक्षित महसुुस गरी सुत्केरी गराएको उहाँले बताउनुभयो । सुत्केरी सरस्वतीको आज पिसिआर जाँच गरी प्रसूति स्याहारका लागि उचित परामर्श दिइ घर पठाइनेछ ।

बुढाले जस्तै अन्य स्वास्थ्यकर्मीले पनि गर्भवती महिला, नवजात शिशुलाई दिइने सेवा प्रभावित नहोस् भनेर निरन्तररुपमा सेवा दिइराखेको डा सुवेदीको भनाइ छ । अहिलेको जटिल अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राखी सेवा प्रवाहमा सहयोग गर्न सुवेदीले सबैलाई आग्रहसमेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here