झापा ।
भारत निर्यात हुन नसक्दा अलैची र चिया लोड भएका २७ वटा मालवहाक ट्रक केहीदिनयतादेखि मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्केर बसेका छन् ।
व्यवसायीका अनुसार १४ वटा चिया र १३ वटा अलैची लोड भएका भारतीय नम्बर प्लेटका मालवहाक ट्रक भारतको पश्चिम बंगाल राज्यको रानीगञ्जनाकाबाट निर्यात हुन नसक्दा केहीदिनयतादेखि मेची भन्सार कार्यालय काँकरभिट्टा परिसरमा थन्केर बसेका हुन् ।
नेपालतर्फ निकासीको सवै प्रकृया पुरा भए पनि भारततर्फको प्रकृया अवरोध हुदाँ समस्या भएको छ । भारतीय भन्सार कार्यालयले आफ्नो क्षेत्रमा आएसवै काम गर्ने भने पनि पश्चिम बंगाल प्रहरीले मालवहाक सवारी साधनको अनुमती नदिएको व्यवसायीहरुको भनाई छ ।
यसबारेमा व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना तथा मेची भन्सार कार्यालय काँकरभिट्टामा जानकारी गराएको र नेपाली पक्षबाट समस्या समाधानका लागि पहल भइरहेको व्यवसायीहरुको भनाई छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार लकडाउन शुरु भएयता नेपालबाट कृषिजन्य बस्तुको भारततर्फको निर्यात ठप्प छन् ।
नेपालको पूर्वी नाका काँकरभिट्टाबाट चिया, अदुवा, अलैँची, अम्लिसो जस्ता नेपाली उत्पादन निर्यात हुने भएपनि लकडाउनका कारण लामो समयदेखि ठप्प रहेको व्यवसायीहरुको भनाई छ । लकडाउनअघि नेपालबाट अन्तिम पटक गत चैत ९ गते कृषिजन्य उत्पादन निर्यात भएको थियो । मेची भंसार अधिकारीका अनुसार चिया, अदुवा अलैची मात्रै होइन कुनैपनि सामग्री निकासी भएको छैन ।
भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि ठूलो परिमाणमा निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकरभिट्टामा नै रोकिएको भन्सार अधिकारीहरुको भनाई छ ।
नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपछि भारतबाट विभिन्न सामान लिएर मालवहाक सवारी साधन नेपाल आइरहेका छन् । तर, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गका कृषकका उत्पादन व्यवसायीले पूर्वको काँकरभिट्टा–पानीट्याङ्की नाकाबाट निर्यात गर्न नपाएका नाम नलेखिदिन आग्रह गदैं एक चियाको काम गदैं आएका एक भन्सार एजेण्टले बताए ।






























