अभूतपूर्व एकताका साथ संविधान संशोधन विधेयक पारित

0
1643

लिम्पियाधुरा, लिपुलेक, कालापानी अब नेपालको नक्सामा
विपक्षमा कसैले मतदान गरेनन्

बिर्तामोड ।

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रतिनिधिसभाको शनिबारको बैठकको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ ।
दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

संविधानतः विधेयक पारित हुन प्रतिनिधिसभामा हाल कायम रहेका सदस्यको दुई तिहाइ बहुमत आवश्यक पर्छ । शनिबारको मतदानमा सबै सहभागीले पक्षमा मतदान गरी राष्ट्रियताका विषयमा अभूतपूर्व एकता प्रदर्शन गरेका छन् ।
मतदानमा संशोधनका पक्षमा २५८ मत प्राप्त भएको थियो । यसअघि विसं २०७२ फागुन ११ गते पहिलो पटक संविधान संशोधन भएको थियो । प्रतिनिधिसभाका कुल सदस्यमध्ये बैठकमा सहभागी २५८ जनाले मतदानमा भाग लिनुभएको थियो । सो सङ्ख्या प्रतिनिधिसभामा तत्काल कायम २७५ सदस्यको दुई तिहाइभन्दा बढी हो । विपक्षमा पनि कुनै पनि मत परेन ।

मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको थियो । त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । यसअघि उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो । छलफलमा भाग लिदैं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री दाहालले हरेक राष्ट्रिय विषयमाम आम नेपाली, राजनीतिक दल तथा नागरिक समाज एक रहेको विगतको उदाहरण प्रस्तुत गर्दै राष्ट्रियतामा नेपालीहरु कोही पनि विचलित नहुने स्पष्ट गरे । उनले संविधान संशोधनको यस चरणमा आइपुग्दा सबै दल, जनता, नागरिक समाज र आम समुदायसँग ऐक्यबद्धता पनि प्रकट गरे ।

त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताए । पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्ट्रिय एकता झल्किएको बताए ।

उनले विधेयकमा आफ्नो पार्टीको समर्थन रहेको बताए । सभापति देउवाले सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको जमीन नेपालको हो भन्ने कुरा स्पष्ट रहेको तथा अंग्रेज र चीनले छापेको नक्शामा पनि काली नदीपूर्वको जमीन नेपालको भएको स्पष्ट रहेको बताए ।यस्तै जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताए ।

नेता महतोले राष्ट्रियताका सवालमा सबै जनता सजग र संवेदनशील रहेको र यसमा आग्रह र पूर्वाग्रह प्रस्तुत नगर्न आग्रह गरे । उनले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने विचार राखे । नेता महतोले आफूहरुका असन्तुष्टिका बीच देशको सवालमा एक ठाउँमा उभिनुपर्ने भएकाले नक्शा संशोधनको विधेयकलाई सहर्ष समर्थनको घोषणा गरे ।

सांसदहरूले भारतसँगको सीमा अन्तर्राष्ट्रिय कानुनअनुसार नियमन गर्नुपर्ने धारणा राखेका छन् । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा राखेकोलाई संवैधानिक मान्यता दिन ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफलका क्रममा नेकपाका सांसदहरूले सीमा नियमन गर्नुपर्ने धारणा राखेका हुन् ।

सांसद भीम रावलले भारतसँगको सीमा अन्तर्राष्ट्रिय कानुनअनुसार नियमन गर्ने प्रस्ताव आफू गृहमन्त्री रहेको बेलामा गरेको स्मरण गर्दै त्यो कदम अबको सरकारले चाल्नुपर्ने धारणा राखेका थिए । उनले त्यतिबेला भारतले कुरा अन्तै मोडेको पनि बताए । खुला सीमाबाट तस्करी लगायतका अपराधिक घटना भएको आरोप लगाउने भारतले त्यसमा सहमति जनाउनुपर्ने उनको धारणा थियो ।

नेकपाकै सांसद पम्फा भुसालले पनि भारतसँगको सीमा अब खुला राख्न नहुने बताएकी छन् । नेपाल–भारतका नागरिकलाई आवतजावत गर्नका लागि निश्चित नाका तोकेर सीमामा तारबार लगाउनुपर्ने र नियमन गर्नुपर्ने सांसद भुसालको माग थियो । सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेकपाका सांसदहरूले यसअघि पनि भारतसँगको सीमा अन्तर्राष्ट्रिय कानुनअनुसार नियमन गर्नुपर्ने धारणा राख्दै आएका छन् । नेपाल र भारतबीच ३९ वटा मोटरेबल र १२५ वटा आउजाउ गर्नमिल्ने नाका छन् । त्यसका अलवा अन्य ठाउँबाट पनि खुला सीमा भएकाले बिना रोकटोक आउजाउन हुने गर्दछ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ३० वर्ष यताका प्रधानमन्त्री, भूमिसुधारमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा किन नसमेटेको भनेर संसद्ले सोध्नुपर्ने माग गरेका छन् । भारतसँगको महाकाली सन्धि पनि देशको हितमा नरहेकाले खारेज गर्नुपर्ने सुवालले माग गरेका छ ।
संशोधन विधेयको दफवार छलफलमा विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले भारतलाई मित्रको रुपमा हेर्न आग्रह गर्दै भाईको ब्यवहार नगर्न सुझाव दिए । नेताहरुले नेपालको एक इन्च पनि जमिन नछाड्ने अडान ब्यक्त गरेका छन् ।

नेपालको नक्सा पारित भएसंगै ऐतिहासिक क्षण भन्दै नेपाली नागरिकले खुशीयाली मनाएका छन् । समाजिक सञ्जालमा सबै राजनीतिक दलहरुलाई बधाई दिदैं उनीहरुले राष्ट्रियतामा देखाएको एकता सबै क्षेत्रमा देख्न पाए देशको विकास गर्न धेरै समय नलाग्ने बताए । देशका अधिकांश स्थामा दिप प्रज्वलन गरे ख्ुशीयाली मनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here