विकास आयोजनाका काम अघि बढाइने

0
446

राँझा,

बाँकेमा सञ्चालित विकास निर्माण आयोजनाका काम अघि बढाउन जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको सक्रियतामा बन्दाबन्दीका कारण काम रोकिएका र सुस्त गतिमा काम भइरहेका विकास आयोजनालाई तीव्रता दिन जिल्लाका सरोकारवालाबीच समन्वय गरिएको छ ।

बन्दाबन्दीमा पनि विकास आयोजनाका काम प्रभावित हुन नदिन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, निर्माण व्यवसायी र स्थानीय प्रशासनबीच आवश्यक समन्वय र सहयोगको लागि पहल भएको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बताउनुभयो ।

दुई साता अघि प्रमुख जिल्ला अधिकारीको रुपमा बाँकेमा आउनुभएका कुरुम्बाङले जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अनुगमनपछि सञ्चालित विभिन्न आयोजनालाई गति दिन सरोकारवालाबीच समन्वय र छलफलको शुरुआत गरिएको बताउनुभयो ।

यहाँ सञ्चालित राष्ट्रिय गौरवका सिक्टा सिँचाइ, हुलाकी सडक लगायतका विकास आयोजनाका काम बन्दाबन्दीमा प्रभावित हुन पुगेका छन् । बन्दाबन्दीमा आवश्यक सामग्री र मजदुर उपलब्ध हुन नसक्दा सिक्टा सिँचाइ आयोजनाको काम लक्ष्यको ५० प्रतिशत मात्र हुन सकेको आयोजनाका प्रमुख लोकबहादुर थापाले बताउनुभयो ।

विकास निर्माणको योजना सञ्चालन गरिरहेका सडक डिभिजन कार्यालयका प्रमुख रामकुमार देव, नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालयका प्रमुख मुनिन्द्र ठाकुर, जलश्रोत तथा, सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर विक, सडक तथा पूर्वाधार विकास कार्यालयका प्रमुख मनिष अर्याल, हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेललगायतले निर्माण सामग्रीको अभावमा काम गर्न समस्या परेको बताउँदै आउनुभएको छ ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष टेकवहादुर खड्काले निर्माण सामग्री स्थानीयस्तरमा नपाउँदा बाहिरी जिल्लाबाट ल्याउन बाध्य भएको भन्दै सहजरुपमा निर्माण सामग्री पाउने अवस्थाका लागि जिल्ला समन्वय समिति र प्रशासनले पहल गरिदिन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here