लीला उदासी,
यति बेला द्रोणाचार्य क्षत्री हुनुहुन्न । उहाँ बित्नु भएको पनि छब्बीस वर्ष पूरा भएको छ । समय बित्न बेर लाग्दैन । हिजो जस्तो लाग्छ, मैले २०५० सालको जेठ अन्तिममा अलइण्डिया मेडिकल इन्स्टिच्युट दिल्लीमा उहाँलाई छाडेर झापा आएको थिएँ । क्यान्सरसँग जुधिरहेको अवस्थामा २०५० साल असार ६ गते उपचारको क्रममा उहाँको निधन भएको थियो ।
म अहिले उहाँलाई झल्झली सम्झिरहेको छु । यस बेला उहाँ रहनु भएको भए, लिम्पियाधुरा फिर्ता लिने आन्दोलनको अगुवा मध्येको हुनु हुने थियो । लिम्पियाधुराबाट भारतीय सैनिक सहित भारतीय शासकहरूलाई लखेट्न योजना बुन्दै हुनुहुने थियो । त्यति बेलै महाकाली सन्धि दलबाट र संसदबाट पारित गर्नु हुँदैन भनेर उहाँले घमासान गर्नुहुने थियो ।
म अझ अगाडि जान्छु । २०२५ सालमा मैले पहिलोपटक द्रोणाचार्यलाई भेटेको थिएँ । त्यति बेला हामी झापाका अलग–अलग स्थानका शिक्षक थियांै । यद्यपि मैले उहाँको नाम २०२२सालमा झापामा भएको राष्ट्रिय साहित्य सम्मेलनका सन्दर्भमा सुनेको थिएँ । एसपी शैलेन्द्रका विरुद्धमा झापामा विद्यार्थी आन्दोलन भएको थियो र त्यो आन्दोलनमा पनि उहाँले नेतृत्वदायी भूमिका पूरा गर्नु भएको थियो । त्यसै ताका द्रोणाचार्य झापामा स्थापित युवा हुनुहुन्थ्यो । तत्काल भर्खरै स्थापना भएको, गोबिन्दमान श्रेष्ठ अध्यक्ष भएको अखिलको केन्द्रीय सदस्य समेत भएर उहाँले राष्ट्रिय भूमिका पूरा गरी सक्नुभएको थियो ।
भद्रपुरमा एउटा नमूना स्कूल खुलेको थियो । उहाँ त्यसको प्रधानाध्यापक हुनुहुन्थ्यो । संयोग राम्रै रह्यो । म पनि त्यो स्कूलको शिक्षक बनेँ । हामीसँगै त्यो स्कूलमा शिक्षक भएपछि हाम्रा धेरै कुराहरू मिलेको हामीले महशुस ग¥यौं । साहित्य, संस्कृति, सामाजिक र राजनीतिक गतिविधि, पत्रकारिता हाम्रा सरोकार र सहभागिताका विषयहरू थिए । यी सबै विषयहरूमा हामी एकाकार जस्तै भयौं । सँगै डेरा बस्यौं । मीठो–मसिनु खायौं र भोक पनि सँगै खप्यौं । कविता लेख्यांै । समाचार लेख्यांै । पर्चा र चर्चा पनि लेख्यांै ।
हामीले पञ्चामृत नामक मासिक साहित्यिक पत्रिका चलाएका थियांै । त्यो पत्रिका प्रगतिशील समूहको मुखपत्रका रूपमा पनि मानिन्थ्यो । शुरुमा राधाकृष्ण मैनाली प्रकाशक र वासुदेव शर्मा सम्पादक भएर चलेको पत्रिका शर्मा भद्रपुरबाट काठमाडौ जानु भएपछि सम्पादकमा राधाकृष्ण मैनाली, रुद्र खरेल र म लीला उदासी भएर चलायौं । अठ्ठाइसौं अङ्कमा स्थानीय प्रशासनले यो पत्रिकामा प्रतिबन्ध लगायो । प्रिन्ट लाइनमा ज–जसको नाम भए पनि यसको प्रकाशनमा द्रोणाचार्य क्षत्रीको सहभागिता महत्वको हुन्थ्यो । भारतले सीमा मिच्दा यसले गरेको बिरोध स्मरणीय रहन्छ । पञ्चामृतका सुस्ता अङ्क र महेशपुर अङ्क उदाहरण हुन् । सुस्ता, घाइते झापा र मेरो देशको सार्वभौमिकता’ जस्ता कविताका सर्जक द्रोणाचार्यले भारतीय थिचोमिचोको कडा बिरोध गर्नुभएको छ ।
म त पार्टीको सामान्य समर्थक रहेर सामाजिक, राजनीतिक गतिविधिमा साथ लाग्थें । द्रोणाचार्य क्षत्री नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटीमा हुनुहुन्थ्यो । मदन खपाङ्गी जिल्ला संगठन कमिटीको सचिव हुनुहुन्थ्यो । जो पूर्व कोशी प्रान्तीय कमिटी अन्तर्गत थियो । झापा जिल्ला कमिटीमा टीकाप्रसाद सापकोटा, तिलबिक्रम ढकाल, भ्रमणसिंह राजवंशी, केर्कु राजवंशी, राधाकृष्ण मैनाली, दुर्गा दुलाल आदि हुनुहुन्थ्यो । गोपाल कृष्ण प्रसाई पूर्वकोशी प्रान्तीय कमिटीको सदस्य र झापा जिल्ला कमिटीको इञ्चार्ज हुनुहुन्थ्यो । पछि मोहनचन्द्र अधिकारी आउनुभयो ।
गोपालकृष्ण प्रसाईंका बारेमा स्थानीय नेता कार्यकर्ता सन्तुष्ट थिएनन् । किसानसँगको व्यवहारमा उहाँका बारे प्रश्न उठिरहन्थ्यो । त्यही काल खण्डमा सीपी, केपी, रुद्र खरेल, हरिचरण शिवाकोटी लगायतका युवा विद्यार्थी समूहको अगुवाई बढेको थियो । झापाली युवाहरू पूर्व कोशीसँग सन्तुष्ट थिएनन् । पारी नक्सलपन्थी आन्दोलन बिकसित अवस्थामा थियो । आन्दोलनका कतिपय कुराहरू अतिरञ्जित रूपमा पनि चर्चामा रहन्थे । तिनले झापाली युवामा एक प्रकारको उत्तेजना र विद्रोह जाग्थ्यो । यीनै भावभूमिमा झापाली विद्रोहको कथा शुरु भयो, २०२८ सालमा ।
यो विद्रोह पूर्वकोशी, झापा संगठन कमिटी समेतसँगको विद्रोह थियो । द्रोणाचार्य क्षत्री यो विद्रोहमा सहमत हुनुहुन्थेन । त्यसैले केही समय उहाँको कार्यशैलीमा फरकपन रह्यो । पत्रकार र मानवअधिकारकर्मीका रूपमा विभिन्न स्थानमा कार्यरत रहनुभयो । उहाँको सक्रियता केही समयका लागि अलग धारबाट चल्यो ।

२०३६ सालले पुनः उहाँलाई राजनीतिको मूल धारमा तान्यो । त्यो समयमा झापा विद्रोहबाट उठेर कोअर्डिनेशन केन्द्र हुँदै नेकपा माले गठन भइसकेको थियो । २०३६ सालमा जनमत संग्रहको घोषणा भएपछि मालेले जनमत संग्रहलाई – देशी विदेशी षड्यन्त्र र धोका हो यसलाई बहिष्कार गरौं– भनेर आह्वान गरेको थियो । २०३६ सालको जेठमा घोषणा भएको जनमत संग्रहलाई माघमा गएर – नेपाली क्रान्तिको उपज हो यसलाई उपयोग गरौं– भन्दै पुनः मतदानको केही दिन पूर्व नीतिगत बहिष्कारको आव्हान गरेको थियो ।
यता झापामा, झापा विद्रोहको कारणबाट वामपन्थी शक्तिविरुद्धमा सरकारी दमन तीव्र थियो । २०२८ सालपछि ६, ७ वर्ष झापामा बाम शक्तिका विरुद्धमा सरकारले जे पनि गरेको समय थियो । सुखानीसहित विभिन्न स्थानमा हत्याकाण्डहरू भए । सयौं व्यक्तिहरू पक्राउ परे । अनेकलाई मुद्दा लगाइयो । भूमिगत हुने र निर्वासनमा जाने क्रम बढ्यो ।
जनमत संग्रहको घोषणा पश्चात् सी के प्रसाईले बहुदलको प्रचारमा वामपन्थी युवाहरूको साथ लिन रुचाउनु भएको थियो । केही आमसभा पश्चात् कांग्रेसको केन्द्रले वामपन्थी सँग–सँगै नजान निर्देशन गरेको भनेर आपसी सहयोगमा अलग–अलग कार्यक्रम गर्ने प्रस्ताव सी के प्रसाईले गर्नुभयो ।
झापामा वामपन्थी शक्ति तत्काल छिन्न–भिन्न र प्रतिकूल अवस्थामा थियो । यसका बाबजुद जनमत संग्रहको प्रचारको कुरामा जोडिएर झापाका प्रगतिशील शक्तिहरूको एउटा समूह बन्यो । जनमत प्रचारको कार्य अगाडि बढ्यो । नरेशकुमार बर्माको संयोजकत्वमा गोपालकृष्ण प्रसाई, मदन खपाङ्गी, द्रोणाचार्य क्षत्री, लीला उदासी समेत रहेको एउटा देशभक्त प्रगतिशील समूह बन्यो र बहुदलको प्रचारप्रसार गर्ने काम भयो । प्रचारप्रसारको कार्यलाई जिल्ला व्यापी बनाइएको थियो । यसले ठूला–ठूला आमसभा ग¥यो । ४, ५ वटा आमसभालाई मनमोहन अधिकारीले सम्बोधन गर्नुभएको थियो । मनमोहन अधिकारीको सम्बोधनले युवा विद्यार्थी, किसानसहित सर्वसाधारणमा ठूलो उत्साह र लहर सिर्जना भयो । झापामा राम्रै किल्ला निर्माण भयो । पञ्चायत र प्रशासनले जनमत संग्रहमा षड्यन्त्र र जालझेलका लागि अलिक धेरै पसिना बगाउनु प¥यो ।
यस दौरानमा कम्युनिस्ट एकताका लागि केही कार्यहरू भए । २०३६ साल भाद्र २४ गते आठ वाम पन्थी समूहको संयुक्त प्रदर्शनले राष्ट्रव्यापी उत्साह र लहर ल्याएको थियो । जनमत संग्रहका लागि पाँच पूर्व शर्त अगाडि सारिएको थियो । तत्काल नेपाली काँग्रेस र नेकपा माले फरक धारमा नगएको भए तत्कालमै बहुदल प्राप्त हुने थियो । छत्तीस साले यी आन्दोलनहरूमा द्रोणाचार्यको भूमिका महत्वको थियो । जनमत संग्रहको दौरानमा द्रोणाचार्यको राजनीतिक उचाइले राम्रै आकार लिएको थियो ।
त्यस लगत्तै सीपी मैनाली, झलनाथ खनालहरूले द्रोणाचार्यको खोजी गरे । आरके, केपी लगायतका जेलमा रहेका नेताहरूसँग उहाँको सम्पर्क भयो । झापा आन्दोलनको उद्गमस्थानबाट अगाडि बढेर माले भइसक्दासम्म पूर्ववर्ती धारणामा परिमार्जन समेत भइ सकेको थियो । उहाँ मालेको निकट भएर काम गर्न थाल्नुभयो । भूमिगत रहेको पार्टीका लागि खुल्ला सम्पर्क कुशलताका साथ गर्न सक्ने र सुदृढ कार्य क्षमता भएका द्रोणाचार्यको भूमिका उर्वर र मलजल बन्यो । मालेका खुला कामहरूमा उहाँको सहभागिता उल्लेख्य रह्यो । मालेले उहाँलाई राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार बनायो र बिजयी गरायो ।
जनपक्षीय रापंसका रूपमा निर्वाचित पद्मरत्न तुलाधर, द्रोणाचार्य क्षत्री, सोमनाथ अधिकारी प्यासी, जागृत प्रसाद भेट्वाल लगायतका व्यक्तिहरूले राष्ट्रिय पञ्चायत हल्लाए । सदनमा बहुदलको प्रस्ताव आयो । पञ्चायत व्यवस्थामा यस्तो माग असामान्य मानिन्थ्यो । उहाँहरू केही व्यक्तिले सबल प्रतिपक्षको भूमिका पूरा गर्नुभएको थियो ।
२०४६ सालको जनआन्दोलनका सन्दर्भमा द्रोणाचार्यको भूमिका सशक्त रह्यो । आन्दोलनको नेतृत्व गर्ने क्रममा २०४६ साल फागुन ७ गते झापाको मुक्तिचोकबाट उहाँ पक्राउ पर्नुभएको थियो । (त्यति बेला मुक्ति चोक नामकरण भएको थिएन) बहुदलको घोषणा भएपछि मात्र जेलबाट छुट्नु भयो ।
२०४८ सालको आम चुनावमा उहाँ झापाको तत्कालको १ नं. हालको ३ नं संसदीय निर्वाचन क्षेत्रबाट एमालेको उम्मेदवार बन्नुभयो र प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो । राष्ट्रिय पञ्चायत सदस्यको भूमिका पूरा गर्दाको अनुभव समेतबाट उहाँले एमाले संसदीय दलमा र संसदमा प्रभावकारी भूमिका पूरा गर्नुभएको थियो ।
मेरो स्मृतिमा ताजै छ, म रक्त क्यान्सर घोषणा भएको मेरो छोरालाई नर्थबंगाल क्लिनिक शिलगढीमा रुङेर बसेको थिएँ । दिल्ली रेफर गरिएको थियो । राति द्रोणाचार्य शिलगढी पुग्नुभयो र हामी भोलिपल्ट दिल्लीका लागि उड्यांै । उपचारको व्यवस्था गरेर द्रोणजी नेपाल फर्कनुभयो । यो समय २०४९को तिहार ताकाको हो । म लामो समय दिल्लीमा बसेँ । २०५० सालको वैशाखमा एक दिन उहाँ मेरो कोठामा दिल्लीमा पुग्नुभयो । नेपालमा डाक्टरहरूले उहाँलाई पनि क्यान्सर भएको आशंका गरेको रहेछ । अस्पतालमा जचाएर जाँचबुझ गर्ने क्रममा क्यान्सर पुष्टि भयो । उपचारकै क्रममा २०५० साल असार ६ गतेका दिन उहाँको दिल्लीमै निधन भयो । यसरी एक देशभक्त सपूत तथा निम्न वर्गका नेपाली जनताका मित्र, राज नेता द्रोणाचार्य क्षत्रीको इहलीला समाप्त भयो ।
द्रोणाचार्य क्षत्रीका केही विशेषता थिए । उहाँ सादा जीवन उच्च विचारका धनी हुनुहुन्थ्यो । २०२२ सालमै नुनिला आँसु कथा संग्रहका लेखक उहाँ राम्रा कविता लेख्नु हुन्थ्यो । सरलता, निम्न वर्गका मानिससँग मिलजुलको क्षमता जस्ता असाधारण गुण उहाँमा थिए । आफू भोकै बसेर पनि सर्वसाधारणको सेवामा रमाउन चाहने उहाँका अद्भुत गुण थिए । व्यक्तिगत तथा पारिवारिक हितमा उहाँ कहिले पनि लाग्नुभएन । बाँचुञ्जेल उहाँ डेरामा बस्नुभयो । परिवारलाई ओतसम्म दिन सोच्नु भएन । उहाँको नाममा उहाँको कर्मथलो भद्रपुरमा द्रोणाचार्य स्मृति प्रतिष्ठान गठन भएको छ । मुलुकमा भ्रष्टाचार र कमिसनको राप तीव्र भएको अवस्थामा द्रोणाचार्यका असल बिचार र व्यवहार अहिले बीऊका रूपमा छर्नु र हुर्काउनु पर्ने बेला भएको छ । हार्दिक श्रद्धाञ्जलि द्रोणाचार्य क्षत्रीज्यूलाई ।


























